धमाधम सडक ढलान

परासी — पश्चिम नवलपरासीका कच्ची सडकलाई ढलान गर्न थालिएको छ । बाढी प्रभावित क्षेत्रको सडकमा कालोपत्रेको सट्टा पक्की ढलान (आरसीसी) गर्न थालिएको हो ।

बाढी र डुबानले बर्सेनि सडक भत्काउन र कालोपत्रे उप्काउन थालेपछि यस्तो उपाय अपनाइएको हो । जिल्लाको पाल्हीनन्दन, प्रतापपुर, सुस्ता, रामग्राम नगरपालिकाका नयाँ योजनामा कालोपत्रेको साटो ढलान गरिएको छ । चालु आवको अन्तिम चौमासिक चलिरहँदा अहिले विकास निर्माणको काम धमाधम भइरहेको छ । तीमध्ये सबैभन्दा बढी सडक र ढल निकासमा नै स्थानीय, प्रदेश र संघले बजेट खर्च गरिरहेका छन् ।


रामग्राम नगरपालिकाका इन्जिनियर सतीश गुप्ताका अनुसार बाढीले बगाउन नसक्ने र वर्षौंसम्म आरसीसी ढलान टिक्ने भएकाले कालोपत्रेभन्दा ढलान नै उपयुक्त हुने बताए । ‘गाउँघरमा वर्षामा लगातार एक महिनासम्म पनि सडकमा ताल परेको हुन्छ, कालोपत्रे सडक बाढीले सहजै बगाउँछ,’ उनले भने, ‘केही खर्चिलो भए पनि प्राविधिक रूपमा आरसीसी ढलान धेरै समयसम्म टिक्छ ।’ सांसद विकास कोष अन्तर्गत स्थानीय तहमा विनियोजन गरिएको बजेटबाट निर्माण भएका सडकमा यस्तो गरिएको हो ।


सांसद देवेन्द्रराज कँडेलले पनि दुई मुख्य योजनामा सडक नै रोजेका छन् । जर्गाहा–भुमही कालोपत्रे र शंकरपुर बुडन्तवापुर सडक आरसीसीका लागि ५०/५० लाखको योजनाको काम जारी छ ।


बाढी प्रभावित क्षेत्रमा कालोपत्रे सडक बगाउने हुँदा आरसीसी ढलान सडक निर्माण भएमा वर्षामा हिंडडुल गर्न सजिलो हुने र पहाडी क्षेत्रमा सडक नहुँदा यातायात नै चल्न नसक्ने भएकाले सडक बहुउपयोगी हुने कँडेलले बताए ।


स्थानीयले पनि कालोपत्रेभन्दा आरसीसी ढलान नै टिकाउ हुने गरेको सुनाए । ‘बाढी र डुबान प्रभावित क्षेत्र भएकाले रहेक वर्ष सडक मर्मत गर्ने र वर्षामा बगाउने, भत्काउने समस्याबाट छुटकारा मिल्नेछ,’ सुस्ताका रामप्रित कलवारले भने, ‘ग्रामीण भेगमा कालोपत्रेभन्दा ढलान गरिएको सडक भएमा बर्सेनि सडक मर्मतमा खर्च हुने रकम अन्य काममा लगाउन सकिन्छ ।’

प्रकाशित : वैशाख ६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?