कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

वंशजका आधारमा नागरिकता लिने बढे

नवीन पौडेल

परासी — पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयमा केही दिनदेखि सेवाग्राहीको चाप बढेको छ । कार्यालय समयभन्दा १ घण्टाअघि नै सेवाग्राही प्रशासनको गेटमा आएर बस्ने गर्छन् । कर्मचारीका सवारीसाधन मूल गेटभित्र प्रवेश गर्नासाथ सेवाग्राही हुरुरु कार्यालयभित्र पस्छन् । सेवाग्राहीको भीड साबिकको भन्दा ४ गुणासम्म बढेको छ ।

वंशजका आधारमा नागरिकता लिने बढे

सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका अभिभावकलाई वंशजका आधारमा नागरिकता दिन सरकारलाई निर्देशन दिएपछि यहाँ नागरिकता लिनेको भीड बढेको हो । यसअघिको जन्मसिद्ध नागरिकता लिएका अभिभावकका छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिन गृहले पत्राचार गरे पनि सर्वोच्चले नदिन अन्तरिम आदेश गरेको थियो ।

तर, अहिले फेरि जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिनुपर्ने सर्वोच्चकै फैसला आएपछि नागरिकता लिनेको भीड बढेको हो । रामग्राम नगरपालिका–१५ का प्रवीन्द्र पाण्डे २१ वर्षका भए । उनका बुबाको नागरिकता जन्मसिद्ध आधारको छ भने आमाको नागरिकता वंशजको छ । पाण्डेले आफूले वंशजका आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै आएका थिए । तर, जिल्ला प्रशासन कार्यालयले यसअघि वंशजका आधारमा नागरिकता नपाउने भनेपछि नागरिकता नै बनाएका थिएनन् ।

अहिले सर्वोच्च अदालतको निर्णयपछि उनले पनि वंशजका आधारमा नागरिकता पाउने भएपछि खुसी छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात पेस गरेका छन् । पाण्डेजस्तै पश्चिम नवलपरासीमा भारत र नेपालका नागरिकबीच दुवैतर्फ विवाह गरेकाले वशंजको नागरिकता माग गर्दै प्रशासनमा कागज पेस गर्नेको भीड लाग्न थालेको छ । शुक्रबार मात्रै एक सयभन्दा बढीले त्यस्तो कागजात पेस गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले सर्वोच्च अदालत र गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकताको काम अगाडि बढेको बताए । ‘विभिन्न १४ किसिमका कागजात पेस गरेपछि वास्तविक नागरिकलाई कानुनले तोके अनुसारको नागरिकता लिन कुनै झन्झट छैन,’ उनले भने, ‘निकै भीडभाड भएकाले आवश्यक कागजात माग गर्ने र त्यसलाई अध्ययन गरेर भोलिपल्ट नागरिकता दिने गरिएको छ ।’

लालपुर्जाको प्रमाणपत्र, बुबा–आमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, नाता प्रमाणित, स्थायी बसोवास प्रमाणित र आवश्यक परेमा प्रहरी सर्जमिनसहितका १४ प्रकारका प्रमाणका आधारमा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने गरिएको छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?