१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कुराकानी गर्न नातिनातिनाकै भर

वीरेन्द्र केसी

अर्घाखाँची — उनी रूखका हाँगा छिमल्दै थिइन् । त्यही बेला फोनको घण्टी बज्यो । पतिले दुबईबाट फोन गरेका रहेछन् । केरुंगाकी अस्मिता खनाललाई पतिले मोबाइलमा फेसबुक खोल्न भने । त्यसपछि ‘भिडियो कल’ गरे । ‘रूखमै बसेर घाँस काटेको देखाएँ,’ अस्मिताले पति/पत्नी संवाद सुनाइन्, ‘उहाँले घाँस काटेको सम्झना गर्दै रूख अलि अप्ठ्यारो छ, ख्याल गर्नु है भन्नुभयो ।’

कुराकानी गर्न नातिनातिनाकै भर

ठाडाकी ६८ वर्षीया मनकला पौडेलले फेसबुकमा बाल्यकालमा गाईबाख्रा चराउँदाकी साथी भेटेकी छन् । उनका नातिले साथी भेटाइदिएका हुन् । ‘नातिको फेसबुकबाट दाङमा रहेकी साथीसित भिडियोमा कुराकानी गर्छु,’ उनले भनिन्, ‘उनका नातिले पनि फेसबुकमा कुरा गर्न सघाउँछन् । सानो छँदाका सम्झना, परिवारको प्रगति र दुःख–सुखका कुरा हुन्छन् ।’ गाउँमा सञ्चार सुविधा पुगेपछि स्थानीयको दैनिकी फेरिएको छ ।


बस्ती विकटमा छ । जीवनशैली सहरिया बनेको छ । अहिले गाउँटोलका घर–घरमा टेलिभिजन, हात–हातमा मोबाइल फोन, इन्टरनेट सुविधा थपिएको छ । त्यसैले शीतगंगा नगरपालिका–१३ सिमलपानीकी भीमा थापाको दिनचर्या परिवर्तन भएको हो । साँझ–बिहान काम सकिएपछि हातमा रिमोट लिएर टेलिभिजनमा च्यानल बदल्न थाल्छिन् । गफ गरी कट्ने उनको समय अहिले टीभीमा बित्ने गरेको छ । आफन्त, साथीभाइ र कतारमा रहेका छोरासित भिडियो कलमा कुराकानी गर्न पाउँदा हर्षित छन् । ‘छोटो समयमै धेरै कुरा सिक्ने अवसर पाएकी छु,’ उनले भनिन् ।


अहिले यहाँका महिला सधैंको चुलोचौको र मेलापातमा सीमित छैनन् । टेलिभिजनका ताजा समाचार, ज्ञानबर्द्धक कुराले धेरै फाइदा भएको उनीहरूले बताए । उमेर ढल्केकाले पनि मोबाइल चलाउँछन् । ‘मैले धेरै चलाउन जानेको छैन । फोन गर्न र उठाउन जानेको छु,’ ७० वर्षीय पुनाराम बेल्बासेले भने । उनका एक छोरा कतार र अर्का मलेसियामा छन् । नाति र नातिनीले १–२ दिनमा भिडियो कलमा कुराकानी गराउँछन् । भिडियोमा छोरालाई देख्न पाउँदा मन खुसी छ । ‘घरमै भएजस्तो लाग्छ,’ उनले भने, ‘छोरा मोटाएका छन् कि दुब्लाएका छन् हेर्न पाइन्छ । कस्तो कपडा लगाएका छन् र कस्तो ठाउँमा बसेका छन् देखाउँछन् ।’


नयाँ वर्षको अघिल्लो दिन शनिबार मात्रै कतारमा रहेका छोरासित भिडियोमा कुरा गरेको उनले बताए । ‘बाबु मैले आटो, दूध र गुन्द्रुकको झोल खाँदै छु,’ उनले भिडियोमा खानाको थाल देखाउँदै भने । उताबाट छोराले साग, दूध, फलफूल पनि खान सल्लाह दिएको उनले सुनाए ।


घरमा टेलिभिजन हेर्छन् । ३ वर्षदेखि प्रायः बेलुका ६ बजेतिर खाना खाइसकेपछि समाचार हेर्छन् । कहाँ के भयो, थाहा हुन्छ । युवा पुस्ताले मोबाइल र कम्प्युटरबाट इन्टरनेट चलाउँछन् । सामाजिक सञ्जाल चलाउँछन् । विभिन्न अनलाइनमा समाचार हेर्छन् । ‘फेसबुक सूचनाको स्रोत हो,’ स्थानीय युवा जनक रेग्मीले भने, ‘चिनेजानेका साथीभाइले कहाँ गइयो, के गरियो सबै तस्बिरसहित स्टाटस लेखेर पोस्ट गर्छन् । नचिनेका पनि साथी बन्छन् । महत्त्वपूर्ण सूचना हेर्न सकिन्छ ।’ गुगलमा हेर्न सकेमा सबै छ ।


किताबमा भएका पाठ र विषयवस्तु गुगलमा खोज्दा छोराछोरीको पढाइलाई थप ज्ञान सिक्ने अवसर मिलेको उनले बताए । संसद् भवनमा प्रधानमन्त्री, मन्त्री र सांसदले के बोले भन्ने कुरा पनि गुगलमै हेर्न पाइन्छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत धेरै विषयवस्तु हेर्न पाउँदा परिवारले नयाँ कुरा सिक्नेसँगै बालबालिकाको पढाइमा पनि उत्तिकै सुधार आएको उनले बताए । ‘केही कुरा नजाने कसलाई सोध्नुपर्ला भनेर पर्खनु पर्दैन, गुगल सर्च गरेर थाहा पाउन सकिन्छ, यसले धेरै सुविधा भएको छ,’ उनले भने ।


गाउँमा एकान्तमा घर भएकाले पहिले एक्लो महसुस हुन्थ्यो । अहिले टेलिभिजन, विद्युत् र मोबाइलले सबै कुरा बिर्साइदिएको छ । यहाँका धेरैजसो घरमा केबुल र डिसहोम जोडिएका छन् । गाउँमा छिमेकी बिरामी पर्दा, अप्ठ्यारो पर्दा र कहीं केही काम परेमा पहिलेको जस्तो हाक हालेर बोलाउने र घरमा दौडनुपर्ने छैन । ‘जिल्लाका विकट बस्ती अहिले सञ्चारले सुगम बनेका छन्,’ शीतगंगा१४ का वडाध्यक्ष दामोदर अधिकारीले भने । विभिन्न इन्टरनेट कम्पनीले गाउँसम्म इन्टरनेट पुर्‍याएका छन् ।


केबुल सञ्चालकले पनि सेवा विस्तार गरेका छन् । टेलिकमका प्रमुख गोविन्द पराजुलीका अनुसार जिल्लाका सबै बस्तीमा सञ्चार सुविधा पुगेको छ । परिवारका व्यक्तिपिच्छे हातमा मोबाइल छन् । नेपाल टेलिकम र एनसेलले सेवा पुर्‍याएका छन् । प्रायः सबैले एनटीसी र एनसेलका सिम राखेका छन् ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?