कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रोल्पा र सल्यान छोएन लोकमार्गले 

काशीराम डाँगी

रोल्पा — झापादेखि डडेलधुरासम्म निर्माण गरिने मदन भण्डारी लोकमार्ग रोल्पा र सल्यान समेट्दै निर्माण गर्न उपराष्ट्रपति नन्दबहादुर पुनले गरेको आग्रहलाई सरकारले नै बेवास्ता गरेको छ । लोकमार्ग निर्माण गर्दा रोल्पा र सल्यानलाई बेवास्ता गरेकामा उपराष्ट्रपति पुनले प्रधानमन्त्री केपी ओलीको समेत ध्यानाकर्षण गराएका थिए ।

मध्यनेपालका विभिन्न जिल्ला र भूगोललाई सडक मार्गले जोड्न सरकारले पूर्वको झापास्थित शान्तिपुरदेखि पश्चिमको डडेलधुरास्थित जोगबुढासम्म लोकमार्ग निर्माण योजना अघि सारेको थियो । त्यसमा रोल्पा र सल्यान नसमेटिएको भन्दै उपराष्ट्रपति पुनले आपत्ति जनाएका थिए ।


१ हजार २ सय किलोमिटर लामो सडक निर्माण गर्ने घोषणा सरकारले अघिल्लो वर्षको जेठमा गरेको थियो । रोल्पा र सल्यानलाई नछुने भएपछि सरकारको निर्णयप्रति असन्तुष्ट रहेका जिल्लावासीको गुनासो सुन्दै उपराष्ट्रपतिले प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री वर्षमान पुन र यातायात मन्त्री रघुवीर महासेठलाई भेटेरै ध्यानाकर्षण गराएका थिए ।


सरकारको उक्त निर्णयमा पुनर्विचार हुनुपर्ने उपराष्ट्रपति पुनको आग्रह थियो । उनले लोकमार्गलाई गुल्मीबाट प्यूठान–रोल्पाको खुङग्री–चतुर्भुज–घोडागाउँ–माडीचौर–घर्तीगाउँ–जिनाबाङ हुँदै सल्यानको दमाचौर–खलङगा–कुबिन्डे ताल–बालुवा संग्रही हुँदै सुर्खेत जोड्ने गरी संशोधन गर्न ध्यानाकर्षण गराएका थिए । यसअघि उक्त मार्ग प्यूठान–दाङ–सुर्खेत हुँदै निर्माण थाल्ने सरकारले घोषणा गरेको थियो ।


यसअघि नै निर्माण भइसकेका पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल लोकमार्गले पनि रोल्पालाई छोएको छैन । यस मार्गले पनि रोल्पा र सल्यानलाई नछुने भएपछि दुवै जिल्लावासी आक्रोशित एवं आन्दोलित भएका थिए । स्थानीयको मागअनुसार पुनले गत माघमै प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका थिए ।


उपराष्ट्रपतिले सचिवालयमार्फत लेखेको ध्यानाकर्षणपत्र प्रधानमन्त्रीको कार्यालयले कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए । उनले उपराष्ट्रपति कार्यालयले गत माघ १६ गते ७ बुँदे आधारपत्रसहित प्रधानमन्त्री कार्यालयलाई पत्र लेखिएको बताए ।


‘अब मदन भण्डारी लोकमार्ग प्यूठानबाट दाङ–सुर्खेत होइन, रोल्पा–सल्यान हुँदै सुर्खेत जोडिन्छ,’ उपराष्ट्रपतिसँगको भेटपछि यातायात मन्त्री महासेठको भनाइ उद्द्धृत गर्दै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले भने, ‘त्यसैअनुसार योजना संशोधन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्छौं भन्ने जानकारी पाइएको थियो ।’ तर, त्यसबारे अझैसम्म सुनुवाइ नभएको उनले बताए । अहिले लोकमार्गको डीपीआर गुल्मीसम्मको मात्रै गरिएको छ । त्यसभन्दा पश्चिमतर्फको डीपीआर बनाइएको छैन ।


मन्त्रिपरिषद्ले अघिल्लो वर्ष चुरे, भित्री मधेसलगायतको क्षेत्रलाई जोड्ने गरी मदन भण्डारी लोकमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । उक्त योजनाअनुसार झापाको शान्तिनगरबाट मदन भण्डारी लोकमार्ग निर्माण सुरु गरिने र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी, तम्घास, सिमलटारी, प्यूठानको खलंगा, रोल्पाको घोडागाउँ–माडीचौर–घर्तीगाउँ–जिनाबाङ, सल्यान हुँदै सुर्खेतको बोटेचौर, बडडीचौर, डोटीको सिमचौर, बीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रूपालसम्म पुग्नेछ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?