बुटवलमा प्राणी उद्यान बन्दै

बुटवल — प्राणीको संरक्षण, अध्ययन र अवलोकन गर्ने गरी बुटवलमा प्राणी उद्यान निर्माण प्रक्रिया थालिएको छ । प्राणी संरक्षण र पर्यटन प्रवर्द्धन दुवैलाई केन्द्रमा राखेर प्रदेश सरकारले बुटवलको जितेश्वरी सामुदायिक वनको जग्गामा रामापिथेकस प्राणी उद्यान बनाउन लागेको हो । 

प्राणी पार्कभित्र पशु उपचार केन्द्र, मनोरञ्जन पार्क, चिल्ड्रेन पार्क, स्वीमिङ पुल र व्यायाम स्थललगायतका संरचना बनाउने लक्ष्य रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बताए । ‘जीवित वन्यजन्तुको संग्रहालय नै प्राणी उद्यान हो,’ उनले भने,

‘यसलाई व्यवस्थित र आकर्षक बनाउनका लागि प्राणी पार्कको योजना ल्याएका हौं ।’


पार्क निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । उक्त बजेट मन्त्रालयको डिभिजन वन कार्यालयमार्फत ठेक्का प्रक्रियामा गएको छ । उद्यानको व्यवस्थित योजना बनाउने जिम्मेवारी संरक्षण विकास फाउन्डेसन काठमाडौंले पाएको छ । फाउन्डेसनले सम्भाव्यताबारे सरोकारवालासँग छलफल तथा सुझाव संकलन थालेको छ ।


फाउन्डेसनले प्राणि उद्यानको पूर्वाधार व्यवस्थापन, प्राणी उद्यान व्यवस्थापन र पर्यटन प्रवर्द्धन कार्यक्रमसहितको प्रतिवेदन तयार गर्नेछ । यसका लागि वन्यजन्तुविद् बाबुराम यादव नेतृत्वको सात सदस्यीय समिति बनेको छ । समितिले पार्कको व्यवस्थित योजना तयार पार्नका लागि स्थलगत अध्ययन गरेको छ । पार्कमा आवश्यक पूर्वाधार कस्तो बनाउने भन्ने सन्दर्भमा सरोकारवालाको राय लिएर प्रस्तावित लागत तयार पार्ने वन्यजन्तुविद् यादवले बताए ।


समितिले सोमबार बुटवलमा सरोकारवालासँग छलफल गरेको छ । प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशको पर्यटन प्रवर्द्धनको आधार भएकाले प्राणी पार्कलाई आकर्षक र व्यवस्थित बनाउनुपर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनी आउने ५० प्रतिशत पर्यटकलाई प्राणी पार्कसम्म ल्याउन प्राणि व्यवस्थापन, अवलोकनदेखि मनोरञ्जनका स्थललाई व्यवस्थित गर्न उनले सुझाव दिए । आन्तरिक तथा बाह्य दुवै पर्यटकको गन्तव्य बनाउन भौतिक संरचना निर्माणलाई पनि त्यही किसिमले व्यवस्थित गर्नुपर्ने उनको आग्रह थियो ।


टोलीका सदस्य तथा पर्यटनविद् शेरसिंह ठगुन्नाले पहिलो चरणमा स्थान छनोट भएकाले अब संरचनागत प्रतिवेदनमा लागेको बताए । असारसम्म प्रतिवेदन तयार गरी डिभिजन वन कार्यालयलाई बुझाउने उनले जनाए ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?