३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गर्मी छल्न भित्रिकोट

प्यूठान — प्यूठान नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी दिनभर वडा कार्यालयमा व्यस्त हुन्छन् । बेलुका फुर्सद हुनासाथ एकपटक भित्रिकोट पुग्छन् । बिजुवार क्षेत्रमा धेरै गर्मी हुन्छ । शीतलताका लागि उनी भित्रिकोट पुग्ने गरेका हुन् । साथी भेट्टाए साथीसँगै नत्र एक्लै भए पनि गर्मीको समयमा दिनको एकपटक भित्रिकोट पुग्ने गरेको उनले बताए । ‘वडामा दिनभर कामको चटारो, त्यहींमाथि गर्मीले थकाइ लागेको हुन्छ,’ उनले भने, ‘भित्रिकोटको डाँडोमा आउनासाथ बेग्लै आनन्द हुन्छ ।’

गर्मी छल्न भित्रिकोट

बिजुवारको टारी हुँदै भर्खर मोटरबाटो खुलेपछि भित्रिकोट पुग्न सहज भएको छ । मोटरबाटो पुर्‍याउन स्थानीय तहबाट झन्डै १६ लाख रुपैयाँ खर्च भएको छ । ‘फुर्सद मिल्यो कि भित्रिकोट नै उक्लिएर आनन्द लिन्छु,’ वडाध्यक्ष राजभण्डारीले भने, ‘कामको चटारो हुँदासमेत एक–आधा घण्टा यहाँ बिताउँदा बेग्लै अनुभूति हुन्छ ।’ बिजुवारको सडक खुलेपछि धेरै जना भित्रिकोट पुगेर रमाउन थालेको उनले बताए ।


प्यूठान नगरपालिका–३ का वडाध्यक्ष प्रेम हमाल पनि गर्मी लागेपछि भित्रिकोट पुगेर आनन्द लिंदै आएका छन् । चन्द राजाको दरबार अवस्थित यस क्षेत्रलाई बिजुवारबाट पदमार्ग र सडक सन्जालले जोडिएको छ । भित्रिकोटमा पर्यटकीय भौतिक पूर्वाधार निर्माण हुन थालेपछि धेरै आन्तरिक पर्यटन आउन थालेका हुन् । जिल्ला वन डिभिजन कार्यलयले यहाँ नगर उद्यान निर्माण गरेको छ । चालु वर्षमा नगरपालिकाले पार्क बनाउन चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


‘तनाव र थकान मेटाउने बिजुवार बजार क्षेत्रको नजिकको गन्तव्य भित्रिकोट नै हो,’ वडाध्यक्ष हमालले भने, ‘यहाँ सधैं शीतल भइरहन्छ, । गर्मीमा छुट्टै आनन्द प्राप्त हुन्छ ।’ प्यूठान नगरपालिकाले भित्रिकोटलाई पहिलो पर्यटकीय गन्तव्य बनाएर बृहत्तर विकास गर्न सके धेरै पर्यटन आउने उनको भनाइ छ । ‘अहिले पनि दिनहुँ दर्जनौं आन्तरिक पर्यटक भित्रिकोट पुग्छन्,’ उनले भने, ‘पर्यटक भुलाउन थप पूर्वाधार निर्माण गर्न ढिला गर्नुहुँदैन ।’


बिजुवार बाग्दुलामा व्यापार व्यवसाय गर्नेहरू, शिक्षक, विद्यार्थी, कर्मचारी बिदाको दिन भित्रिकोट पुग्ने गरेको स्थानीय हीरा पौडेलले बताए । ‘गर्मीले हैरान पारेपछि शीतलताका लागि भित्रिकोट निस्किने धेरै हुन थालेका छन्,’ उनले भने, ‘अहिले भित्रिकोट डाँडाको महत्त्व बढ्दै गएको छ ।’ भित्रिकोटमा रहेको जग्गा–जमिन छाडेर बिजुवार क्षेत्रमा झरे पनि अहिले पुनः भित्रिकोटको जग्गाको संरक्षण गर्न थालेको उनले बताए । पौडेलका अनुसार बिजुवार क्षेत्रमा बसोबास गर्नेले समेत भित्रिकोटमा अहिले जग्गा किन्न थालेका छन् ।


बिजुवारबाट ६ किलोमिटर उत्तरतर्फ उक्लिएपछि भित्रिकोट पुगिन्छ । गर्मी भुलाउन र प्राकृतिक सौन्दर्यको मज्जा लिन बिजुवार–बाग्दुला क्षेत्रको हब भित्रिकोट हुन थालेको छ । यहाँबाट अर्को पर्यटकीय गन्तव्य झुलेनी पुग्नसमेत सहज हुन्छ । भित्रिकोट दरबार क्षेत्रको ऐतिहासिक महत्त्व, हावापानी, प्यूठान भ्याली अवलोकन गर्न सकिने, डाँडाको मज्जा लिन प्यूठान उपत्यका क्षेत्रबाट दर्जनौं सवारी साधनमा आन्तरिक पर्यटक यहाँ आउन थालेका छन् ।


वनभोजका लागि तथा सामान्य घुमघामको रोजाइको केन्द्र भित्रिकोट पर्दै गएको स्थानीयको भनाइ छ । गर्मीमा चिसोको मज्जा लिन सयौंको संख्यामा बिजुवार, बाग्दुला क्षेत्रबाट आन्तरिक पर्यटक आउने गरेको स्थानीय भरत थापाले बताए । ‘होलीपूर्णिमा, नयाँ वर्षमा त दर्जनौं स्थानमा वनभोज कार्यक्रम हुन्छन्,’ उनले भने, ‘अरू बेला पनि एक–दुई टोली आएकै हुन्छन् ।’


गर्मीसँगै भित्रिकोट पुग्नेको संख्यामा वृद्धि भएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘गर्मी छल्न जाने कुरा त छँदैछ,’ उनले भने, ‘ऐतिहासिक भित्रिकोट दरबार, गुफा, रक्तिपोखरीलगायत स्थानको अवलोकनका लागि पर्यटक भित्रिकोट पुग्ने गरेका हुन् ।’

प्रकाशित : वैशाख ७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?