सामाजिक कार्यमा पूर्वमन्त्री

काशीराम डाँगी

रोल्पा — संघीय संरचनापछि राज्यको सेवा प्रवाह गर्न सरकारी कार्यालय गाउँमा लैजाने निर्णय भएलगत्तै परिवर्तन गाउँपालिकाको ओबाङमा केही सरकारी भवन बनाउने योजना अघि बढ्यो । स्थानीयको आग्रहपछि स्थानीयबासी तथा पूर्वमन्त्री भीमकुमारी बुढामगरले निःशुल्क जग्गा प्रदान गरिन् । 

कांग्रेस नेतृ तथा पूर्वपर्यटन सहायक मन्त्री बुढाले प्रहरी चौकी, स्वास्थ्य चौकी र कृषि एकाइका लागि भवन बनाउन जग्गा प्रदान गरेकी हुन् । ‘सरकारी कार्यालय नजिक ल्याउन भवन बनाउनुपर्ने देखेपछि आवश्यक जग्गा दिएकी हुँ,’ उनले भनिन्, ‘जग्गा प्राप्त गरेपछि सरकारले केही कार्यालय बनाइसकेको छ । केही कार्यालय बनाउने योजना अघि बढेको छ ।’


मन्त्रीबाट बिदा भएपछि गाउँमै बस्दै आएकी बुढाले त्यसअघि बसपार्क र मन्दिरका लागि पनि निःशुल्क जग्गा प्रदान गरेकी थिइन् । उनले ०६८ मै बसपार्कलाई चार रोपनी, प्रहरी चौकीलाई ३ रोपनी क्षेत्रफल जग्गा दिएकी थिइन् भने कृषि एकाइका लागि १२ रोपनी क्षेत्रफल जग्गा दिएकी थिइन् । त्यस्तै सदगुरु कल्याणी माताको मन्दिर बनाउन एक रोपनी क्षेत्रफल जग्गा उनैले प्रदान गरेकी थिइन् ।


‘मन्त्री भएपछि गाउँ नै छाडने चलन छ,’ मन्त्री बुढाले भनिन्, ‘तर, म भने गाउँमै बसेकी छु । यतैबाट पनि राजनीतिमा सक्रिय हुन सकिन्छ भन्ने लागेको छ ।’ उनी पार्टीको जिल्ला स्तरीय राजनीतिक गतिविधिमा सहभागी छन् भने राजधानीस्थित पार्टीका केन्द्रीय नेताको सम्पर्कमा पनि रहँदै आएकी छन् ।


राजनीतिका साथै समाजसेवाको क्षेत्रमा उनको सक्रियता देखिएको स्थानीय नन्दबहादुर बुढाले बताए । तत्कालीन सशस्त्र द्वन्द्वका बेला विस्थापित जीवन गुजारेकी उनले आफ्ना पतिलाई समेत गुमाएकी थिइन् । पर्यटन सहायक मन्त्री भएका बेला पूर्वी रोल्पाको बडाचौरस्थित अलपत्र जहाज मैदानको पुनःमर्मत गरी संचालन गराउने प्रयास गरेकी बुढाले सातदोबाटोस्थित जंगलमा अर्को जहाज मैदान बनाउने निर्णय गर्दै प्रारम्भिक सर्वेक्षण गराएकी थिइन् । सरकारले हाल बडाचौरस्थित जहाज मैदान मर्मत गर्न बजेट छुट्याएको छ ।


राजनीतिक गतिविधिदेखि असन्तुष्ट

मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको राजनीतिक गतिविधिप्रति उनी असन्तुष्ट छन् । स्थानीय तहले जनतालाई सेवा प्रवाह गर्न नसकेको उनको दाबी छ ।


‘जनप्रतिनिधि र कर्मचारी नयाँ छन्,’ उनले भनिन्, ‘बजेट रकम धेरै आएको छ । तर, काम पारदर्शी भएको देखिएको छैन ।’ उनले स्थानीय तहले योजना बनाएर आफैंले कार्यान्वयन गरेका योजनाको प्रभावकारिता नदेखिएको बताइन् । सरकारलाई जिल्लामा रहेको दरबन्दी अनुसार कर्मचारी खटाउन उनले आग्रह गरिन् । स्थानीय तह संचालन निर्देशिका बमोजिम काम हुन सकेमा मात्रै जनताले सेवा पाउने उनको धारणा छ । उनले तत्कालीन सशस्त्र द्वन्द्वका कारण प्रभावितका लागि सरकारले प्रभावकारी न्याय दिलाउन पहल थाल्न आग्रह गरिन् ।


एक छुट्टै प्रसंगमा आफ्नो दल कांग्रेस वैचारिक धारबाट विचलित भएकामा उनले चिन्ता प्रकट गरिन् । ‘कार्यकर्ताले पार्टी किन विचलित भएको भनेर प्रश्न सोध्छन्,’ उनले भनिन्, ‘नेता र नेतृत्वले जनता र कार्यकर्ताको चाहना नबुझेपछि जवाफ दिन पनि मुस्किल छ ।’


०४९ सालको स्थानीय निकायमा गाविस प्रतिनिधि भएर राजनीतिक पाइला चालेकी उनलाई तत्कालीन जनमोर्चाका कार्यकर्ताले कुटपिट गरे पनि राजनीतिक बाटोबाट विचलित भइनन् । ‘नेताले आफ्नो गाउँ छाडे गाउँको विकास कसले गर्छ ?,’ पहिलो संविधानसभाको निर्वाचनमा रोल्पा–२ बाट कांग्रेस उम्मेदवार बनेकी उनले भनिन्, ‘जनताले रुचाए राजनीतिको माथिल्लो पदमा पुग्ने चाहना अहिले पनि छ ।’

प्रकाशित : चैत्र २८, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?