१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कर्मचारी मिलेमतोमा ठेक्का

कमल पन्थी

बर्दिया — गेरुवा गाउँपालिकाका प्राविधिक र कर्मचारीको मिलेमतोमा निक कम्पनीले मात्र पाउने प्रावधानसहितको विद्युतीय ट्रान्सफर्मर ठेक्का टेण्डर आहवान गरिएको खुलेको छ । गत चैत २६ गते गेरुवा गाउँपालिकाले ट्रान्सफर्मर खरिद गर्ने टेण्डर आहान गरेको थियो ।

सार्वजनिक खरिद बिक्री ऐन नियम विपरीत स्टयान्डर कम्पनी उल्लेख गर्ने ठाउँमा निक नाम गरेको कम्पनीको नामै किटेर विज्ञापन प्रकाशित गरिएको थियो ।


निक कम्पनीका सप्लायर्सलाई नेपालगन्जदेखि गेरुवा गाउँपालिकासम्म ढुवानीको जिम्मासमेत दिएकाले ठेक्कामा मिलेमतो भएको अमन सप्लायर्स नेपालगन्जका संचालक रवि पटेलले बताए । निक कम्पनीबाहेक अरूले आवेदन नै दिन नपाउने आशयका साथ विज्ञापन निकाल्नु प्राविधिक र लेखाका कर्मचारीको मिलेमतो भएको उनले आरोप लगाए । सार्वजनिक खरिद ऐनअनुसार एउटै कम्पनीको नाम उल्लेख गर्न पाइँदैन ।


मंगलबार विज्ञापन प्रकाशित भएपछि निक कम्पनीका सप्लायर्स जय माँ दुर्गा ट्रेड जनरल अर्डर सप्लायर्स काम्दी, बाँकेका नाममा परेको छ । उनले आफ्नो फर्ममा पाउन दुईवटा सपोर्ट फर्म ओम शान्ति ट्रेड एण्ड सप्लायर्स नेपालगन्ज र नेपालगन्ज ट्रान्सफर्मर प्राइभेट कम्पनी लिमिटेड राखेका छन् ।


विज्ञापनमा एउटै कम्पनी निकको नाम राखेर टेण्डर आह्वान गर्नु भ्रष्टाचार भएको व्यवसायीले सुनाए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले कर्मचारीबाट बदमासी भएको पाइए तुरुन्तै ठेक्का बदर गर्ने बताए । लेखा प्रमुख तुलसीराम श्रेष्ठले टेण्डर हुनुपूर्व दररेट माग्दा निकको नाम उल्लेख भएको स्वीकारेका छन् ।


गाउँपालिका अधिकृतविहीन

करिब ६ महिनादेखि गेरुवा गाउँपालिकाका प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । प्रशासकीय अधिकृत भीमबहादुर केसी बिदामा बसेपछि कार्यालय अधिकृतविहीन भएको हो । कार्यालय प्रमुखसमेत रहेका केसी लामो समयसम्म कार्यालयमा नहुँदा विकास निर्माणलगायत प्रशासनिक कामकाज ठप्प भएको छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?