१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लुम्बिनी झुम्यो आँचल नाचमा

मनोज पौडेल

लुम्बिनी — चर्को गानाबजाना । भीडभाड पनि उत्तिकै । जता हेर्‍यो उतै खानेदेखि कपडासम्मका पसल । कोही नाचिरहेका छन् । कोही ढोल बजाइरहेका छन् । कोही व्रतकथा सुन्दैछन् । कोही पूजाआजामा व्यस्त छन् भने कोही कराही (देवीलाई प्रसाद) चढाउन । 

लुम्बिनी झुम्यो आँचल नाचमा

बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरनजिक लागेको रुमिन्देई माई चैते पूर्णिमा मेलाको रौनक हो यो । भीडभाडमा एउटा छुट्टै परिदृश्य देखिन्छ । सबैको ध्यान त्यसैले तान्छ । त्यो हो, तराईको संस्कृति, खुसी अनि उमंग बोकेको आँचल नाच ।

देख्दा सामान्य लागे पनि यसले गहिरो अर्थ बोकेको छ । हिन्दु धर्ममा नचनिया (नर्तकी) शुभ मानिन्छन् । त्यही भएर महिला आँचल (सारीको एकातिरको टुप्पो) मा नचनियालाई नचाउँदै आफ्नो आँचल सधैं भरिरहोस् भनेर कामना गर्छन् । रुमिन्देई माईको परिसरमा माईसँग महिलाले कामना गर्छन् । नचनियाहरू देवी गीत (पचरा) मा आँचलमा नाँच्दै आशीर्वाद दिन्छन् । ढोल र मजिरा बाजाको तालमा कम्मर मर्काईमर्काई नाच्छन् ।

नाच्ने व्यक्ति पुरुष भए पनि सारी, ब्लाउज र मेकअप गरी महिला बनेका छन् । ४ देखि ५ मिनेटको नाच सकिएपछि महिलाहरू यथाशक्य भेटी नचनियालाई दिन्छन् । महिलाले पारिवारिक सुख, शान्ति, धनदौलत प्राप्ति र मनोकांक्षा पूरा होस् भनेर आँचलमा नचाउने गरेको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले बताए ।

‘यस्तो अद्वितीय र आस्थापूर्ण परम्परा अरू ठाउँमा देख्न पाइन्न,’ उनले भने, ‘लुम्बिनीमा मात्र यस्तो हुन्छ ।’ संसारलाई शान्तिको बाटोमा डोर्‍याउने विचारक गौतम बुद्धलाई जन्म दिने ठाउँ लुम्बिनी भएकाले मनमा त्यही पवित्र आस्था र विश्वास बोकेर श्रद्धालुहरू यहाँ पूजाआजा गर्न आउने उनले बताए ।

४/५ दशकअघिसम्म स्थानीयले लुम्बिनीस्थित मायादेवी मन्दिरलाई रुमिन्देई माई भनेर पूजाआजा गर्थे । त्यही भएर अहिले पनि यहाँ रुमिन्देई माईकै नाममा चैते पूर्णिमा मेला लाग्ने गरेको छ । आइतबार मेलाको तेस्रो दिन हो । उत्तिकै भीड छ । यसपटक पाँच दिनसम्म मेला लाग्ने बताइएको छ । ‘पहिलेपहिले १०/१५ दिनसम्म लाग्थ्यो,’ नगर प्रमुख चौधरीले भने, ‘अचेल मेला व्यवस्थापन गर्न कसैले ध्यान नदिंदा छोट्याउँदै जानु परेको छ ।’

‘तीन वर्षअघि नाति पाएपछि आँचलमा नचाउने भाकल गरेकी थिएँ,’ रूपन्देहीको कोटहीमाई गाउँपालिका ८, देवनबक्सापुरबाट आएकी राधा साहनीले भनिन्, ‘आज त्यो भाक पूरा गर्न पाउँदा निकै खुसी छु ।’ नातिको राम्रो शिक्षादीक्षा र पारिवारिक सुख–शान्तिको कामना गरेको उनले बताइन् ।

आँचलमा नचाउँदा धेरै मनोकांक्षा पूरा हुने उनको विश्वास छ । ‘महिलाहरूले आफ्नो आँचल भरिभराउ होस् भनेर आँचलमा नचनियालाई नचाउने चलन छ,’ अवधि संस्कृतिका जानकार पशुपतिमणि त्रिपाठीले भने, ‘यो चलन परापूर्वकालदेखि चलिआएको हो ।’

मुण्डन मेला

यस मेलाको अर्को महत्व बालबालिकाको कपाल मुण्डन (पहिलो पटक कपाल काट्ने) पनि हो । ‘बुद्धले मानव जातिलाई प्रदान गर्नुभएको सर्वोच्च आशा र आनन्दको उद्गमभूमि लुम्बिनी हो,’ स्थानीय पण्डित वीरेन्द्र मिश्राले भने, ‘त्यही भएर श्रद्धालु बालबालिकाको पहिलो पटकको कपाल काटन यहाँ मरिहत्ते गर्छन् ।’

कपाल खौरिँदै रुमिन्देई माईसँग सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन् । मनोकांक्षा पूरा होस् भनेर कामना गर्छन् । अहिले मेलामा दैनिक एक हजारभन्दा बढी बालबालिकाको मुण्डन भइरहेको पण्डित मिश्राले बताए । पहिलोपटक काटिएको कपाल भुइँमा नखसोस् भनेर फुपू वा दिदीले कपडा राखेर संकलन गर्छन् ।

कपालमा आफन्तहरू पैसा पनि चढाउँछन् । यहाँ चढाइएको पैसा आधी कपाल काटनेको र आधी फुपू वा दिदीको हुने मान्यता छ । ‘नाति जन्मिए रुमिन्देई माईमा मुण्डन गर्छु भन्ने भाकल गरेकी थिएँ,’ कपिलवस्तुको मायादेवी गाउँपालिका धुपहीबाट आएकी शोभा प्रजातिले भनिन्, ‘त्यही भएर एक वर्षको नातिको कपाल मुण्डन गर्न यहाँ आएकी हुँ ।’ ८ महिनादेखि ५ वर्षसम्मका छोराछोरीको मुण्डन गरिन्छ । मुण्डन गर्दा काटिएको कपाल देवी स्थलको पछाडि लगेर चढाइन्छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?