सकारात्मक सोचको विकास गरौं : मुख्यमन्त्री पोखरेल 

माधव अर्याल

पाल्पा — सकारात्मक सोचको विकास नगर्दासम्म विकास र समृद्धि सम्भव नभएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । उनले दिमागमा रहेको नकारात्मक सोचलाई २०७६ सालको सुरुवातबाट नै त्यागेर जान आफ्ना प्रदेशका नागरिकलाई आग्रह गरेका हुन् । 


प्रदेशसभा सदस्य डा. पुरनमान बज्रचार्यले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै उनले सकारात्मक सोंच भएन भने विकास र समृद्धिको सपना पूरा नहुने बताए। ‘सबैको राम्रा पक्षलाई भन्दा नराम्रा पक्षलाई बढी वकालत गर्दै हिँड्ने एउटा बानी छ,’ उनले भने, ‘त्यसलाई सुधार गर्न सकियो भने विकास र समृद्धिको सपना पूरा हुन्छ।’ प्रदेश ५ सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटेको उनले बताए।

विगतमा जो जसले नकारात्मक सोच राखे पनि अब सकारात्मक सोच लिएर अघि बढ्ने हो भने समृद्धि छिटै आउने उनले बताए। ‘५ नम्बर प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा पाल्पालाई विकास गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘तानसेनलाई पर्यटनमैत्री सहरका रुपमा विकास गरेर सोच पनि बदल्न जरुरी छ।’

उनले ५ नम्बर प्रदेशकै संग्रहालयका रुपमा पाल्पा दरबारलाई विकास गर्न लागेको बताउँदै श्रीनगर बतासेडाँडामा बन्ने सांस्कृतिक डबलीबाट फाइदा लिन सक्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसकेको स्वीकारे। ‘पहिलो वर्ष भूकम्प र नाकाबन्दी, दोस्रो वर्ष तीन वटा निर्वाचन गर्दागर्दै बितेको छ,’ उनले भने, ‘गएको एकवर्ष तीन वटै सरकार कानून बनाउनमा बिताएका छन्।’

तेस्रो वर्ष संघीयता कार्यान्वयन गर्ने कानून बनाउने वर्षका रुपमा गुजार्‍र्यौं। तीनवटै वर्ष जटील र चुनौतीपूर्ण थिए तर विकास ४ बाट बढेर ६ प्रतिशतको विकास हासिल भएको छ।’

प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नयाँ वर्षले प्रदेशलाई विकासको मोडमा अघि बढाउन कानुन निर्माण र योजना तर्जुमाको अन्तिम चरणमा पुगेको बताए। उनले प्रदेश सरकारले गरेका कामहरुले गति लिने बताए।

सभामुख घर्तीले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिएर अगाडी बढ्न आग्रह गरे। सोही अवसरमा पिपुल्स क्रियशन प्रालिले सञ्चालन गरेको सेरोफेरोन्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रोको मुख्यमन्त्री पोखरेल र सभामुख घर्तीले विमोचन गरे। सोही अवसरमा डा. बज्राचार्यले तानसेन बजारभित्रका ८४ पुगेका ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए।

प्रकाशित : वैशाख १, २०७६ १३:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सबै नेपालीको बैंक खाता कार्यक्रम सुरु

यज्ञ बञ्जाडे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुभारम्भ गरेका छन् । जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता कार्यक्रमको प्रधानमन्त्री ओलीले आइतबार शुभारम्भ गरेका हुन् । 

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएको यो कार्यक्रम नयाँ वर्षको अवसर पारेर शुभारम्भ गरिएको हो ।

सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर कार्यक्रमको उदघाटन गरेका हुन् । कार्यक्रम अनुसार नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ ।

जेष्ठ नागरिक स्वास्थ्य बिमा योजना अन्तरगत सय वर्षकी जमुना गुरुङ बिमा गरिएको परिचयपत्रका साथ । तस्बिर : हेमन्त श्रेष्ठ

यो वर्षभरी खुल्ने फ्राकृतिक व्यक्ति (व्यत्तिगत) खातामा बैंक तथा वित्तीय संस्थाले सय रुपैयाँ जम्मा गरिदिने छन् । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउनेछन् । संस्थागत खातामा भने यो व्यवस्था लागू हुने छैन । बचत खाताको ब्याजदर भने बैंकअनुसार फरकफरक हुनेछ ।

सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर त्यसको पत्र प्रदान गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ

पछिल्ला केही वर्षयता सरकारले वित्तीय पहुँच विस्तारका लागि सबै नेफालीको बैंक खाता कार्यक्रम घोषणा गर्दै आएको छ । कार्यत्रम घोषणा भए पनि अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार भएको देखिँदैन । यही कारण सरकारले आउँदो वैशाखदेखि ऊक्त कार्यत्रमलाई व्यापक बनाउन लागेको छ । कार्यक्रमलाई सफल प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहकार्य गरेका छन् ।



राष्ट्र बैंककाअनुसार गत फागुनसम्म २ करोड ५६ लाख ५८ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ४१ लख ५९ हजार बढी हो । ०७४ फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप खाता संख्या २ करोड १४ लाख ९८ हजार थियो ।



तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित : वैशाख १, २०७६ १३:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT