कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मुसहर बस्तीमा गासकै चिन्ता

नवीन पौडेल

परासी — लहरै खरका छाना । साँघुरो घरभित्र ५/६ जनाको परिवार । खाना पकाउन गोबरका गुइँठाको भर । धूवाँले घरै भरिएको छ । सुस्ता गाउँपालिका–५ सुस्ताको मुसहर बस्तीको अवस्था हो यो । 

खेतीपातीका नाममा करेसाबारीबाहेक अधिकांश मुसहरको वर्षभरि खान पुग्ने जमिन छैन । भएको घडेरीको पनि लालपुर्जा छैन । स्थानीय वसन्ती मुसहर र उनका पति दिनहुँ मजदुरी गर्छन् । नेपाल र भारतका विभिन्न स्थानमा पुग्छन् । वर्षा र हुरी बतासले दुईपटक घर भत्कियो । टालटुल पारेर जीवन निर्वाह गर्दै छन् । आकाशमा कालो बादल देख्नेबित्तिकै मजदुरीमा रहेका उनीहरूलाई घरमा छोराछोरीको चिन्ता हुन्छ । बिहानै खाना पकाएर हिँड्ने भएकाले छोराछोरी नियमित विद्यालय पनि जाँदैनन् ।

सीमावर्ती क्षेत्रमा रहेका अधिकांश विपन्न समुदायको अवस्था यस्तै छ । शिक्षा, स्वास्थ्यको पहुँचभन्दा बाहिर छ यो बस्ती । न्यूनतम आवश्यकता पूर्ति नहुँदा जोखिमयुक्त काम गर्न बाध्य छन् । बालबालिका विद्यालयमा भर्ना भए पनि अध्ययनका लागि जाँदैनन् । प्रतापपुर–६ कठहवाको बस्तीको पनि उही अवस्था छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले विपन्न समुदायका छोराछोरीको शिक्षा निःशुल्क र सीपमूलक तालिम सञ्चालन गरेको बताए ।

‘सबैलाई एकैपटक अवसर दिन नसके पनि केही वर्षमा विपन्न र सीमान्तकृत स्थानीयको बसोबास र सीपको व्यवस्थापन गर्न लागेका छौं,’ उनले भने । विपन्नका लागि सीपमूलक कार्यक्रम लागू गरे पनि प्रभावकारी हुन सकेको छैन । सीपमूलक तालिम लिएका केही युवा व्यवसाय गर्ने लगानी नहुँदा ज्याला मजदुरीमै फर्किएका छन् ।

गुइँठाकै भर

दाउराको अभावमा पश्चिम नवलपरासीका ग्रामीण क्षेत्रका स्थानीयले गुइँठाकै भरमा खाना पकाउँछन् । राष्ट्रिय तथा सामुदायिक वनको पहुँचमा नभएका विपन्न समुदायका स्थानीयको चुलो गुइँठाबाटै बल्छ । तराईमा जाडोमा आगो ताप्न गुइँठा प्रयोग हुन्छ । तर, विपन्न समुदायमा त्यही गुइँठाबाटै खाना पाक्छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?