१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाउँमै रमाएका डाक्टर

रोल्पा अस्पताल
‘बत्तीको वैकल्पिक व्यवस्था छैन, लोडसेडिङ हुँदा बिरामीको उपचारमा समस्या आइपर्छ, अप्रेसन गर्दासमेत कतिपटक मोबाइलको बत्ती बालेरै काम चलाइयो’
काशीराम डाँगी

रोल्पा — रोल्पा, नुवागाउँकी डा. धनमाया घर्तीमगरले छात्रवृत्तिमा एमबीबीएस अध्ययन पूरा गरिन् । त्यसपछि राजधानीबाट जन्मगाउँ रोल्पा फर्किइन् । यहाँको एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा तीन वर्ष सेवा गरेपछि अहिले उनी रोल्पा अस्पतालमा कार्यरत छिन् ।

गाउँमै रमाएका डाक्टर

डा. धनमायाको जन्म त्रिवेणी गाउँपालिकाको नुवागाउँमा सामान्य परिवारमा भएको थियो । सन् २०१० मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आह्वान गरेको छात्रवृत्ति पाएर उनले एमबीबीएस अध्ययन पूरा गरेकी थिइन् । प्रतिष्ठान र भाटभटेनी सुपर मार्केटका संस्थापक मीनबहादुर गुरुङबीचको सहकार्य र समन्वयमा त्यसै वर्षदेखि छात्रवृत्तिमा एमबीबीएस पढाउने अभियानअन्तर्गत धनमाया पहिलो ब्याचकी विद्यार्थी बनेकी थिइन् ।


चर्चित व्यवसायी गुरुङले आफ्ना मातापिताको स्मृतिमा थालेको यो अभियानअन्तर्गत थुप्रै चिकित्सक उत्पादित भइसकेका छन् । प्रतिष्ठानका पूर्वउपकुलपति अर्जुन कार्कीको सुझावमा गुरुङले आफ्नै खर्चमा यो अभियान थालेका हुन् । हाल उक्त अभियानकै कारण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न न्यून आर्थिक अवस्था भएकाले पनि अवसर पाउँदै आएका छन् । यस्तै दुर्गमका बिरामीले समेत चिकित्सकीय सेवा पाएका छन् ।


‘एमबीबीएस सकेर पुनः गाउँ फर्की सेवा गर्न पाउनु मेरो अहोभाग्य हो,’ रोल्पा अस्पतालमा कार्यरत डा. धनमायाले भनिन्, ‘त्यसमा पनि अति विपन्नको सेवा गर्न पाउनु खुसीकै कुरा हो ।’ अध्ययन सकिएलगक्तै धनमायाको नियुत्ति पूर्वी रोल्पाको सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थियो ।


सरकारले गरेको त्यो निर्णयअनुसार उनी उत्साहपूर्वक कार्यक्षेक्रमा खटिइन् । सुलीचौरमा ०७३ मा नियुत्ति पाएपछि त्यहाँ उनले तीन वर्ष बिताइन् । विगतको लामो सशस्त्र द्वन्द्वले थिलथिलो बनाएको जिल्लाको दयनीय अवस्थाका बीच डा. धनमायाले स्वास्थ्य क्षेत्रमार्फत सेवा गर्ने अवसर पाइन् । उनले कत्ति पनि विचलित नभईकन जिल्लाका दुर्गमवासीलाई सेवा पुर्‍याइन् ।


डा. धनमाया गाउँ फर्किएपछि परिवार र छिमेकी मात्रै होइन, गाउँ नै खुसी भएको थियो । नुवागाउँस्थित अरनिको माविका प्राचार्य गणेश घर्तीमगरले चिकित्सक बहिनीको काम देख्दा खुसी लागेको बताए । धनमायाका श्रीमान् रामबहादुर घर्तीमगर भौतिकशास्त्री हुन् ।


सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय सेवा पुर्‍याएपछि उनलाई सरकारले सदरमुकामस्थित रोल्पा अस्पतालमा खटायो । उनी यहाँ आएको चार महिना भयो । ‘जिल्ला अस्पतालमा झन् चुनौतीबीच काम गरिरहेका छौं,’ उनले भनिन् । दरबन्दीअनुसार खटिंदै आएका सहकर्मीहरूबीच ‘सेवाभाव’ ले प्रभावित भएर काम गर्न पाउँदा उनलाई खुसी लागेको छ ।


डा. धनमायाका साथै रोल्पा अस्पतालमा अहिले डा. सुशील आचार्य, डा. अनुभव पौडेल, डा. अनिल केसी र डा. प्रकाशबहादुर बुढा कार्यरत छन् । धनमाया र सुशील स्थायी हुन् । दुवै स्थानीयसमेत हुन् । दुर्गममा कार्यरत रहनुपर्दा चिकित्सकलाई भौगोलिक कठिनाइ, थोरै जनशक्ति, कमजोर उपकरण र सहरिया अवसरबाट वञ्चित हुनु सामान्य हो । त्यसमा पनि जटिल ‘केस’ आइपर्छन् । ती केसमध्ये केहीको त जिल्लामै उपचार गर्नुपर्ने हुन्छ । कुनै उपाय नभए मात्रै जिल्लाबाहिर ‘रेफर’ गर्नुपर्ने बाध्यता छ ।


