२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बनेन सहिद मार्ग

दुर्गम तथा टाढाका बस्तीलाई सडक सञ्जालसँग जोड्न सहिद मार्ग निर्माण भए पनि समयमा नबन्दा सास्ती 
हरि गौतम

रुकुमपूर्व — जिल्लाका विकट गाउँ जोड्ने महत्त्वपूर्ण सडक आयोजना सहिद मार्ग अहिले गतिविहीन बनेको छ । अन्यत्र कतैबाट सडकमा नजोडिएका दुर्गम तथा टाढाका बस्तीसम्म पुग्न सहिद मार्ग सडक योजना सुरु भएको हो । रोल्पाको थबाङबाट भूमे गाउँपालिकाको महत हुँदै काँक्री, तकसेरा, बिर्गुम जाने सडक निर्माण भएपछि पुथाउत्तरगंगा गाउँपालिकाका ६ वडा सडक सञ्जालमा जोडिनेछन् । 

बनेन सहिद मार्ग

पुथाउत्तरगंगा गाउँपालिका–२ का विभिन्न बस्ती दुर्गम छन् । ती बस्तीलाई समेत सडक सञ्जालमा जोड्न भन्दै सहिद मार्ग सडक आयोजनाले जिल्लामा काम गर्न थालेको हो । तर, सडक निर्माणले गति नलिँदा सर्वसाधारण निराश छन् । ‘सडक निर्माणको सुरुवात त भएको छ तर त्यसको गति कछुवाको भन्दा कम छ,’ हुकामका अशोक घर्तीमगरले भने, ‘ठेकेदारको लापरबाहीले सडक निर्माणले गति पाउन सकेको छैन ।’


हाल जिल्लाको भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न तीन खण्डमा सहिद मार्ग आयोजनाले काम गरिरहेको छ । दुई खण्डलाई एउटा र एक खण्डलाई अर्को ठेक्कामार्फत सडक निर्माण थालिए पनि ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरिरहेका छन् । भूमे गाउँपालिका–२ काँक्रीदेखि पुथाउत्तरगंगा गाउँपालिका–१३ को बिर्गुमसम्म सडक निर्माण कार्य भइरहेको छ तर काममा धेरै ढिलासुस्ती छ । ५२ किलोमिटर सडक निर्माणको ठेक्का लागेर काम भइरहेको छ ।


सडक चौडा पार्ने तथा ग्राभेल गर्ने भनेर यी तीन खण्डमा काम गरिरहेका दुई ठेकेदार कम्पनीले ५९ करोडमा सहिद मार्ग सडक आयोजनासँग सम्झौता गरेका हुन् । काँक्रीदेखि बिर्गुमसम्मको २६ र घट्टेखोलादेखि हुकामसम्मको १२ किलोमिटर सडक खण्ड निर्माणका लागि एउटै ठेक्का लागेको छ । पप्पु–कोसी एन्ड न्यौपाने जेभीले ४३ करोडमा ती दुई खण्डको सडक चौडा बनाउने तथा ग्राबेलको काम गर्ने जिम्मा लिएका हुन् । बिर्गुमदेखि घट्टेखोलासम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा लामा कान्छाराम खड्का कृष्ण जेभीले १६ करोडमा लिएको छ ।


सम्झौताअनुसार तीन खण्डको काम सकिन आठ महिना मात्रै बाँकी छ तर काम भने खासै भएको छैन । ०७४ असार २९ गते ठेकेदार कम्पनी र सहिद मार्ग सडक आयोजनाबीच ०७६ मंसिर महिनामा काम सकिने गरी सम्झौता भएको थियो । सडक निर्माणमा ठेकेदार कम्पनीबाट ढिलासुस्ती भएको पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीमगरले बताए । ‘ढिला भएको छ । हामीले मौखिक तथा लिखित ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन,’ उनले भने ।


गाउँ कार्यपालिकाको बैठकबाट ठेकेदारलाई काम छिटो गर्न ध्यानाकर्षण गराउने निर्णयसमेत गराउनुपरेको उनले बताए । सहिद मार्ग आयोजना रोल्पाका सबइन्जिनियर घनश्याम खड्काले निर्माणको काम ढिला भइरहेको बताए । लामो समयसम्म हिउँ पर्नु र भौगोलिक कठिनाइका कारण गति नलिएको उनको भनाइ छ । तर, घट्टेखोलादेखि हुकामसम्म भने भनेकै समयमा काम सकिने उनको दाबी छ ।


आयोजनाका सूचना अधिकारी रमेश चौधरीले काममा ढिला भएको स्वीकारे । ‘यतिबेलासम्म पूरा हुनुपर्ने काम भएको छैन । अवश्य ढिला भएको छ,’ उनले भने, ‘विभिन्न कुराले समस्या ल्यायो । अब गति लिने आशामा छौं ।’

प्रकाशित : वैशाख ७, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?