१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चम्किँदै जितगढी किल्ला

किल्ला संरक्षण तथा पूर्वाधार निर्माण शीर्षकमा १ करोड ५० लाख र गुरुयोजना निर्माणमा १० लाख रुपैयाँ विनियोजन
अमृता अनमोल

बुटवल — विक्रम सम्वत् १८७२ मा नेपाल र अंग्रेज सेनाबीच युद्ध भयो । पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाले बुटवलको जितगढी किल्लालाई रणभूमि बनाएर झण्डै तीन महिना लडयो । अन्ततः अंग्रेजले हार बेहोरे । यस किल्लामा हार बेहोरेपछि अंग्रेज सेना फर्कियो ।

चम्किँदै जितगढी किल्ला

नेपाल स्वाधीन भयो । नेपालीको वीरताको अमर गाथा गाइरहेको यस किल्लालाई अहिले वीरता गाउने किल्लाकै रूपमा संरक्षण थालिएको छ ।


बुटवल उपमहानगरले जितगढी संरक्षणको प्रारम्भिक गुरुयोजना बनाएको छ । त्यसमा जितगढीलाई मणिमुकुन्दसेन (फूलबारी), नुवाकोट गढी, रामापिथेकस क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडिएको छ । ‘जितगढी राष्ट्रियताको प्रतीक र पहिचान हो,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने, ‘यसैले बुटवलको मात्रै होइन देशकै धरोहरका रूपमा विकास गर्न विशेष गुरुयोजना बनाएर काम थालेका छौं ।’


जितगढीको संरक्षण र विकासका लागि तीन तहकै सरकारले बजेट विनियोजन गरेका छन् । त्यसमा बुटवल उपमहानगरले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दुई फरक शीर्षकमा १ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । जितगढी किल्ला संरक्षण तथा पूर्वाधार निर्माण शीर्षकमा १ करोड ५० लाख र जितगढी किल्ला गुरुयोजना निर्माण शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको हो । संघीय सरकारले पनि ५० लाख रुपैयाँ छुट्याएको छ ।


बुटवल उपमहानगरले पहिलो संरचनाका रूपमा देशकै ठूलो राष्ट्रिय झण्डा र युद्धको नेतृत्व गरेका कर्णेल उजिर सिंहको पूर्णकदको सालिक निर्माण गरेको छ । नौ फिट उचाइको सालिक अंग्रेज फौज हारेर गएको दक्षिण दिशातर्फ फर्केको छ । वीरताको सन्देशका लागि सालिकको छेउमा विशाल राष्ट्रिय झन्डा फहराइएको छ । बेसमेन्टमाथि नेपालको राष्ट्रिय झन्डाको उचाइ ४२ फिटको छ ।


सालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इँटाजस्तै आवरण झल्किने रङको छ । झन्डाको माथिल्लो टावर स्टिलबाट र भुइँको बेसमेन्ट कंक्रिटबाट बनेको छ । दुवै संरचना ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा हेभेन कन्स्ट्रक्सन प्रालिले बनाएको हो ।


झण्डा तथा सालिकको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण गरिने कार्यक्रम छ । विजय प्राप्त गरेको २ सय ३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि वैशाख ७ गतेलाई प्रदेश ५ सरकारले राष्ट्रिय पर्वका रूपमा विजय उत्सव दिवस मनाउन थालेको छ । उक्त दिन सार्वजनिक बिदासमेत दिइएको छ । बटौली संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौलले राज्यको चासो र स्थानीयको अपनत्वमा मात्रै जितगढी किल्ला संरक्षण हुने बताए ।


बुटवल उपमहानगरले किल्ला क्षेक्र अतित्रमण गरेर बनेका घर र अन्य संरचनालाई उचित मुआब्जा दिएर हटाउने योजना बनाएको छ । सुरुवातमा सरकारी तथा सार्वजनिक संरचना हटाइएको नगरप्रमुख सुवेदीले बताए । ‘सुरुवातमा वडा कार्यालय, सार्वजनिक शौचालय, चमेना गृह, पर्खाल र तेक्वान्दो कभर्ड हललगायतका संरचना हटाएका छौं,’ उनले भने, ‘अब निजी संरचना पनि हटाउने योजना बनाएका छौं ।’ नगरपालिकाको तथ्यांकअनुसार जितगढी क्षेत्रमा ३१ घर छन् । ती घरलाई उचित मुआब्जा दिएर हटाउने तयारी गरिएको छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?