कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्नासँगै हातहातमा पुस्तक

गिरुप्रसाद भण्डारी

प्यूठान — भर्नासँगै विद्यार्थीका हातहातमा पुस्तक वितरण गर्न हरेक सामुदायिक विद्यालयमा पुस्तक राखिएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखाले आवश्यक पर्ने नयाँ पुस्तक जिल्ला भित्र्याएर नौवटै स्थानीय तहको केन्द्रमा पुर्‍याएको हो । भर्नासँगै पुस्तक वितरण गर्ने तयारीमा विद्यालय छन् ।

भर्नासँगै हातहातमा पुस्तक

गाउँपालिकाभित्रका ४५ वटै विद्यालयले आवश्यक पर्ने पुस्तक लिएर राखेको गौमुखी गाउँपालिका शिक्षा शाखा प्रमुख ओमहरि पोखरेलले बताए । वैशाख २ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने उनले बताए । ‘पालिकाभित्रका सबै विद्यालयले नयाँ पुस्तक विद्यालयमा पुर्‍याइसकेका छन्,’ उनले भने, ‘विद्यार्थीले भर्नासँगै नयाँ पुस्तक पाउनेछन् ।’


बिहीबार ठूलाबेंसी पुगेर आवश्यक पर्ने पुस्तक लिएर राखिएको अमृत जीवन मावि नारिकोटका प्रअ रामचन्द्र गिरीले बताए । सबै विषयका पुस्तक आएकाले यस वर्ष समयमै पठनपाठन सुरु गर्न सहज हुने उनले बताए । विद्यालयलाई पुस्तक खरिदका लागि रकम खातामा समयमै पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । कुनै पनि विद्यार्थी भर्ना हुन नछुटुन् र सबै विद्यार्थीले भर्नाकै दिन पुस्तक पाऊन् भन्ने विषयमा गाउँपालिकाले ध्यान पुर्‍याएको उनको दाबी छ ।


गाउँ शिक्षा समिति सदस्य पालिकाभरका विद्यालयमा भर्ना अवधिमा पुग्नेसमेत अर्यालले बताए । भर्ना भएकै दिन विद्यार्थीका हातहातमा नयाँ पुस्तक पुर्‍याउन पुस्तक वितरण गरिएको पुस्तक व्यवसायी रमेश गिरीले बताए । जिल्ला शिक्षा समन्वय एकाइसँगको परामर्शमा कक्षा १ देखि १० सम्म ५० हजार विद्यार्थी जिल्लाभर भर्ना हुने अनुमान गरेर पुस्तक लिएको उनले जानकारी दिए । ‘सबै विषयका पुस्तक ल्याइसकेका छौं,’ उनले भने, ‘पुस्तक पुगेनन् भन्ने गुनासो यसपालि आउने छैन ।’ ऐच्छिक विषयका पुस्तकसमेत पर्याप्त रहेको गिरीले बताए ।


भर्ना अभियानमै विद्यार्थीलाई नयाँ पुस्तक हातहातमा पुर्‍याउने तयारी गरेको जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख शिव पण्डितले बताए । ‘भर्ना भएकै दिन पुस्तक उपलब्ध गराउन विद्यालयलाई निर्देशन गरेका छौं,’ उनले भने, ‘चैतभरमा सबै विद्यालयले पुस्तक लिइसक्ने छन् ।’ धेरैजसो विद्यालयले पुस्तकको व्यवस्थापन गरिसकेको उनले बताए । पुस्तक किन्नका लागि स्थानीय तहलाई विद्यालयको खातामा रकम पठाउन सहजीकरण गरिएको समन्वय एकाइले जनाएको छ ।

प्रकाशित : चैत्र ३०, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?