१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नहर निर्माण धमाधम

पश्चिमको मूल नहर सदरमुकाम गुलरियाको रत्नापुरसम्म पुर्‍याउने लक्ष्य
कमल पन्थी

बर्दिया — राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाअन्तर्गत पश्चिम क्षेत्रको मूल नहर निर्माणले गति लिन थालेको छ । मुख्य बाँध परेवा ओडारदेखि मधुवन नगरपालिकाको भन्सार रोडसम्म २२ किमि मूल नहरको काम चालु आवसम्ममै सक्ने गरी धमाधम निर्माण भइरहेको हो ।

नहर निर्माण धमाधम

०७० मंसिरबाट काम सुरु गरेको मूल नहर सदरमुकाम गुलरियाको रत्नापुरसम्म पुर्‍याउने लक्ष्य छ । ढोढरी–तारातालतर्फको प्रस्तावित करिब ४३ किमि नहरमध्ये कृषक निर्मित २२ किमिको पुनर्निर्माण तथा सुधार गर्दै नयाँ नहर निर्माणको काम भइरहेको हो ।


पूर्व–पश्चिम राजमार्गको परेवा ओडारदेखि सानोश्री तारातालसम्म मूल नहर निर्माण भए पश्चिम क्षेत्रमा १२ हजार हेक्टर जमिनमा सिंचाइ पुग्ने आयोजनाले जनाएको छ । यसैगरी पूर्वी क्षेत्रमा १७ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पुगिसकेको छ । पश्चिमको मूल नहर सदरमुकाम गुलरियासम्म पुर्‍याउने लक्ष्य छ । भेरी बबई डाइभर्सनको काम सम्पन्न भएपछि बाँके र बर्दियाका किसानलाई सिंचाइ सुविधा पुग्नेछ ।


मूल नहर निर्माणले आशा पलाएको मधुवन–२ का फत्तेबहादुर थारूले बताए । ‘भेरी बबई डाइभर्सन निर्माणले एक वर्षभित्र जिल्लाका किसानले सिंचाइका लागि आकाशे पानीको भर पर्नु पर्दैन,’ उनले भने, ‘काम छिटो सम्पन्न होस् ।’ डाइभर्सन निर्माण भए ०७६ सालसम्म भेरी नदीको पानी बबईमा खस्नेछ । मूलसँगै शाखा निर्माण भए पनि बबईमा पर्याप्त पानी नहुँदा किसानले वर्षभरि सिंचाइ सुविधा पाउन सकेका छैनन् । पर्याप्त सिंचाइका लागि ६० घनमिटर पानीको आवश्यकता रहेको आयोजनाले जनाएको छ ।


बबई सिंचाइ आयोजनाले समयमा काम सम्पन्न नहुने भएपछि ०७९/८० का लागि विभागसँग म्याद थप्न गरेको प्रस्ताव स्वीकृत भएको छ । आयोजनाले करिब ७ अर्ब रकम खर्चिसकेको छ । मूल, शाखा र प्रशाखाको काम सम्पन्न गर्न र यस क्षेक्रमा सिञ्चित क्षेत्रको विकास, कृषिसम्बन्धी कार्यत्रम, वातावरण संरक्षण, जल मापन गेज निर्माणलगायतका कामका लागि १७ अर्ब खरिद गुरुयोजना स्वीकृत प्रक्रियामा पुगेको आयोजनाले जनाएको छ ।


पश्चिम मूल नहरअन्तर्गत ४२ किमिमध्ये २० किमि निर्माण भइसकेको छ । परेवा ओडारदेखि गुलरिया नगरपालिकाको रत्नापुरसम्म निर्माण हुनेछ । चालु आवमा ८ किमि पश्चिम मूल नहरअन्तर्गत मुआब्जा वितरण र ठेक्का सम्झौता वितरण भइसकेको छ । भेरी, बबई डाइभर्सनको पानी बबईमा झारेर बर्दियामा बाह्रै महिना करिब ४५ हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा किसानले पाउने आयोजना प्रमुख कुन्जनभक्त श्रेष्ठले बताए ।


करिब २५ वर्षअघि राष्ट्रिय अभियान र ०६९ मा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सञ्चालन भएको निर्माण काम ५९ प्रतिशत सम्पन्न भएको छ । २५ वर्षअघि पूर्वी मूल नहर थालनी भएयता ठेकेदार कम्पनीको लापरबाहीले सम्पन्न हुन सकेको छैन । पूर्वी क्षेत्रमा करिब ३४ किमि निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य रहे पनि ३१ किमि मात्र मूल नहर बनेको छ ।


दुई ठेकेदार कम्पनी सम्पर्कविहीन

ठेकेदार कम्पनी लामा बिल्डर्स–बिरुवा जेभी र लामा बिल्डेर्स/बाम्ती जेभी सम्पर्कमा नआएपछि आयोजनाले कारबाही प्रक्रिया अघि बढाएको छ ।


लामा बिल्डर्स–बिरुवा जेभीले पूर्वी मूल नहरको लाइनिङको ठेक्का ०७१ जेठ २७ गते सम्झौता गरेको थियो । ०७३ जेठ २७ गते सम्पन्न गर्ने सम्झौता भए पनि जेभीले काम गर्न नसकेपछि ०७४ वैशाख ३० मा पहिलोपटक र ०७५ वैशाख ३० सम्मका लागि दुईपटक म्याद थप गरे पनि काम गरेको छैन । पुनः ०७५ माघ २५ गते तेस्रोपटक म्याद थप गर्दा पनि नआएपछि खरिद प्रक्रियाबमोजिम कारबाही प्रक्रिया अघि बढाएको आयोजना प्रमुख श्रेष्ठले जनाए ।


यसैगरी बाम्ती जेभीले ०७३ असार १५ गते पूर्वी मूल नहरको लाइनिङको काम सम्पन्न गर्ने सम्झौता गरे पनि चौथोपटक म्याद थप हुँदा पनि काम गरेको छैन । दुवै ठेकेदार कम्पनीलाई कारबाहीका लागि पत्राचार गरिएको आयोजना प्रमुखले बताए । लामा बिरुवा जेभीले १३ करोडको ठेक्का नौ करोडमा सम्झौता गरेको थियो । ठेकेदारले ७ करोड रकम भुक्तानी लिइसकेको छ ।

प्रकाशित : चैत्र २४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?