‘आर्थिक अवस्था ज्यादै कमजोर भएका बिरामी आएमा सस्तोमा उपचार गर्ने प्रयास थाल्छौं,’ डा. धनमायाले भनिन् । अस्पताल आइपुगेका बिरामीसँग भेट्दा अति विपन्नको पहिचान हुने र अन्तरंग जानकारी प्राप्त हुने उनले बताइन् । ‘कहिलेकाहीं एक–दुई सय रुपैयाँ पनि खर्च गर्न नसक्ने बिरामी भेटिन्छन्,’ उनले भनिन्, ‘त्यस्तालाई हामीले ओपीडी कागजमै फ्रि (शुल्क नलाग्ने) भनी लेखिदिने गरेका छौं ।’


डा. धनमाया सरकारले सबै प्रकारको उपचार निःशुल्क गर्नुपर्ने बताउँछिन् । सरकारी अस्पतालमा कार्यरतले बिहान–बेलुका प्राइभेट क्लिनिकमा काम गर्न नपाउनु पनि राम्रै लाग्छ उनलाई । रोल्पाजस्तो दुर्गममा रहेका सरकारी अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक पठाउन सरकारसँग उनको आग्रह छ । विविध प्रकारका बिरामीसँग दिनहुँ भेट गर्न पाउँदा डा. धनमाया खुसी छिन् भने त्यसले जिम्मेवारी बढाएको महसुस पनि गरेकी छन् ।


भेडा बेचेर उपचार गर्न अस्पताल आएका बिरामीको अवस्था सुधार्न सकेकामा उनी गर्व गर्छिन् । ‘अस्पताल प्रमुख डा. सुशील आचार्य नभएका बेला ती बिरामी आए । निमोनियाले थलिएका उनको अवस्था बाहिरै रेफर गर्ने खालको थियो,’ उनले भनिन्, ‘जिल्लामै सक्दो खालको उपचार गरी भाडा खर्च दिएर नेपालगन्ज पठायौं । उनको उपचार सम्भव भएको खबरले औधि खुसी लाग्यो ।’


दुर्गममा वैकल्पिक उपचार अभावमा बिरामी सुविधायुक्त अस्पतालसम्म पुग्नै सक्दैनन् । यस्तोमा यहींका चिकित्सकको प्रारम्भिक उपचार तरिका नै ‘जीवन बुटि’ साबित हुन्छ । ‘हाम्रो उपचारले बिरामीको अनुहारमा आएको खुसीको प्रकाश र चमक देख्दा हामी पनि रमाउँछौं,’ डा. धनमायासँगै रातदिन बिरामीको उपचारमा खटिंदै आएका डा. अनील केसी र डा. प्रकाशबहादुर बुढाले भने । डा. केसी रुकुमका हुन् भने डा. बुढा सुदूरपश्चिमका । तीन वर्षअघिदेखि जिल्लामै पहिलोपटक सुरुआत गरिएको ‘अप्रेसन गरी बच्चालाई जन्मदिने प्रविधि’ यी दुवै डाक्टरमाथि निर्भर रहँदै आएको छ ।


राजनीतिक नेतृत्वसँग आग्रह

रोल्पा अस्पताल सुरुआत भएको दुई दशक पुग्न लाग्दा पनि कमजोर व्यवस्थापनबीच बिरामीको उपचार गर्नुपर्दा स्वयं चिकित्सकसमेत चिन्तित छन् । ‘बत्तीको वैकल्पिक व्यवस्था छैन । लोडसेडिङ हुँदा बिरामीको उपचारमा समस्या आइपर्छ,’ डा. धनमायाले भनिन्, ‘अप्रेसन गर्दासमेत कतिपटक मोबाइलको बत्ती बालेर काम गरेका छौं ।’ धेरै वर्षअघि राखिएको सोलार बत्ती भरपर्दो छैन । सदरमुकाम लिबाङदेखि करिब पाँच किलोमिटर पश्चिममा रहेको अस्पतालमा बिजुली नियमित छैन ।


विशेषज्ञ चिकित्सकको अभावमा सबै प्रकारका चुनौतीसँग जुध्दै चिकित्सकले बिरामीको उपचार गर्दै आएका छन् । ‘हामी नियमित बसेकाले बिरामीले पनि अस्पतालप्रति विश्वास गर्दै आएका हुन्,’ डा केसीले भने, ‘सबै बिरामीसँग नियमित सम्पर्कमा रहँदै उनीहरूको समस्या समाधान गर्ने गरेकाले अस्पताल र चिकित्सकप्रति स्थानीयको विश्वास बढ्दो छ ।’


अस्पतालमा भएको एउटा मात्रै भिडियो एक्सरे मेसिन (यूएसजी) वर्षौं पुरानो छ । थोत्रो मेसिनका भरमा काम गर्नुपरेको चिकित्सकको गुनासो छ ।


‘धेरै प्रकारका चुनौतीबीच बिरामीको लाइफ थ्रेटनिङ हुन्छ । तैपनि, हामीले आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छौं,’ डा. धनमायाले भनिन् । सडक सञ्जालले सहज बने पनि विशेषज्ञ चिकित्सकको अभावमा हर्नियाजस्तो सामान्य अप्रेसनसमेत गर्न नसक्नु दुःखद् अवस्था भएको उनको धारणा छ । यस समस्याबारे स्थानीयदेखि प्रदेश र संघीय सरकारमा प्रतिनिधित्व गर्दै आएको राजनीतिक नेतृत्वको ध्यानाकर्षण हुनु आवश्यक भएको चिकित्सकको माग छ ।

प्रकाशित : चैत्र ३०, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?