१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाइसधारा संरक्षण गरिँदै

प्यूठान — प्यूठान नगरपालिका–९ मरन्ठाना पाखाचितीको बाइसधाराको संरक्षणमा स्थानीय जुटेका छन्  । हिउँद–वर्षा नै कञ्चन पानी बग्ने बाइसमूल धाराको संरक्षण गरी बाइसवटा नयाँ धारा निर्माण गरिएको छ  ।

एकै स्थानमा निर्माण गरिएका धारा हेर्न आन्तरिक पर्यटक आउन थालेको स्थानीय खिमबहादुर भण्डारीले बताए । पहिले यहाँ स्थानीयले बाँसका धारा निर्माण गरेका थिए । अहिले काठमाडौंबाट झिकाइएका ढुंगाका धारा जडान गरिएको छ । बाइसधारामा अहिले नुहाउन आउनेको पनि भीड लाग्न थालेको छ ।

प्यूठान नगरपालिका र सांसद विकास कोषको रकमले मूलवरिपरि तारजाली लगाएर संरक्षण गरिएको छ । ढुंगे धारा स्थानीयले सौजन्य गरेका हुन् । ‘बाइसधारामा नुहाउन र पिकनिक खान आउनेहरू बढदै छन्,’ भण्डारीले भने, ‘बाइसधाराको महत्त्व पनि बढदैछ ।’ बाइसधारा क्षेत्रमा कौशिल्य गोत्रीय भण्डारीहरूले मंसिर र जेठमा पूजा गर्ने चलन रहेको स्थानीय भोजबहादुर भण्डारीले बताए । मरन्ठानामै स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएकाले कृषि पर्यटक मरन्ठानमा बढ्ने उनको दाबी छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरी पाखाचितीमा होमस्टे सञ्चालन गर्न थालिएको बांगेश्वरी महिला सरकारी संस्थाकी अध्यक्ष शिवा गिरीले बताइन् । ‘यहाँका ३० घरमा सामूहिक होमस्टे चलाउने तयारी छ,’ उनले भनिन्, ‘पर्यटनमार्फत जीविकोपार्जन गर्ने हाम्रो लक्ष्य हो ।’ राष्ट्रपति महिला जीविकोपार्जन कार्यक्रमअन्तर्गत ६ लाख रुपैयाँको कार्यक्रम परेको छ ।

पिकनिक स्पोर्ट र स्वागत गेट निर्माण सुरु गरिएको गिरीले बताइन् । ‘होमस्टे सञ्चालनका लागि स्थानीय ३० जना महिलालाई पाँच दिने तालिम दिएका छौं,’ उनले भनिन्, ‘अब पाखाचितीमा चाँडै सामूहिक होमस्टे सञ्चालन हुनेछ ।’

प्रकाशित : वैशाख ४, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?