१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बैंक हाँक्दै महिला

रूपन्देही — नेपाल बैंकको बुटवल शाखालाई प्रबन्धक कल्पना ढकालले डेढ वर्षदेखि नेतृत्व दिइरहेकी छन् । ०६२ सालदेखि बैंकिङ पेसामा आबद्ध उनको अनुभवमा बैंकको व्यवस्थापन पद महिलाका लागि निकै चुनौतीपूर्ण छ । तर, साहस, लगनशीलता र इमानदारीले भने नेतृत्वका लागि सफलता प्रदान गर्ने उनको अनुभव छ ।

बैंक हाँक्दै महिला

बुटवल आसपास क्षेत्रमा मुख्य नेतृत्व महिलाले सम्हालेका बैंकको सेवा प्रवाह र खराब ऋण असुली पनि उत्कृष्ट देखिँदै आएको छ ।


तर, महिला व्यवस्थापकीय पदमा रहनु चुनौतीपूर्ण भएको उनीहरूको अनुभव छ । ग्राहकसँगको प्रत्यक्ष डिलिङ र केन्द्रीय कार्यालयले दिएको जिम्मेवारी पूरा गर्न पनि महिला सक्षम छन् । ‘ग्राहकलाई कन्भिन्स गर्ने काम गाह्रो छ,’ उनले भनिन्, ‘ग्राहकले

प्राइभेट बैंकसँग तुलना गरेर सुविधा खोज्छन्, एकातिर बैंकको आफ्नो नियम हुन्छ, अर्कोतिर ग्राहकको आवश्यकता ।’


आफ्नो शाखामा अहिले खराब ऋण कर्जा तीन प्रतिशतभन्दा न्यून रहेको उनले बताइन् । सरकारी बैंक भएकाले उनलाई काम गर्न जनशक्तिको सधैं अभाव हुन्छ । हरेक चुनौती सामना गर्दै ग्राहकको सेवा र बैंकको व्यवस्थापन पाटोलाई सजिलो गरी अघि बढाएकी छन् । महिला बैंकरका लागि पारिवारिक व्यवस्थापन अर्को चुनौती रहेको उनले सुनाइन् ।


शुद्धोदन गाउँपालिका–५ मानपकडीकी मान्सी पोखरेल रूपन्देहीमै प्रधान कार्यालय रहेको पूर्णिमा विकास बैंकको मुर्गिया शाखामा एक वर्षदेखि प्रवन्धक छन् । क्षमता र आत्मविश्वास भए महिला पनि कुनै काममा पछि नपर्ने उनको अनुभव छ । उनका श्रीमान् पनि बैंकर नै हुन् । ‘ब्याजदरमा उतारचढाव, तरलताको विषयमा ग्राहकलाई सम्झाउन निकै अप्ठ्यारो हुन्छ,’ उनले भनिन्, ‘ग्राहक कन्भिन्स भए जोखिम कम हुन्छ ।’ त्यसैले धेरै समय ऋण लिने र रकम जम्मा गर्ने ग्राहकलाई सम्झाइबुझाइ गर्नमै समय खर्च हुने उनले बताइन् ।


०६९ सालबाट बैंकिङ क्षेत्रको काम सुरु गरेकी अञ्जली खनाल पनि राष्ट्रिय वाणिज्य बैंक कोटिहवा शाखा प्रबन्धक हुन् । कार्यभार सम्हालेको १० महिने अनुभवमा कल्पना र मान्सीले जस्तै उनले पनि प्रशस्त चुनौती भोगेकी छन् । ग्राहकको धितो हेर्न फिल्डमा जाने क्रममा थुप्रै चुनौती भोग्नुपर्ने उनले बताइन् । ‘फिल्डमा जाँदा कहिलेकाहीं टाढा जानुपर्ने हुन्छ र रात पनि पर्छ,’ उनले भनिन्, ‘त्यस्तो बेला मनमा डर बढ्छ ।’


आफू प्रबन्धक बनेर आइसकेपछि ३२ लाख खराब कर्जा उठाउन सफल भएको उनले सुनाइन् । नयाँमिलका व्यवसायी सरोज कँडेलले महिला प्रबन्धक भएका बैंकमा सेवा प्रवाह सहज हुने बताए ।


– सन्जु पौडेल (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ६, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?