धार्मिक पर्यटकीयस्थल जोडिँदै

गिरुप्रसाद भण्डारी

प्यूठान — प्रदेश ५ का मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी, स्वर्गद्वारी, गौमुखी र रेसुंगाको संयुक्त रूपमा प्रवर्द्धन गरिने भएको छ । अहिंसाको मुख्य गन्तव्यका रूपमा रहेका पर्यटकीय स्थलको समानुपातिक विकास नभएसम्म पर्यटन प्रवर्द्धन नहुने र भौतिक पूर्वाधार निर्माणमा समेत योजना नबन्ने भएकाले एकैसाथ समान खालको विकास र प्रवर्द्धन गर्न लागिएको हो ।

लुम्बिनी, स्वर्गद्वारी, गौमुखी र रेसुंगाको संयुक्त रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउँदै गौमुखी पालिका अध्यक्ष विष्णुकुमार गिरी, स्वर्गद्वारी नगर प्रमुख नेत्रबहादुर रोकाया, विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय ।  तस्बिर : गिरुप्रसाद/कान्तिपुर

पत्रकार महासंघ र गौमुखी गाउँपालिकाको सहकार्यमा सोमबार गौमुखी–२ अर्खाको ठूलाचौरमा आयोजना गरेको प्रदेश स्तरीय मिडिया सम्मेलनले यस्तो सामूहिक प्रतिबद्धता जनाएको हो । गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, रेसुंगा नगरपालिका उपप्रमुख सीता भण्डारी, स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाया र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले एक–अर्को केन्द्रलाई जोडदै सामूहिक विकास र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

एक–अर्काको विकासमा हातेमालो गर्ने पनि उनीहरूले बताए । चारै स्थान धार्मिक पर्यटकीय स्थल हुन् । कुनैमा पनि बलि दिने चलन छैन । उत्पत्ति र ऐतिहासिकताका हिसाबले एउटै धरातल रहेकाले संयुक्त रूपमा जाँदा राम्रो हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्रेयले बताए । उनले लुम्बिनी आएका पर्यटक यता पठाउने र यताबाट पर्यटकलाई लुम्बिनीमा पठाइने सहमति भएको बताए ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वामी शशीधरको तपोभूमि रेसुंगा, बालतपस्वी महाप्रभुको तपस्थल स्वर्गद्वारी तपोभूमिको प्रचारप्रचार गरी एक–अर्कासँग जोड्न सके पर्यटकबाटै प्रदेश समृद्ध बनाउन सकिने भिक्षु मैत्रेयले बताए । गौमुखी गाउँपालिकाका अध्यक्ष गिरीले मिडिया सम्मेलनले समान इतिहास रहेका पर्यटकीय गन्तव्यलाई जोड्न सहयोग मिलेको बताए । लुम्बिनी, स्वर्गद्वारी, गौमुखी, रेसुंगा करिडोर बनाउने कुरामा राज्यको ध्यानाकर्षण गराउन पनि सम्मेलनले जोड दिएको छ ।

स्वर्गद्वारी आश्रम मुलुककै एउटा महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक धरोहर हो । यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले निकै ठूलो महत्त्व रहेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख रोकायाले बताए ।

‘यहाँ त्रिकालदर्शी महाप्रभुले विसं १९५२ वैशाख पूर्णिमाका दिनदेखि प्रारम्भ गरेको विश्व शाान्ति र कल्याणका खातिर अखण्ड होमादि महायज्ञ १ सय २५ वर्षयता निरन्तर चलेको छ,’ उनले भने, ‘यसको प्रचारप्रसार लुम्बिनीमा पनि हुनु जरुरी छ ।’ लुम्बिनी आएका पर्यटकलाई स्वर्गद्वारीबाट गौमुखी ल्याएर रेसुंगा हुँदै हिन्दु र बौद्धमार्गीको साझा केन्द्र मुक्तिनाथसम्म पुर्‍याउन सकिने रेसुंगा नगरपालिकाकी उपप्रमुख भण्डारीले बताइन् ।

प्रकाशित : वैशाख ५, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

तीन घण्टामा एक गाग्री पानी

बिहान–बेलुकाको समय पानी ओसार्दै बित्छ
सोलार लिफ्ट योजना कार्यान्वयनमा आएन
माधव अर्याल

निस्दी, पाल्पा — संघीय र प्रदेश सरकारको ‘एक घर एक धारा’ नारा छ । स्थानीय सरकारले त्यसमै जोड दिएका छन् । निस्दी गाउँपालिका–४ मित्याल भीरपानीका बासिन्दा भने तीन घण्टामा एक गाग्री पानी भर्न पाउँछन् । वर्षौंदेखि उनीहरूले पानीको समस्या भोग्दै आएका छन् । 

पाल्पाको निस्दी गाउँपालिका, मित्याल भीरपानीका बासिन्दा पानी बोकेर ल्याउँदै । तस्बिर : माधव/कान्तिपुर 

