पर्यटकीय क्षेत्र जोगाउन युवा सक्रिय

काशीराम डाँगी

रोल्पा — रुन्टीगढी–६ डुब्रिङस्थित मुरुल्ले लेकको वन क्षेत्रमा विभिन्न कम्पनीले खनिज उत्खनन गर्न थालेका छन् । यो उत्खननले पर्यटकीय क्षेत्र मुरुल्लेलाई प्रभावित पार्ने भन्दै जोगाउन युवाहरू अग्रसर भएका छन् । उनीहरूले संघर्ष समिति नै गठन गरेका छन् ।

लेकबाट रोल्पा, रुकुमका साथै दाङ, बाँकेलगायतका समथर मैदान देख्न सकिन्छ । संरक्षणका लागि युवाले स्थानीय तह मार्फत दबाबका कार्यक्रम गरिरहेका छन् । ‘चुनढुंगा पत्ता लगाउने उद्देश्यले सिंगो पहाड भत्काउने प्रयास भइरहेको छ । हामीले विरोध गर्दै आएका छौं,’ समितिका अध्यक्ष केशवराज चन्दले भने, ‘जनप्रतिनिधिले साथ दिए वन क्षेत्र जोगाउन सम्भव छ ।’


लेक आसपास क्षेत्रमा खनिज पत्ता लगाउन दाङको लमहीस्थित शुभम खनिज उद्योगले गत ५ वर्षअघि नै उत्खन्नन अनुमति लिएको छ । स्थानीय खारा गाउँको जग्गा खरिद गरेर कम्पनीले चुन ढुंगा खोज्न थालेपछि लेक मासिने भयले स्थानीय आन्दोलित भएका हुन् ।


स्थानीयले गत कात्तिक १३ गतेदेखि कम्पनीलाई काम गर्न रोक लगाएका छन् । दाङमा रहेका सिमेन्ट उद्योगका लागि चुनढुंगा पुर्‍याउने उद्देश्यले कम्पनीले ०७० वैशाख २५ देखि उत्खननको काम थालेको थियो । कम्पनीले सहिद मार्गको कोइला–होलेरी खण्डअन्तर्गत खुम्बासदेखि खारासम्म सडकसमेत निर्माण गरेको छ ।


वन जोगाउन सहयोगको माग गर्दै युवाले रुन्टीगढी गाउँपाालिका, जिल्ला वन, स्थानीय प्रशासन कार्यालय, प्रदेश र संघीय सांसदलगायतलाई ज्ञापनपत्र दिइसकेका छन् । चन्दका अनुसार चुनढुंगा खन्नबाट रोक्न माग गर्दै गत माघ २० मा रोल्पा प्रशासन कार्यालयमा उक्त मागसहित दर्ता नम्बर ५७० मा ज्ञापनपत्र बुझाइएको थियो ।


होलेरीमा गत फागुन महिनामा आयोजित विकास सम्मेलनमा मुख्य पाहुनाका रूपमा उपस्थित भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई समेत उक्त विषयबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको थियो । काठमाडौंस्थित राष्ट्रिय भूगर्भ विभाग, वन मन्त्रालय, उद्योग मन्त्रालयलगायतमा समेत ज्ञापनपत्र बुझाउन युवाको टोली पुगिसकेको उनले बताए । भीरमा ड्रिल गर्दै खनिज पदार्थ खोज्न खटिएका कम्पनीका कर्मचारी ५ महिनादेखि अलपत्र छन् । उनीहरूलाई स्थानीयको दबाबमा काम गर्न दिइएको छैन ।


लेक संरक्षण गर्न सकेमा पर्यटकीय विकास हुने विश्वासले स्थानीयले सरकारसँग माग गर्दै आएका छन् । स्थानीयको पहलमा मुरुल्ले धार्मिक पर्यटकीय विकास तथा प्रकृति संरक्षण संस्थासमेत गठन गरिएको छ । उक्त संस्थाका अध्यक्ष चेतलाल पुनले लेक जोगाउन नसकिए यहाँको पर्यापर्यटनको सम्भावना गुम्ने दाबी गरे । उनले स्थानीय तहसहित सरकारले चासो दिई स्थानीयको मागप्रति गम्भीर हुन आग्रह गरे । स्थानीयका अनुसार मुरुल्लेको संरक्षण नगरे पानीका मुहान सुक्ने, वन जंगल नष्ट हुने अवस्था आउने निश्चित छ ।


मुरुल्ले आसपास ६ हजार जनसंख्या छ । समुद्री सतहदेखि करिब २ हजार मिटरभन्दा अग्लो डाँडामा पर्ने मुरुल्ले प्राकृतिक रूपमा सुन्दर र आकर्षक छ । मुरुल्लेको पश्चिममा डुब्रिङ, पूर्वमा जस्पुर, धौलाबाङ, उत्तरमा होलेरी र दक्षिणमा खारा र दाङको भूभाग छ । उक्त क्षेत्र प्राकृतिक रूपमा जोगाउन नसकिए ती गाउँका आसपासमा रहेका पानीका मुहान सुक्ने स्थानीयको चिन्ता छ । मुरुल्ले अप्राकृतिक बनाइए १५ सय घरधुरी विस्थापित हुने स्थानीयबासीको चिन्ता छ ।

प्रकाशित : चैत्र २४, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?