१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सामुदायिकमा भर्ना पाउनै मुस्किल

घनश्याम गौतम

रूपन्देही — बुटवलको कालिका मानव ज्ञान माविमा शुक्रबार विद्यार्थी र अभिभावकसमेत गर्दा झन्डै पाँच हजारको भीड थियो । विद्यालयका कक्षाकोठाबाहिर टाँसिएका सिम्बोल नम्बर खोज्न विद्यार्थी र अभिभावक व्यस्त थिए । झट्ट हेर्दा वार्षिक परीक्षा सुरु हुन लागेकै जस्तो माहोल थियो । तर, अवस्था भने नयाँ भर्नाका लागि प्रवेश परीक्षाको थियो । 

सामुदायिकमा भर्ना पाउनै मुस्किल

कालिका मानव ज्ञानले यस वर्ष नयाँ विद्यार्थी भर्ना गर्ने सिट झन्डै सात सय निर्धारण गरेको छ । तर, तीन हजार बढी विद्यार्थीले आवेदन दिएपछि शुक्रबार प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट फ्रक्रिया सुरु गरेको हो । शुत्रबार कक्षा १ देखि ८ सम्मको नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिइएको प्रधानाध्यापक घनश्याम पाठकले बताए । ‘हामीले यहाँ पढ्छु भन्नेलाई पनि पढाउन सकेका छैनौं,’ उनले भने, ‘चाप थेग्न नसक्ने अवस्था र पूर्वाधार अभावले विद्यार्थीको प्रवेश परीक्षा लिनुपर्ने बाध्यता छ ।’ विद्यालयमा अहिले ५ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । गएको एसईईमा यस स्कुलबाट ३ सय ७१ सहभागी थिए ।


कालिका स्कुलको नामबाट परिचित यो विद्यालयले गत वर्ष बुटवलकै सामान्य विद्यालय मानव ज्ञानलाई गाभेको हो । त्यसपछि कालिका मानव ज्ञान बनेको विद्यालयले विगत केही वर्षदेखि यस क्षेत्रकै उत्कृष्ट नतिजा दिँदै आएको छ । शिक्षाको गुणस्तरसँगै कालिका मानव ज्ञान देशकै उत्कृष्ट शैक्षिक भ्रमणको गन्तव्यसमेत बन्दै आएको छ । गुणस्तर, व्यवस्थापन र भौतिक संरचनामा पनि विद्यालय अब्बल छ ।


सामुदायिक विद्यालय भए पनि यहाँ मन्टेश्वरी कक्षादेखि १२ सम्म नै अंग्रेजी र नेपालीमा पढाइ हुन्छ । सामान्य शुल्कमा अध्यापन गर्न पाउने भएकाले पनि अभिभावकले निजी र राम्रा विद्यालयबाट विद्यार्थी छुटाएर सामुदायिकमा भर्ना गर्ने गरेका छन् । शुक्रबारको परीक्षामा गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ, पूर्वी रुकुमसम्मबाट अभिभावक विद्यार्थी भर्ना गर्न आएका थिए ।


‘कालिकामा धेरै राम्रो पढाइ हुन्छ भनेपछि केटाकेटीले यहीं पढ्ने भन्छन्,’ गुल्मीको निजी विद्यालय रिडर्स माविबाट विद्यार्थी लिएर आएका अभिभावक माधव भण्डारीले भने, ‘तर, यहाँको तीव्र प्रतिस्पर्धाले भर्ना गराउनै सकस ।’ सरकारी स्कुलमा पढाउन पनि सोर्स नै लगाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।


गत वर्ष विद्यालयले १ हजार २ सय नयाँ विद्यार्थी भर्ना गरेको थियो । विद्यार्थीको चाप थेग्न नसकेपछि विद्यालयले सेक्टर १ र २ गरी छुट्टाछुट्टै भवन व्यवस्थापन गरेको छ । सेक्टर १ मा ५ सय २५ र सेक्टर २ मा १ सय ३२ विद्यार्थीको सिट निर्धारण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक दिनेश थापाले बताए । विद्यालयमा प्रवेश परीक्षामा उत्तीर्णबाहेक कसैको भनसुन नचल्ने र रिजल्टभन्दा बाहिरबाट भर्ना नगर्ने उनको दाबी छ ।


