३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पेन्सन बुझ्नै सास्ती

दुर्गालाल केसी

दाङ — भारतीय सेनाबाट अवकाश प्राप्त रोल्पा, लिबाङका ८० वर्षीय चुनलाल रोका घोराही आएको शुक्रबार तीन दिन भयो । उनी पेन्सन बुझ्न घोराही आएका हुन् । हरेक वर्ष जीवित भएको प्रमाणित गरी बैंक खाता नवीकरण गर्नुपर्ने नियमले उनलाई सास्ती भएको छ ।
पहिले चौघेरास्थित भारतीय सैनिक पेन्सन क्याम्पमा लाइन लागे, सिफारिसको कागजात बनाए ।

पेन्सन बुझ्नै सास्ती

त्यसपछि एसबीआई बैंकमा लाइन लागे । बिहान ४ बजेदेखि उनी लाइनमा बसेका हुन् । बिहान १० बजेसम्म पनि पालो आएन । बूढो उमेरमा लामो समय उभिंदा हैरानी भयो । ‘पहिले रकम नै पेन्सन क्याम्पबाट दिन्थ्यो । एक ठाउँ लाइन लागे हुन्थ्यो । अहिले त बैंकमार्फत पैसा बुझ्ने बनायो,’ उनले भने, ‘दुवैतिर लाइन लाग्दा झन् ढिलो हुने भयो । टाढाबाट आएकाले धेरै दिन बस्न पनि गाह्रो भयो ।’


लामो समय लाइनमा बसेर हरेक वर्ष खाता नवीकरण गर्नुपर्ने भएकाले अवकाश प्राप्त भारतीय सैनिक र उनीहरूका परिवारलाई पेन्सन बुझ्न सास्ती भएको छ । पहाडी जिल्लाबाट घोराही झरेका वृद्धवृद्धाले पेन्सनका लागि तीन/चार दिन सास्ती खेप्नुपरेको छ । जीवनको महत्त्वपूर्ण समय विभिन्न लडाइँमा सहभागी भएका पूर्वसैनिकलाई अहिले बुढेसकाल कष्टकर भइरहेको छ ।


२२ वर्ष भारतीय सेनामा काम गरेर अवकाश पाएका रोल्पा मिझिङका भगीरथ रोका पेन्सन बुझ्न साह्रै झन्झट भइरहेको बताउँछन् । ‘भारतको जम्मु कश्मीरलगायतको महत्त्वपूर्ण लडाइँमा सहभागी भयौं । जवानी उतै बित्यो,’ उनले भने, ‘अहिले पेन्सन बुझ्न ६/६ महिनामा घोराही झर्नुपर्छ । एक वर्षमा खाता नवीकरण गर्नुपर्छ । त्यो पनि दिनदिनै विभिन्न ठाउँमा लाइनमा बस्दा धेरै दुःख भएको छ ।’


पेन्सन क्याम्पबाट रकम वितरण गर्दा चोरी–डकैती हुन थालेपछि बैंकमार्फत बुझ्ने व्यवस्था गरिएको हो । पेन्सन वितरण गर्दा खाता नवीकरण गर्नुपर्ने प्रावधानले उनीहरूलाई झन्झट भएको छ । ‘दाङमै बसोवास गर्नेलाई जुन दिन नवीकरण गर्दा पनि समस्या भएन तर हामी टाढाबाट आएका मानिस फेरि फर्केर आउने कुरा हुँदैन । एकैपटक काम सकौं भन्ने हुन्छ,’ प्यूठान नौबहिनीबाट आएका पूर्व भारतीय सेना धरमबहादुर पुनले भने, ‘सबैको काम एकैपटक गर्दा धेरै कष्ट भोग्नुपर्‍यो । दिनदिनै बिहान उठेर लाइनमा बस्न ठिक्क भएको छ । धेरै दिन बस्दा खर्चिलो पनि भएको छ ।’


श्रीमान्को मृत्युपछि पेन्सन बुझ्ने परिवारलाई पनि उत्तिकै समस्या भएको छ । प्यूठान नौबहिनीकी माला राना पनि बिहान अँधेरै उठेर लाइनमा बसिन् । भारतीय सेनामा रहेका श्रीमान् वीरबहादुर रानाको युद्धमा मृत्यु भएपछि उनले पेन्सन बुझ्दै आएकी छन् । पेन्सन बुझ्न थालेको समय पनि उनलाई यकिन छैन । ‘धेरै वर्ष बितिसक्यो । पेन्सन बुझ्दाबुझ्दै म पनि बूढी भएँ । पहाडबाट दाङ आएर बुझ्न धेरै समस्या र खर्च छ,’ उनले भनिन्, ‘बूढाबूढीलाई अलि सुविधा हुने काम गरिदिए हुन्थ्यो । हामीलाई टाढा भयो । बैंकको काम पनि पेन्सन क्याम्पमै गरिदिएको भए यति धेरै दुःख हुने थिएन ।’


प्यूठान नौबहिनीकै मोतिसरा बुढाका श्रीमान् वीरबहादुर बुढा ६ वर्षअघि बिते । त्यसयता उनी निरन्तर पेन्सनका लागि घोराही आउने गरेकी छन् । हरेक वर्ष उनलाई सास्ती हुन्छ । ‘अहिले त झनै दुःख भयो । पेन्सन बुझ्नका लागि धेरै दिन घोराही बस्नुपर्ने बाध्यता भयो,’ उनले भनिन्, ‘लाइनमा बस्नै कठिन हुन्छ । समयमा काम हुँदैन । आउँदाजाँदा, बस्दा खर्च पनि धेरै हुन्छ ।’ राप्ती क्षेत्रका भूपू भारतीय सैनिकहरूले लामो समयदेखि घोराहीबाट पेन्सन बुझ्ने गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?