१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खरका छाना जस्ताले रंगिए

आउने वर्षसम्म खरका छाना हटाउने अभियानमा बगनासकाली, तिनाउ, रम्भा, माथागढी, रिब्दीकोट गाउँपालिका साथै तानसेन र रामपुर नगरपालिका
माधव अर्याल

तिनाउ, पाल्पा — तिनाउ दोभानकी मीना नेपाली घर बनाउन नसकेर बसेकी थिइन् । भूकम्पले चर्काएको घरका लागि जस्तापाता लगाउने उपायसमेत थिएन । विपन्ननताले गर्दा उनले जेनतेन घर बनाएकी थिइन् । तर, गाउँपालिकाले यही बेलामा उनलाई खरको छाना हटाएर जस्तापाता दिने निर्णय गर्‍यो ।

खरका छाना जस्ताले रंगिए

‘मैले पहिलादेखि नै भनेकी थिएँ,’ उनले भनिन्, ‘जस्ता पाउनेमा मेरो पनि नाम परेछ, खुसी लाग्यो ।’ उनले ढुंगा खोज्दा देवता मिलेजस्तो भएको अनुभव सुनाइन् ।


दोभानकै पूर्णकुमारी गाहा पनि खरको छाना चुहिएर हैरान थिइन् । उनले पनि यस वर्ष गाउँपालिकाबाट जस्तापाता पाइन् । छोराहरू लाखापाखा लाग्दा घरमा नातिनातिना स्याहारेर बसेकी उनलाई पनि खरको छाना हटाउन पाउँदा खुसी लागेको छ । ‘वडाध्यक्षलाई भनेकी थिएँ,’ उनले भनिन्, ‘पोहोर साल मिलेन, यस वर्ष पाएकी छु ।’ नेपाली र गाहा मात्र होइन तिनाउ गाउँपालिकाले खरको छाना हटाउन विपन्न सयभन्दा बढी परिवारलाई जस्तापाता वितरण गरिसकेको छ ।


गाउँपालिकाका विपन्न परिवारको आर्थिक अवस्था हेरेर खरका छाना हटाउन जस्तापात वितरण गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । आगलागी तथा हावाहुरीको समस्या हुने भएकाले उनीहरूलाई जस्तापाता वितरण गरिएको उनले बताए । यस वर्ष गाउँपालिकाभित्रका ५६ परिवारलाई ३ बन्डलका दरले जस्तापाता दिइएको छ ।


त्यसका लागि यस वर्ष २० लाख बजेट विनियोजन गरिएको थियो । झन्डै ४ सय घरमा खरका छाना थिए । आउने वर्षको बजेटबाट खरका छाना विस्थापन गर्ने योजना रहेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । ‘खरको छानारहित गाउँपालिका आगामी वर्ष बन्छ भन्ने लाग्छ,’ उनले भने, ‘जसले गर्दा विपन्न परिवारलाई पनि खरको छाना छ भन्ने नपरोस् भन्ने हो ।’


विपन्न परिवारलाई आर्थिक स्तर उकास्न प्रदेशबाट समेत आय आर्जनका कार्यक्रम अघि बढेको प्रदेशसभा सदस्य तुलाराम घर्तीले बताए । आय स्तर वृद्धि, सडक, खानेपानीलगायत क्षेत्रमा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाएको उनले बताए । तिनाउमा मात्र होइन, जिल्लाका अन्य गाउँ र नगरले पनि यो अभियान थालेका छन् ।


जिल्लाका ८ स्थानीय तहले ३ वर्षभिक्र खरको छानामुत्त बनाउने अभियान थालेका छन् । झट्ट सुन्दा लोकप्रिय कार्यक्रमजस्तो देखिए पनि वास्तविक विपन्न परिवारका लागि भने यो फलदायी देखिएको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरूले बताए ।


रैनादेवी छहरा गाउँपालिकाले अघिल्लो वर्ष ५ सय र यस वर्ष ७ सय विपन्न परिवारलाई जस्तापाता वितरण गरेको अध्यक्ष रामबहादुर कार्कीले बताए । गएको वर्ष ६० लाख र यस वर्ष एक करोड विनियोजन गरेको थियो । गाउँपालिकाले आउने वर्षमा बाँकी सबै परिवारलाई खरका छानोमुक्त गराउने योजना बनाएको उनले बताए । बगनासकाली, तिनाउ, रम्भा, माथागढी, रिब्दीकोट गाउँपालिकाका साथै तानसेन र रामपुर नगरपालिकाले पनि खरका छाना आउने वर्षमा हटाउने अभियानमा छन् ।