‘प्रअदेखि अन्य शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीसमेतले मोबाइल बन्द गरेर रिजल्ट निकाल्नुपर्ने अवस्था हुन्छ,’ उनले भने, ‘परीक्षाकै माध्यमबाट विद्यार्थी छनोट गर्नुपर्ने अवस्था विद्यालयको बाध्यता हो ।’ यस वर्ष विद्यालयले थप पूर्वाधार निर्माण र छात्रावासको समेत भवन निर्माण गरिरहेकाले अर्को वर्षदेखि केही विद्यार्थी थप गर्न सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले बताए । ‘पूर्वाधारमा झन्डै ८० करोडको गुरुयोजना गराएर पूर्वाधार निर्माण गरिरहेका छौं,’ उनले भने, ‘सकेसम्म सबैका छोराछोरीले सहजै पढ्न पाउने वातावरण तयार गर्ने हाम्रो प्रयास छ ।’


बुटवलकै देवीनगरमा रहेको नवीन औद्योगिक कदरबहादुर रीता माविले पनि कक्षा १ देखि ९ सम्मका लागि चालु वर्षमा चार सय माक्र नयाँ विद्यार्थीका लागि सिट निर्धारण गरेको छ । तर, शुत्रबारसम्ममा १ हजार ३ सय बढीले आवेदन फर्म भरिसकेको र अझै आवेदन फर्म लिने अभिभावकको भीड लागिरहेको प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए । ‘यस वर्ष कक्षा ९ मा बढी चाप देखिएको छ,’ उनले भने, ‘आइतबार प्रवेश परीक्षा भएकाले आवेदनको चाप बढो छ ।’


यो विद्यालयमा कक्षा ९ देखि नै सिभिल इन्जिनियरिङको पढाइ हुने गरेकाले पनि चाप बढेको उनले बताए । कक्षा ९ मा विद्यालयले साधारणतर्फ ५० र इन्जिनियरिङमा ४८ सिट निर्धारण गरेको छ ।त्यस्तै तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको शान्ति नमुना माविले पनि यस वर्ष बढीमा पाँच सय विद्यार्थीको सिट निर्धारण गरेको छ । बुटवलकै कान्ति माविले पनि पाँच सय कोटा निर्धारण गरेको छ ।


तर, शुक्रबारसम्ममा १ हजार ५ सय बढी अभिभावकले आवेदन फारम लगेको प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । कान्तिले कक्षा ६ देखि अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको छ । बुटवल उपमहानगरपालिकाको शैक्षिक विकास महाशाखा प्रमुख मित्रमणी खनालले नगरभित्रका केही सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न सक्ने गरी विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेको बताए । ‘प्रयास गरे सुधार हुन्छ भन्ने स्पष्ट भएको छ,’ उनले भने, ‘हामी अन्य विद्यालयलाई पनि यस्तै सुधारमा अघि बढाउने गरी योजना बनाउँदै छौं ।’ उपमहानगरभित्रका सबै सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने गरी छलफल सुरु गरिएको उनले बताए ।


प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका हरेक जिल्लामा नमुना सामुदायिक विद्यालय घोषणा गर्ने र गुणस्तर सुधारमा प्रयास गर्ने शिक्षकलाई समेत पुरस्कृत गर्ने गरी शैक्षिक सुधारका योजना कार्यान्वयनमा गएको बताए । सामुदायिक विद्यालयलाई अझै प्रभावकारी र सबैको विश्वास जित्ने बनाउन भौतिक अवस्था, जनशक्ति, ल्याब, कम्प्युटर कक्षा सुधारलगायतका विषयमा समेत परिवर्तन गर्ने गरी सरकारले काम गरिरहेको उनले बताए । ‘सामुदायिक विद्यालय अब्बल नै छन्, तिनलाई थप सुधार गर्दै छौं,’ उनले भने, ‘आवश्यकता अनुसार मर्ज गर्ने, डिजिटलाइटका लागि जनशक्ति तयार गर्ने काम पनि भइरहेका छन् ।’


मन्त्रालयले प्रदेशका सबै जिल्लामा उत्कृष्ट र अब्बल सामुदायिक विद्यालयको पहिचान दिने गरी जनप्रतिनिधि र अभिभावकसँगको सहकार्यमा शैक्षिक कार्यक्रम र योजना बनाएको उनले बताए । हरेक वर्ष प्रदेशका सबै जिल्लामा उत्कृष्ट सामुदायिक विद्यालयलाई नमुना घोषणा गरेर प्रोत्साहनबापत ८० हजार रुपैयाँ आर्थिक सहयोग र भौतिक पूर्वाधारमा सहयोग गर्ने नीति तयार भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?