कक्षा ६ मा अध्ययन गर्ने चनीसरा गाहाको बिहान ५ बजे उठेर धारामा जानु दैनिकी हो । घरदेखि आधा घण्टा ओरालो झरेपछि धारामा पुगिन्छ । फर्किंदा ८ बज्छ । ‘म दिनदिनै धारामा पानी लिन जानुपर्छ,’ उनले भनिन्, ‘बेलुकी विद्यालयबाट फर्केपछि पनि धारामा नगए पानी पिउनै मुस्किल छ ।’

कक्षा ५ मा पढ्ने दीपक सोमैले पनि विद्यालय जानुअघि र फर्केपछि पानी लिन धारामा जाने दैनिकी रहेको बताए । बेलुकी ४ बजे विद्यालय बन्द हुन्छ । घरमा खाजा खानासाथ पानी लिन जाने उनी फर्किंदा झन्डै ८ बज्छ । ‘हामीलाई घरमा पढ्ने समय नै मिल्दैन,’ उनले भने, ‘स्कुल जानुअघि र फर्केपछि पुनः पानी लिन धारामा नगई सुखै छैन ।’

गाहा र सोमै उदाहरण मात्र हुन् । भीरपानी क्षेत्रका ३० घरका गृहिणी, बालबालिकाको दैनिकी यसैगरी बित्छ । गोरखनाथ आधारभूत विद्यालयमा अध्ययन गर्ने उनीहरूको चिन्ता बिहान–बेलुकी पिउने पानीकै हुन्छ । अझ अचम्म पाहुना बस्न कोही पुग्यो भने पानीकै चिन्ता हुने गृहिणी तमसरी गाहाले बताइन् । ‘अरूलाई पाहुना आए भने खुसी लाग्छ,’ उनले भनिन्, ‘के गर्नु हामी दुःखी हुनुपर्छ ।’ ओरालो झर्न आधा घण्टा लाग्छ तर पानी बोकेर फर्किंदा डेढ घण्टा कम्तीमा लाग्ने उनले बताइन् । पानी भर्न पनि समयमा पाइँदैन । कम्तीमा एक घण्टा पालो कुर्नुपर्छ ।

पानीका लागि रित्ता गाग्री लाइनमा राख्नुपर्छ । नत्र झगडा हुने उनले बताइन् । भर्ने पालो आउन्जेल कम्तीमा एक घण्टा बित्छ । वर्षको ६ महिना यहाँ पानीको यस्तै समस्या हुन्छ । डाँडाको माथिल्लो भागमा भीरपानी बस्ती छ । बस्तीसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली अझै पुगेको छैन । ‘लिफ्ट योजना चलाउन पनि बिजुली छैन,’ स्थानीय गृहिणी भगवती रानाले भनिन्, ‘सोलारबाट लिफ्ट गर्ने योजना अगाडि बढाउने भने पनि अहिलेसम्म कुनै काम अघि बढेको छैन ।’

पोस्लाकी पिउने पानी योजनाका लागि स्थानीय लागत सहभागितामा योजना सञ्चालन गर्न पनि तयार छन् । तर, गाउँपालिका, संघसंस्था कोही पनि उनीहरूसँग योजनाका लागि पुगेका छैनन् । जसले गर्दा अहिलेसम्म कुनै पनि योजनाको काम अघि नबढेको स्थानीय तथा गोरखनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर सोमैले बताए । ‘प्रधानाध्यापक भएर के गर्नु, ढाकरमा गाग्री राखेर पानी नबोकी सुख छैन,’ उनले भने । शिक्षक र विद्यार्थी सँगसँगै पानी लिएर आउने दैनिकी नै भएको उनले सुनाए ।

‘खानेपानीको समस्या रहेको धेरै वर्ष बितिसक्यो,’ उनले भने, ‘वर्षको ६ महिना यस्तै समस्या हुन्छ ।’ उनले वडाध्यक्ष, गाउँपालिकामा योजनाका लागि माग गरेको सुनाए तर अहिलेसम्म सुनुवाइ भएको छैन । पोस्लाकी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेमबहादुर सोमैका अनुसार सहयोग गर्ने निकाय नभएकाले नै अहिलेसम्म पानीको समस्या समाधान हुन नसकेको हो ।

‘अहिलेको जमानामा पनि पानीका लागि तीन घण्टा बिताउनुपर्ने अवस्था छ,’ उनले भने, ‘जसले गर्दा स्थानीय जनताले पानीकै लागि कष्टकर जीवन बिताउनु परेको छ ।’ उनले गाउँ, वडामा यस विषयमा योजना माग गरेर पठाएको बताए । वडाध्यक्ष न्यौबहादुर सुनारीले बिजुलीबत्ती बल्यो भने लिफ्ट योजना संचालन गरिने बताए । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले खानेपानीको समस्या समाधानका लागि पहलकदमी अघि बढेको सुनाए । ‘सोलारको योजना सञ्चालन हुन्छ भन्ने भयो,’ उनले भने, ‘पछि संस्था नै हरायो । त्यसपछि काम अघि बढेको छैन ।’

प्रकाशित : वैशाख ५, २०७६ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्