कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गौमुखीमा पर्यटक बढे

गौमुखीमा औंसी, पूर्णिमामा विभिन्न स्थानबाट तीर्थयात्री नुहाउन आउने गर्छन् भने हरेक वर्ष माघे संक्रान्तिको अवसरमा नुहाउने मेला लाग्छ ।
गिरुप्रसाद भण्डारी

प्यूठान — गौमुखी मन्दिरको दर्शन गर्न आउने आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीयमा खुसी छाएको छ । गौमुखी गाउँपालिका–२, अर्खा ठूलाचौरसम्म सडक राम्रो भएसँगै झिमरुक नदीको उद्गम गौमुखी पुग्ने पर्यटक पनि आउन थालेका हुन् । 

गौमुखीमा पर्यटक बढे

गौमुखीलाई नुहाउने केन्द्रको गन्तव्य बनाउने अभियान सुरु गरिएको छ । केही वर्ष अघिदेखि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । गौमुखीसम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।


उत्तरी प्यूठानको बाग्लुङसँग सीमा जोडिएको गौमुखी गाउँपालिका–२, अर्खामा अवस्थित गौमुखीबाट निस्केको पानीले नुहाए मोक्ष प्राप्त भई र मनोकांक्षा प्राप्त हुने जनविश्वास छ । यहाँ प्यूठान, रोल्पा, गुल्मी, बाग्लुङ र अर्घाखाँचीका तीर्थयात्री नुहाउनकै लागि आउने गर्छन् । मुक्तिनाथ पुगेका तीर्थयात्री गौमुखी आएर नुहाएर स्वर्गद्वारीतर्फ लाग्ने गर्छन् ।


गौमुखीको थप प्रचारप्रसारका लागि नेपाल पत्रकार महासंघ प्यूठान शाखा र गौमुखी गाउँपालिकाले आउँदो वैशाख १ र २ गते प्रदेशस्तरीय मिडिया सम्मेलन गर्ने भएको छ । गर्मीको समयमा नुहाउने महत्त्वपूर्ण तीर्थस्थलका रूपमा विकास गर्न गौमुखीमा महासंघ जिल्ला शाखासँग समन्वय गरेर सम्मेलनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । गौमुखीमा औंसी, पूर्णिमामा विभिन्न स्थानबाट तीर्थयात्री नुहाउन आउने गर्छन् भने हरेक वर्ष माघे संक्रान्तिको अवसरमा नुहाउने मेला लाग्छ ।


यस वर्षको माघे संक्रान्ति मेलामा एकै दिन १० हजारजति तीर्थयात्री गौमुखीमा नुहाउन आएको अध्यक्ष गिरीले बताए । यहाँ प्राकृतिक गुफा छ । त्यसैको एक कुनाबाट गाईको मुखजस्तो आकृतिबाट छङछङती पानी निस्कन्छ । यसैलाई गौमुखी भनिएको हो ।


मुक्तिनाथको दर्शन गरेर बाग्लुङ भीमगिठे हुँदै अर्खा आएर गौमुखीमा नुहाउने चलन रहेको अर्खाका रतिमान रानाले बताए । बाग्लुङको अर्खा सडक सञ्जालले जोडिएसँगै तीर्थमा सहज भएको उनले बताए ।


धार्मिक महत्त्वका अलावा उच्च हिमशृंखलाको काखमा रहेको गौमुखी अवलोकन गर्न पर्यटक गौमुखीसम्म पुग्ने गरेको स्थानीय तथा महासंघ जिल्ला अध्यक्ष महावीर रानाले बताए । ठूलो प्राचीन गुफा हेर्न चाहनेका लागि गौमुखी उपयुक्त ठाउँ भएको उनको बुझाइ छ । डाँफे, मुनालजस्ता चराचुरुंगी, विभिन्न रंगमा फूल्ने लालीगुराँसको दृश्य अवलोकन गर्न प्यूठानसहित छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको रानाले बताए ।


समुद्री सतहबाट १५ सयदेखि २५ सय मिटरसम्मको उचाइमा गौमुखी क्षेत्र अवस्थित छ । करिब डेढ सय वर्षअघि बाग्लुङ निसीका तगारा बुढामगरले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेको किंवदन्ती छ । त्यही गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यका आधारमा गौमुखी नामकरण गरिएको हो ।


गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रूपमा प्रवाह सुरु हुन्छ । गौमुखी आउने तीर्थयात्रीले दूधको धार, दाम्लो चढाउने, परेवा उडाउने, कलम, ध्वजाजस्ता वस्तु चढाएर नुहाउने चलन छ । ठूलाचौरसम्म गाडीमा पुगेपछि झन्डै एक घण्टा पैदल हिँडेर गौमुखी मन्दिरसम्म पुग्न सकिन्छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?