तीन घण्टामा एक गाग्री पानी

बिहान–बेलुकाको समय पानी ओसार्दै बित्छ
सोलार लिफ्ट योजना कार्यान्वयनमा आएन
माधव अर्याल

निस्दी, पाल्पा — संघीय र प्रदेश सरकारको ‘एक घर एक धारा’ नारा छ । स्थानीय सरकारले त्यसमै जोड दिएका छन् । निस्दी गाउँपालिका–४ मित्याल भीरपानीका बासिन्दा भने तीन घण्टामा एक गाग्री पानी भर्न पाउँछन् । वर्षौंदेखि उनीहरूले पानीको समस्या भोग्दै आएका छन् । 

पाल्पाको निस्दी गाउँपालिका, मित्याल भीरपानीका बासिन्दा पानी बोकेर ल्याउँदै । तस्बिर : माधव/कान्तिपुर 

कक्षा ६ मा अध्ययन गर्ने चनीसरा गाहाको बिहान ५ बजे उठेर धारामा जानु दैनिकी हो । घरदेखि आधा घण्टा ओरालो झरेपछि धारामा पुगिन्छ । फर्किंदा ८ बज्छ । ‘म दिनदिनै धारामा पानी लिन जानुपर्छ,’ उनले भनिन्, ‘बेलुकी विद्यालयबाट फर्केपछि पनि धारामा नगए पानी पिउनै मुस्किल छ ।’

कक्षा ५ मा पढ्ने दीपक सोमैले पनि विद्यालय जानुअघि र फर्केपछि पानी लिन धारामा जाने दैनिकी रहेको बताए । बेलुकी ४ बजे विद्यालय बन्द हुन्छ । घरमा खाजा खानासाथ पानी लिन जाने उनी फर्किंदा झन्डै ८ बज्छ । ‘हामीलाई घरमा पढ्ने समय नै मिल्दैन,’ उनले भने, ‘स्कुल जानुअघि र फर्केपछि पुनः पानी लिन धारामा नगई सुखै छैन ।’

गाहा र सोमै उदाहरण मात्र हुन् । भीरपानी क्षेत्रका ३० घरका गृहिणी, बालबालिकाको दैनिकी यसैगरी बित्छ । गोरखनाथ आधारभूत विद्यालयमा अध्ययन गर्ने उनीहरूको चिन्ता बिहान–बेलुकी पिउने पानीकै हुन्छ । अझ अचम्म पाहुना बस्न कोही पुग्यो भने पानीकै चिन्ता हुने गृहिणी तमसरी गाहाले बताइन् । ‘अरूलाई पाहुना आए भने खुसी लाग्छ,’ उनले भनिन्, ‘के गर्नु हामी दुःखी हुनुपर्छ ।’ ओरालो झर्न आधा घण्टा लाग्छ तर पानी बोकेर फर्किंदा डेढ घण्टा कम्तीमा लाग्ने उनले बताइन् । पानी भर्न पनि समयमा पाइँदैन । कम्तीमा एक घण्टा पालो कुर्नुपर्छ ।

पानीका लागि रित्ता गाग्री लाइनमा राख्नुपर्छ । नत्र झगडा हुने उनले बताइन् । भर्ने पालो आउन्जेल कम्तीमा एक घण्टा बित्छ । वर्षको ६ महिना यहाँ पानीको यस्तै समस्या हुन्छ । डाँडाको माथिल्लो भागमा भीरपानी बस्ती छ । बस्तीसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली अझै पुगेको छैन । ‘लिफ्ट योजना चलाउन पनि बिजुली छैन,’ स्थानीय गृहिणी भगवती रानाले भनिन्, ‘सोलारबाट लिफ्ट गर्ने योजना अगाडि बढाउने भने पनि अहिलेसम्म कुनै काम अघि बढेको छैन ।’

पोस्लाकी पिउने पानी योजनाका लागि स्थानीय लागत सहभागितामा योजना सञ्चालन गर्न पनि तयार छन् । तर, गाउँपालिका, संघसंस्था कोही पनि उनीहरूसँग योजनाका लागि पुगेका छैनन् । जसले गर्दा अहिलेसम्म कुनै पनि योजनाको काम अघि नबढेको स्थानीय तथा गोरखनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर सोमैले बताए । ‘प्रधानाध्यापक भएर के गर्नु, ढाकरमा गाग्री राखेर पानी नबोकी सुख छैन,’ उनले भने । शिक्षक र विद्यार्थी सँगसँगै पानी लिएर आउने दैनिकी नै भएको उनले सुनाए ।

‘खानेपानीको समस्या रहेको धेरै वर्ष बितिसक्यो,’ उनले भने, ‘वर्षको ६ महिना यस्तै समस्या हुन्छ ।’ उनले वडाध्यक्ष, गाउँपालिकामा योजनाका लागि माग गरेको सुनाए तर अहिलेसम्म सुनुवाइ भएको छैन । पोस्लाकी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेमबहादुर सोमैका अनुसार सहयोग गर्ने निकाय नभएकाले नै अहिलेसम्म पानीको समस्या समाधान हुन नसकेको हो ।

‘अहिलेको जमानामा पनि पानीका लागि तीन घण्टा बिताउनुपर्ने अवस्था छ,’ उनले भने, ‘जसले गर्दा स्थानीय जनताले पानीकै लागि कष्टकर जीवन बिताउनु परेको छ ।’ उनले गाउँ, वडामा यस विषयमा योजना माग गरेर पठाएको बताए । वडाध्यक्ष न्यौबहादुर सुनारीले बिजुलीबत्ती बल्यो भने लिफ्ट योजना संचालन गरिने बताए । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले खानेपानीको समस्या समाधानका लागि पहलकदमी अघि बढेको सुनाए । ‘सोलारको योजना सञ्चालन हुन्छ भन्ने भयो,’ उनले भने, ‘पछि संस्था नै हरायो । त्यसपछि काम अघि बढेको छैन ।’

प्रकाशित : वैशाख ५, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

बालिका बलात्कार आरोपमा पक्राउ 

माधव अर्याल

पाल्पा — गुल्मीमा १४ वर्षीया बालिका बलात्कार आरोपमा तानसेन नगरपालिका-५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँ पक्राउ परेका छन् ।

उनलाई गुल्मी छत्रकोट गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बुधबार दिउँसो जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो।

मामाघरबाट आमासँगै घर र्फकने क्रममा बालिका बलात्कारमा परेकी हुन्। मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर पुर्‍याइदिने बहानामा जबर्जस्ती करणी गरेको गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए।

आमाको सहमतिमा मोटरसाइकलमा लगेको र बाटोमा जबर्जस्ती गरेर पैसा दिएर भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक बस्नेतले बताए। मियाँलाई अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्घातोषबाट बुधबार राति नै पक्राउ गरिएको हो।

कसैलाई नभन्नु भन्दै बालिकालाई ५ सय रुपैया दिएर मियाँ फरार भएका थिए। गुल्मी र अर्घाखाँचीको अर्घातोष प्रहरी चौकीबाट खटिएको प्रहरीले घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित : वैशाख ५, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्