तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा

कमल पन्थी

बर्दिया — समयमा बजेट निकासा नहुँदा यस वर्ष बबई नदी तटीय क्षेत्रका बासिन्दा बाढी र कटानको उच्च जोखिममा पर्ने भएका छन् । बबई, भादा र ओराही नदीमा तटबन्धका लागि बजेट निकासा नभएपछि बाढी र कटान रोक्ने तटबन्धको काम अलपत्र परेको हो ।

बर्खाको बाढीले गुलरिया, बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिकाका २५ हजारभन्दा बढी सर्वसाधारण प्रभावित हुँदै आएका छन् । नदी कटानले यस भेकको करिब सय बिघा जमिन बगाएको छ ।


०७१ मा आएको बाढीले ३२ जनाको ज्यान जानुका साथै ९० हजार सर्वसाधारण प्रभावित भएका थिए । तीमध्ये डुग्रवा, रामपुरटप्पर र चेपाङ बस्तीका करिब २ सय घरपरिवार अझै विस्थापित छन् । ०७४ को बाढीले २५ हजार बढीको घर डुबानमा परेको थियो । सदरमुकामस्थित पशुहाट, रामपुरटप्पर, प्रयागपुर, थपुवा, इन्द्रपुरलगायत बस्ती जोखिमका मानिन्छन् ।


गत वर्ष पुस १४ गतेदेखि १३ निर्माण व्यवसायीले काम गरेबापत ४० करोड रुपैयाँ भुक्तानी नपाएको निर्माण व्यवसायी संघका अध्यक्ष भरत पौडेलले बताए । करिब ८० करोडको हाराहारीमा काम सम्पन्न भएकाले हालसम्म भुक्तानी नपाउँदा बाध्य भई काम रोकिएको उनले सुनाए । समयमा रकम भुक्तानी नहुँदा निर्माण भएका अधुरा संरचना बाढीले बगाउने जोखिम बढेकाले यथाशीघ्र केन्द्रले बजेट निकासा गरिदिन व्यवसायीले आग्रह गरेका छन् ।


करिब ८ महिनाअघि माग गरेको बजेट निकासा नभएको बबई, भादा र ओराही नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी मंगलबहादुर बमले बताए । ढुंगा, तारजाली, इन्धन र मजदुरलाई दिने रकम नभएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको उनले बताए । डिपीआर स्वीकृत भइसके पनि माग अनुसारको बजेट निकासा भएको छैन ।


बबई नदीको दाहिनेतर्फको २२ किमि तटबन्धका लागि ३ अर्ब ९२ करोड रुपैयाँ खर्च हुने र ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । आगामी जेठभित्र १४ प्याकेजको काम सकिने सम्झौता छ । तटबन्ध र बाँध नहुँदा बर्सेनि डुबान र कटानले सदरमुकाम गुलरिया र आसपासका नगरपालिका प्रभावित हुँदै आएका छन् ।


बजेटकै कारण अति जोखिम मानिएको गुलरिया नगरपालिकाको पशुहाट, वालापुर, रामपुरटप्पु, प्रयागपुर, थपुवालगायतका ठाउँमा तटबन्धले गति लिएको छैन । आयोजना प्रमुख जितबहादुर थापाले तटबन्धका लागि बजेट निकासा अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?