कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जितगढीमा दोस्रो विजय उत्सव : फहराइयो ठूलो झन्डा

अमृता अनमोल

बुटवल — अंग्रेज फौजलाई हराएको दिनको सम्झनामा शनिबार बुटवलमा दोस्रो जितगढी विजय उत्सव मनाइएको छ । नेपाल स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि उत्सव मनाउन थालेको हो ।

जितगढीमा दोस्रो विजय उत्सव : फहराइयो ठूलो झन्डा

प्रदेश सरकारले पनि प्रदेश उत्सव घोषणा गरेको छ । सार्वजनिक बिदा दिइएको छ । विजय उत्सवको अवसरमा प्रधानमन्त्री केपी ओली सहभागी भएर जितगढी उत्सवमा संघीय सरकारको पनि हार्दिकता दर्शाए । विजय उत्सवमा युद्धको झल्को दिने गरी बृहत् झाँकीसहितको र्‍याली निकालिएको थियो । र्‍यालीमा नेपाली सेनाले तत्कालीन समयमा प्रयोग भएका हतियारसमेत प्रदर्शन गरेका थिए । नेपाली सेना युद्ध र युद्धपछिको उत्सवको पोसाकमा थिए ।


सेनाको टुकडीले जितगढीमा युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापालाई सलामी दिए । प्रधानमन्त्री ओलीले देशकै ठूलो राष्ट्रिय झन्डा फहराए र कर्णेल उजिरसिंहको पूर्णकदको सालिकको अनावरण गरे । सालिक ९ फिट उचाइको छ । नजिकै ४२ फिट उचाइको टावरमा राष्ट्रिय झन्डा फहराइएको छ ।


जितगढी किल्लाबाट हार बेहोरेपछि हरियाली डाँडाकाँडालाई देखेर नेपालमाथि आक्रमण बढाएको अंग्रेज सेना फर्केको थियो । यसकै कारण नेपाल स्वाधीन भएको थियो । प्रधानमन्त्री ओलीले नेपालीको वीरताको अमर गाथा गाइरहेको यो किल्लालाई वीरता गाउने किल्लाकै रूपमा संरक्षण गर्नुपर्ने बताए । ‘जितगढी राष्ट्रियताको प्रतीक र पहिचान हो ।


हाम्रा पुर्खाको वीरता, साहस र देशप्रतिको समर्पणको यो उत्तम नमुना हो,’ उनले भने, ‘यो नमुना विश्वभर चिनाउने गरी जितगढीको संरक्षण र विकास गरौं ।’ यसले नेपालको गौरव र इज्जत अझ उचो हुने उनले बताए । ‘मलाई हाम्रो देशप्रेम, हाम्रा पुर्खा, नेपाली सेना र नागरिकप्रति गौरव लाग्छ,’ ओलीले भने, ‘यो गौरव सधैं रहिरहोस् । इतिहास संरक्षण र विकासमा पक्ष–विपक्ष नबनौं ।’


रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युद्धमा जित हासिल गरेको जितगढीसँगै साहसका साथ लडेका देशका अन्य किल्ला र गढीको पनि संरक्षण गर्नुपर्ने बताए । यसका लागि प्रक्रियागत योजना र बजेट छुटयाएको उनले जनाए । ‘इतिहासको खोजी र संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘किनभने, जितगढी र हाम्रा पुर्खाको वीरताबारे संसारले थाहा पाउनुपर्छ ।’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जितगढीलाई सम्पदा सूचीका रूपमा अगाडि बढाएको बताए । ‘यसलाई नेपाली वीरको युद्धकला, संस्कृति र साहस जान्ने र बुझ्ने संग्रहालय बनाउन खोजेका छौं,’ उनले भने, ‘त्यसका लागि बुटवल उपमहानगरको सहकार्यमा योजना बनाएका छौं ।’


नेकपाका महासचिव विष्णु पौडेलले जितगढीसँगै युद्धका अन्य स्थान नुवाकोट, मणिमुकुन्दसेन पार्कलगायतलाई जोडेर विकास गर्नुपर्ने बताए । ‘तिनाउ नदी किनारमा रहेको जितगढी मात्रै होइन, शीतकालीन दरबार मणिमुकुन्द सेन उद्यान, युद्धका अवशेष भएको नुवाकोटलाई जोडेर संरक्षण योजना बनाउँदा जितगढी चम्किनेछ,’ उनले भने, ‘यस क्षेत्रको उत्खनन र इतिहासको खोजीलाई पनि अगाडि बढाउनु पर्छ ।’


बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीलाई पर्यटकीय र सांस्कृतिक क्षेत्र बनाउन जितगढी संरक्षणको प्रारम्भिक गुरुयोजना बनाएको बताए । त्यसमा जितगढीलाई मणिमुकुन्द सेन उद्यान नुवाकोट गढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडिएको छ । जितगढीमा युद्ध संग्रहालय तथा युद्धका लडाकुको सालिक बनाउने योजना छ । ‘जितगढी बुटवलको मात्रै होइन, देशकै धरोहर हो,’ उनले भने, ‘त्यसैले तीन तहकै सरकारको समन्वयमा विकास गर्न विशेष गुरुयोजना बनाएर काम थालेका छौं ।’


वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन वंशीय राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह नेतृत्वको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएका थिए । त्यही फौजले १८७१ देखि सुरु भएको पटक–पटकको आक्रमण सामना गरी अंग्रेज सेनालाई हराएको थियो । विजयसँगै जितगढी नामकरण भएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढीलगायत नेपालका ७ स्थानमा अंग्रेजविरुद्ध युद्ध भएको थियो । त्यसमध्ये नेपाली फौजको जित भएको जितगढी मात्रै हो ।


प्रधानमन्त्रीलाई कालो झन्डा

पाँच तहको सुरक्षा घेरा छल्दै प्रधानमन्त्री ओलीलाई शनिबार यहाँ कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई बुटवल उपमहानगरपालिका ११, माझगाउँका रुद्र घिमिरेले कालो झन्डा देखाएका हुन् ।


कार्यक्रम स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगर प्रहरीले सुरक्षा दिएका थिए । कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए । सबै सुरक्षा घेरा छल्दै खचाखच भरिएको मञ्चभन्दा झन्डै ५० मिटरअगाडि पुगेर कालो झन्डा देखाएका हुन् । उनले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ,’ भन्दै झन्डा देखाएका थिए । घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?