चुरे क्षेत्रमा सधैं त्रास

वीरेन्द्र केसी

अर्घाखाँची — शीतगंगा नगरपालिका–१४ स्थित वाणगंगा खोलामा निर्माण हुन लागेको ८२ लाख रुपैयाँ लगानीको पावरटार सिँचाइ आयोजनाको बाँध अघिल्लो भदौमा आएको बाढीले बगायो । पावर गाउँमा सिँचाइ सुविधा पुर्‍याउन कुलो निर्माण गर्न लागिएको थियो ।

चुरे क्षेत्रमा सधैं त्रास

यसैगरी वाणगंगा खोलाबाटै विक्रमसोता गाउँमा सिँचाइका लागि सञ्चालित कुलो बाढीले बगायो । कुलो बग्ने र बस्ती जोखिममा पर्ने यहाँको वर्षौंदेखिको समस्या हो ।


दुई गाउँमा अहिले सिँचाइ सुविधा पर्याप्त नहुँदा अन्नबाली र तरकारी खेती उत्पादन घटेको छ । शीतगंगाको सिमलपानी, सिद्धारालगायत जंगल राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा पर्छन् । बस्ती थोरै, जंगल धेरै छ । हरेक वर्ष वर्षाका बेला स्थानीय बासिन्दा बाढीको त्रासमा हुन्छन् । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति गठन गरी बस्ती जोगाउने प्रयास गरे पनि पर्याप्त बजेट अभावमा सबै बस्ती संरक्षित हुन सकेका छैनन् । वर्षामा रूखसहित आउने बाढीले बस्ती बगाउने त्रास सधैं रहने पावर गाउँका वीरबहादुर खाम्चाकी बताउँछन् ।


यहाँका पावर, विक्रमसोता, गल्छीजस्ता बस्ती सधैं जोखिममा छन् । ‘उर्वरभूमि भएकाले अन्न र तरकारी उत्पादन राम्रो हुन्छ,’ उनले भने, ‘सधैं बाढीको त्रास पनि उस्तै छ ।’ बाढीबाट पावर गाउँलाई जोगाउन सरकारले राष्ट्रपति चुरे कार्यक्रममार्फत तटबन्धको काम गरेको छ । ३० लाख रुपैयाँमा अहिले खोला किनारमा जाली लगाउने काम भइरहेको छ । तर, यो पर्याप्त छैन । पावर र विक्रमसोता गाउँको बीचबाट वाणगंगा खोला बग्ने भएकाले बस्ती सधैं जोखिममा रहेको वडासदस्य चुमा गाहाले बताइन् । ‘हिउँदमा जाली लगाइन्छ,’ उनले भनिन्, ‘वर्षामा बाढीले बगाएर लैजाने र पुरिदिने गर्छ ।’


दुई बस्तीभन्दा अलि माथिको गल्छी गाउँलाई बाढीबाट जोगाउन नदी किनारमा जाली लगाउने काम सुरु भएको छ । जाली लगाउँदा केही राहत महसुस भए पनि पर्याप्त नभएको स्थानीय एवं समिति अध्यक्ष चुराबहादुर कार्की बताउँछन् । वर्षामा रातिको समयमा अलि डर हुन्छ । धेरै जंगल भएकाले ढलेपढेका रूख र पातपतिंगर बगाएर ल्याउँछ ।


‘रूख खोलामा अडकिन्छन् अनि बाढी बस्तीतिर पस्छ,’ अध्यक्ष कार्कीले भने, खेतीयोग्य जमिन सधैं बगाएर लैजान्छ ।’ बाढीले बगाएर बगर बनाएको खेतीयोग्य जमिनमा कृषकले सम्याएर खेती गर्छन् । फेरि २/४ वर्षमा बाढीले बगाएर लैजाने उनले बताए । राष्ट्रपति चुरे कार्यक्रम स्थानीय तहमार्फत सञ्चालित छ । शीतगंगामा ३ करोड रुपैयाँ बजेट आएको छ । शीतगंगा १३ र १४ को सिमलपानीको वाणगंगा नदीमा वर्षाको बाढी रोकथाम र सिद्धाराको राङसिङ खोलाका लागि यो रकम खर्च गरिँदै छ । वाणगंगा कपिलवस्तु र राङसिङ खोला दाङ हुँदै बग्छन् ।


पहाडको बाढीले तराईका बस्ती झनै जोखिममा हुन्छन् । जोखिम रोक्न नदी नियन्त्रण गर्नुपर्ने शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । ‘शीतगंगाको सबैजसो भूभाग कमजोर छ, वर्षामा पानी पर्नासाथ बगेर जान्छ,’ उनले भने, ‘रूख भए पनि खुकुलो माटो भएकाले पहिरोले बगाएर लैजान्छ ।’

प्रकाशित : वैशाख ६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?