१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुलले जनजीवन सहज

हरि गौतम

रुकुमपूर्व — भूमे गाउँपालिका–८ कुचिबाङका तुलबहादुर रोका पर्यटकीय क्षेत्र तातोपानीमा नुहाउन पुगे । नुहाएर उनी निश्चिन्त भई घर फर्के । अघिल्ला वर्षमा ज्यान हत्केलामा राखेर पुगिने तातोपानीमा यस वर्षदेखि भने सजिलो भएको छ ।

पुल निर्माणसँगै सिस्ने गाउँपालिका–४ स्थित तातोपानी पुग्न सानीभेरी नदीमाथिको काठको साँघु तर्दा डराउनुपर्ने अवस्थाको अब अन्त्य भएको छ ।


सिस्ने गाउँपालिका–६ धाउने र वडा ४ जोड्न सानीभेरीमाथि झोलुंगे पुल बनेपछि तातोपानीमा नुहाउन आउजाउ गर्ने मात्रै होइन अन्य दैनिक कामकाजका लागि नदी तर्नुपर्ने ३, ४, ६ र ७ वडाका बासिन्दालाई पनि सहज भएको छ । पर्यटकीय क्षेत्र तातोपानी पुग्ने, घाँस–दाउराका लागि नदी तर्नुपर्ने तथा विद्यालय जाने/आउनेका लागि पुलले ठूलो राहत दिएको छ ।


सानीभेरी नदीका कारण वर्षौंदेखि नजोडिएका पोखरा र रुकुमकोट अब जोडिएका छन् । सस्पेन्सन ब्रिज डिभिजनले टावरवाला (एन टाइप) झोलुंगे पुल निर्माण गरेपछि सहज भएको हो । हरेक वर्ष लामो बाटो हिँडनुपर्ने तथा हरेक हिउँदमा नदीमाथिको साँघुको भर पर्नुपर्ने बाध्यता पुल बनेसँगै हटेको छ । सो ठाउँमा पुल नहुँदा बर्सेनिजस्तो सर्वसाधारण सानीभेरीमा बग्नुपर्ने अवस्था थियो ।


३ सय ५५ मिटर लामो पुल हिमशिखर/बीएलटी जेभीले बनाएको हो । ०७४ माघमा डिभिजन र ठेकेदार कम्पनीबीच पुल निर्माणका लागि २ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएको थियो । ०७६ असोजमा निर्माण सकिने गरी सम्झौता भए पनि धाउने–तातोपानी झोलुंगे पुल तोकिएको समयअगावै निर्माण पूरा भएको कम्पनी सञ्चालक नरहरि खड्काले बताए ।


यसअघि पुलको विकल्पमा सानीभेरी नदीमाथि राखिएको काठको सानो साँघुबाट हरेक दिन ३ सय ५० भन्दा बढी सर्वसाधारण आउजाउ गर्छन् । झन्डै ५ हजार रुपैयाँमा काठको साँघु तयार हुन्थ्यो र त्यसको आयु पनि मंसिरदेखि जेठसम्म मात्रै हुन्थ्यो । पुल नहुँदा नाथीगाड र घरेलीका विद्यार्थी नजिकको जनता मावि छाडेर टाढाका विद्यालय पढ्न बाध्य थिए ।


पोखराको तातोपानी नुहाउन तथा हेर्न जानेलाई पनि पुलले सहज बनाएको छ । सिस्ने गाउँपालिका–३ का जनकबहादुर खड्काले पुल बनेपछि नदी वारपार गर्न सजिलो भएको बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?