निःशुल्क बस चलाउँदै रुक्मिणी मावि

रुकुमपूर्व — यहाँस्थित एक सामुदायिक विद्यालयले निःशुल्क बस सञ्चालनको तयारी गरेको छ । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविले यसै शैक्षिक सत्रदेखि बस सञ्चालन गर्ने तयारी गरेको हो । टाढाका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या परेपछि बस सञ्चालन गर्ने तयारी गरेको विद्यालयले जनाएको छ । 

निःशुल्क बस चलाउँदै रुक्मिणी मावि

३६ सिटे बस २१ लाख ७१ हजार २ सय रुपैयाँमा किनिसकिएको छ । नमुना विद्यालयको व्यवस्थापनतर्फको खर्चबाट १५ लाख र अरू विद्यालयको आन्तरिक कोषको रकमले बस किनेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवचन्द समालले बताए । स–साना विद्यार्थी डेरा गरी बस्न नसक्ने भएकाले उनीहरूको सजिलोका लागि बस चलाउने निर्णय गरिएको अध्यक्ष समालले सुनाए । बस चढेबापत विद्यार्थीले शुल्क भने तिर्नुपर्ने छैन ।


नजिकका विद्यार्थीलाई दैनिक विद्यालय ल्याउने र घर पुर्‍याउने गरिनेछ भने भाडामा बस्ने विद्यार्थीलाई हरेक शुक्रबार घर पुर्‍याइदिने तथा आइतबार विद्यालय ल्याइनेछ । भन्सार छुटमा बस खरिद गरिएको प्रधानाध्यापक कृष्ण गौतमले बताए ।


विशेषगरी भूमे गाउँपालिकाको सिसाघारी र त्यस आसपास, सिस्ने गाउँपालिकाको नाथीगाड, खोपीचार र त्यस आसपासका विद्यार्थीको सजिलोका लागि बस खरिद गरिएको विद्यालयले जनाएको छ । यसका साथै हरेक वर्ष शैक्षिक भ्रमणमा जाँदा पनि बसको उपयोग गरिनेछ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?