कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल–भैरहवा सडकमा अब बुद्धका मूर्ति

घनश्याम गौतम

रूपन्देही — बुटवल–भैरहवा ६ लेन सडकको डिभाइडरबीच बुद्धका मूर्ति राख्न सुरु गरिएको छ । भ्रमण वर्ष सुरु भएसँगै त्यसलाई सफल पार्न तिलोत्तमा नगरपालिकाले सडकको बीच भागमा मूर्ति राख्न सुरु गरेको हो । त्यसलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गर्नेछ ।

बुटवल–भैरहवा सडकमा अब बुद्धका मूर्ति

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले आइतबार तिलोत्तमाको योगीकुटीमा तीन फिट उचाइको बुद्धको मूर्ति अनावरण गरेका छन् । मूर्ति अनावरणसँगै भ्रमण वर्षको आरम्भ भएको उनले बताए । चालु आवमा योगीकुटीदेखि मंगलापुरसम्मको खण्डमा मूर्ति राखिनेछ । त्यसले तिलोत्तमा नगर क्षेत्रको सडकलाई लिटिल बुद्ध र पञ्चम बुद्ध क्षेत्रको पहिचान गराउने तिलोत्तमा नगरपालिका प्रमुख वासु घिमिरेले बताए ।


यसअघि नगरपालिकाले तिलोत्तमाको नगरपालिका खण्डको ६ लेन सडकको दायाँ र बायाँ किनारमा फूल र तरकारी रोपेर हरियाली सडक बनाएको छ । बीचमा बेगमबेली फूलका बिरुवा पनि हुर्कंदै छन् ।


‘हामीले योगीकुटीमा उत्तर फर्काएर बुद्धको मूर्ति राख्यौं,’ प्रमुख घिमिरेले भने, ‘नगरपालिकाको सिमाना कोटिहवामा दक्षिण फर्काएर राख्नेछौं ।’ त्यसले बुटवलबाट प्रवेश गर्ने पर्यटकलाई बुद्ध क्षेत्र सुरु भएको संकेत गर्ने र कटैयाबाट प्रवेश गर्दा सकिएको जानकारी दिनेछ ।


सडकको बीचमा तीन सय मिटरको दूरीमा चालु आवमा २२ मूर्ति राखिनेछ । त्यसका लागि चालु वर्ष नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २३ लाख रुपैयाँ खर्च गर्नेछ । थप २७ लाख रुपैयाँ अर्को वर्ष खर्च गरी बुद्धका मूर्ति अन्य नगरपालिका र गाउँपालिकाको समेत सहकार्यमा लुम्बिनीसम्म नै पुर्‍याउने गरी छलफल भइरहेको उनले बताए । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले सुन्दर र शान्त नगरपालिकाका रूपमा तिलोत्तमा अघि बढेकाले त्यसैको पहिचान दिने गरी मूर्ति राख्न थालिएको बताए । उनका अनुसार सिमेन्टबाट बनेका मूर्तिको बाहिरी आवरण गोल्डेन रंगले पहेंलो बनाइनेछ ।


सडकको बीचको डिभाइडरमाथि तीन फिटको बेसमेन्ट बनाएर त्यसमाथि तीन र साढे तीन फिटका मूर्ति राखिने उनले बताए । नगरकार्यपालिका सदस्य तथा बुद्ध मूर्ति व्यवस्थापन समितिका संयोजक एचबी रम्तेलका अनुसार बुद्ध मूर्तिका बीचमा बुद्धका पिता शुद्धोधन र आमा मायादेवी एवं बुद्धसँग सम्बन्धित अन्य सामग्रीसमेत राखिनेछ ।


सडकको डिभाइडरको बीच–बीचमा बुद्धकी आमा मायादेवीका मूर्ति, आमाको काखमा खेल्दै गरेको अवस्थाका बुद्ध र बुबा शुद्धोधनको मूर्ति र बुद्धसँग सम्बन्धित सामग्रीसमेत रहनेछन् । बुद्ध मूर्तिको अनावरण गर्दै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले सडकबीचमा राखिएका बुद्धका मूर्तिले बुटवलदेखि लुम्बिनी क्षेत्रसँगको सम्बन्धलाई जोड्ने मात्र नभई समग्र पर्यटन विकासमा सहयोग पुर्‍याउने बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?