रामपुर नगरपालिकाभित्र अझै पनि ५ सय परिवार खरको छानामुनि बसोबास गर्छन् । आउने वर्षमा सबै खरका छाना हटाउने र त्यसका लागि प्रदेश सरकारसँग समेत समपूरक कोषका लागि योजना बनाएको नगरप्रमुख रमणबहादुर थापाले बताए । स्थानीय तहले वडावडाबाट विपन्न परिवार छनोट गर्ने र सोही अनुसारको आवश्यक जस्तापाता दिने गरेको उनले बताए ।


माथागढी गाउँपालिकाले भने घर निर्माण सक्ने बेलामा २० हजार नगद दिने गरेको छ । विपन्न परिवारलाई पनि यसले ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । अझै पनि जिल्लामा २ हजारभन्दा बढी परिवार खरको छानामुनि बस्ने गर्छन् । ठूलो हावाहुरी आउँदा खरको छाना उडाउने, आगलागीमा सबैभन्दा बढी जोखिम हुने भएकाले पनि स्थानीय तहले खरका छाना हटाउने अभियान थालेको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।


आर्थिक रूपमा सम्पन्न र विपन्नको विभेद हटाउन पनि स्थानीय तहले यसरी खरका छाना हटाउन थालेको उनले बताए । ‘विपन्न परिवारका नाममा खर्च हुने बजेटको सही सदुपयोग गर्दै आगामी दिनमा उनीहरूलाई आयआर्जनका लागि उत्प्रेरणा जगाउने योजना छ,’ उनले भने । गाउँपालिकाभित्रका सबै वडाको तथ्यांक लिएर जस्तापाता वितरण थालेको उनले सुनाए ।


नगर र गाउँपालिकाले गरेको निर्णयले धेरै विपन्न र आर्थिक अवस्था कमजोर भएका भने खुसी छन् । कतिपय नगर र गाउँपालिकाले पहिलो निर्णय नै खरका छाना भएका घरलाई गाउँपालिकाले अनुदान दिने निर्णय गरेका थिए । पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले पहिलो निर्णय गरिएको रैनादेवी छहरा ७, बल्ढेङगढीका वडाध्यक्ष देवेन्द्र पुनमगरले बताए ।


उनका अनुसार खरका छाना विस्थापन गर्ने लक्ष्यका साथ सबै वडाध्यक्षको उपस्थितिमा गरेको निर्णय कार्यान्वयन भइरहेको छ । विपन्न परिवारले बर्सेनि खरका छाना लगाउन आर्थिक रूपमा समस्या हुन्छ । घरमा पानी पनि चुहिने समस्या अधिक रहेको छ । ढुंगा–माटाका भित्ता, तलामा माटो र खरका छाना हुने भएकाले गर्मी र जाडोमा असर नगर्ने बसोबासलाई अति उत्तम रहे पनि खर्चको हिसाबले महँगो र आगोबाट सधैं जोखिम रहेको रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताए ।


हुमिन बन्यो पूर्ण सरसफाइ उन्मुख गाउँ

रम्भा गाउँपालिका ४ हुमिन रैंयाका सोमबहादुर आलेको घर–आँगन र शौचालयमा पस्दा जोकोही अनौठो मान्छन् । सहर–बजारका शौचालयभन्दा कम छैन । वरपरको वातावरण हरियाली छ ।


सबै हिसाबले सरसफाइका सूचक पूरा भएका छन् । रैंयाकै शर्मिला आलेमगरको घर–आँगन पनि चिरिच्याट्ट छ । ढकमक्क फूल फुलेका छन् । शौचालय र घरवरपरको वातावरणले होमस्टे चलाएको भान हुन्छ । ‘हाम्रो गाउँका सबै घर(आँगन यस्तै छन्,’ शर्मिलाले भनिन्, ‘गाउँ र वडाले पहल गरेर होमस्टे चलाए पनि हुन्थ्यो ।’


सोमबहादुर र शर्मिलाको मात्र होइन, हुमिनका सबै गाउँटोल सफा र चिरिच्याट्ट छन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद खनालले ‘रम्भा गाउँपालिकाको आफ्नो शान, पूर्ण सरसफाइ उन्मुख गाउँपालिका हाम्रो अभियान’ भन्ने नारालाई आगामी वर्षको असारसम्ममा सफल पार्ने योजना रहेको बताए ।

प्रकाशित : वैशाख ३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?