कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

८ बिघाको गहुँ नष्ट

परासी — गहुँको छालीमा आगो लगाउँदा आइतबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा ३० परिवारले लगाएको गहुँ खेती नष्ट भएको छ । 

पाल्हीनन्दन गाउँपालिका ४, लोहरौलीमा छाली जलाउन खोज्दा नजिकै रहेको गहुँ खेतीमा आगो सल्किँदा २० किसानले लगाएको साढे ५ बिघाको गहुँ जलेर नष्ट भएको हो । आइतबारै पाल्हीनन्दन गाउँपालिका–२ कुश्मामा आगलागी हुँदा १० किसानले करिब साढे २ बिघामा लगाएको गहुँ नष्ट भएको थियो । खेत मलिलो हुने भन्दै छाली जलाउन खोज्दा हावाले उडाएर नजिकैको बालीमा सल्किएको हो ।


स्थानीय महेश चौधरीले खेतमा काम गर्ने र पर्म लगाउने मानिस नहुँदा मेसिन प्रयोग गरी गहुँ काटने गरिएको बताए । ‘पहिले गहुँको छाली पनि काम लाग्थ्यो, घरगोठ छाउने गरिन्थ्यो,’ उनले भने, ‘तर, अहिले घर पनि पक्की बने, छाली कहाँ राख्ने भन्ने समस्या हुँदा थ्रेसर लगाएर खेतमै आगो लगाइने चलन छ । यसले बर्सेनि आगलागी बढेको छ ।’


वर्ष दिनका लागि खाने अन्न जलेपछि किसान अहिले चिन्तित छन् । स्थानीय तहले क्षतिपूर्ति दिनुपर्ने किसानले माग गरेका छन् । पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजुप्रसाद गुप्ताले आगलागीबाट पीडित किसानलाई मल, बीउ निःशुल्क उपलब्ध गराइने बताए ।


दमकल अभावमा क्षति बढ्यो

पाल्हीनन्दन–४ लोहरौलीमा आइतबार लागेको आगो निभाउन दमकल बोलाइयो । त्यति नै बेला पाल्हीनन्दन–२ मा पनि आगलागी भयो । तर, दकमल पाएनन् । ‘भएको एउटा दमकल लोहरौलीमा थियो । दमकल अभावले पनि हामीले क्षति बढी बेहोर्नुपर्‍यो,’ स्थानीय किसानले भने ।


पश्चिम नवलपरासीमा अहिले एउटा मात्रै दमकल सञ्चालनमा छ । दमकल अभावमा आगलागीका घटना समयमै नियन्त्रणमा आउन नसक्दा क्षति बढेको छ । सदरमुकाममा रहेको दमकल ग्रामीण भेकमै पुग्न घण्टौं लाग्छ ।


दमकल सञ्चालनका लागि चालक, तालिमप्राप्त अग्नि नियन्त्रक र इन्धनमा समेत ठूलो खर्च हुने भएकाले स्थानीय तहले दमकल किन्ने योजना अघि सारेका छैनन् । ५० देखि ६० लाख रुपैयाँ पर्ने दमकल किन्ने बजेट विनियोजन गर्न समस्या रहेको उनीहरूको भनाइ छ । पश्चिम नवलपरासीका ७ स्थानीय तह अहिले एउटा दमकलको भरमा छन् ।


आगलागीको सूचना पाएपछि जिल्लाको दक्षिणी र उत्तरी भेकमा पुग्नै समय लाग्छ । जसका कारण समयमै आगलागीका घटना नियन्त्रणमा आउन सकेका छैनन् । ‘भएको एउटा दमकल पनि पूर्ण रूपमा क्षति भएपछि मात्र पुग्छ,’ स्थानीयले गुनासो गरे ।

प्रकाशित : वैशाख ३, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?