सामुदायिकमा छैनन् विद्यार्थी

वीरेन्द्र केसी

अर्घाखाँची — कुनै बेला टोलैपिच्छे विद्यालय खोलिएका थिए । तिनमा छात्रछात्रा खचाखच हुन्थे  । गाउँमा निजी विद्यालय थिएनन् । बसाइसराइ थिएन । अहिले त्यस्तो अवस्था छैन । जन्मदर घट्यो । निजीमा छोराछोरी पढाउन सहरमा डेरा लिएर बस्ने बढे । त्यसको मार सामुदायिक विद्यालयमा परेको छ ।

सामुदायिकमा छैनन् विद्यार्थी

सरकारी मापदण्डअनुसार एउटा कक्षामा कम्तीमा ४५ विद्यार्थी भर्ना हुनुपर्छ । अहिले कक्षा १ देखि ५ सम्म ४५ विद्यार्थी भर्ना हुन मुस्किल छ ।


तल्लो कक्षामा विद्यार्थी न्यून भएपछि स्कुल समायोजन, कक्षा घटाउने र शिक्षक दरबन्दी कटौती गर्न सुरु गरिएको छ । यसको अगुवाइ स्थानीय तहले गरेका छन् । मालारानी गाउँपालिकामा मावि १३, आधारभूत ४७ र बालविकास ३ गरी ६३ वटा विद्यालय छन् । त्यसमध्ये १७ वटा आधारभूत विद्यालयमा हाल पढाइ भइरहेका कक्षालाई घटाइएको छ । प्रगति आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म पढाइ भइरहेको थियो । विद्यार्थी खचाखच हुन्थे । पछिल्लो केही वर्षयता विद्यार्थीको संख्या न्यून छ । यस वर्ष २१ विद्यार्थीले मात्रै परीक्षा दिए ।


अबको शैक्षिक सत्रबाट ४ र ५ कक्षा घटाइयो । कक्षा १ देखि ३ सम्म पढाइ हुनेछ । यहाँ एक शिक्षकको दरबन्दी कटौती गरियो । यसैगरी १७ विद्यालयमा कक्षा घटाइएको मालारानी गाउँपालिका शिक्षा अधिकारी रमेश पन्थीले बताए । ‘कुनै स्कुलका कक्षामा विद्यार्थी शून्यजस्तै हुने र कतै विद्यार्थी धेरै, दरबन्दी अभाव हुने भएपछि कक्षा घटाएर दरबन्दी मिलान गरियो,’ उनले भने, ‘खारेज भएका कक्षामा भर्ना गरिएको छैन ।’


सदरमुकामका निजी स्कुलमा छोराछोरी पढाउन अभिभावक डेरा लिएर बस्ने भएकाले सरकारी स्कुलमा गरिब र विपन्नका छोराछोरी मात्रै पढ्छन् । पैसा हुनेले महगो निजी स्कुलमै पढाउने गर्छन् । पहिले कम्तीमा ४/५ छोराछोरी जन्माउँथे । अहिले बढीमा २ भन्दा धेरै सन्तान जन्माउदैनन् । राम्रो शिक्षा दिन अभिभावक सहरमै डेरा गरी बोर्डिङ स्कुलमा छोराछोरीलाई भर्ना गर्छन् ।


सदरमुकामका निजी स्कुलले बस गाउँमै पठाएर सुविधा दिएपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर घटेको हो । यस वर्षको नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई घरदैलो अभियानमा खटाइएको उनले बताए । निजी स्कुलका विद्यार्थीलाई सरकारीमा ल्याउने लक्ष्य छ । प्रचारात्मक अभियान पनि भएको छ । विद्यार्थी कमी भएकाले दरबन्दी कटौती र कक्षा खारेज गर्नुपरेको पन्थीले बताए । कक्षा खारेज गरिएका १६ विद्यालयका २० जना शिक्षकको दरबन्दी कटौती गरिएको छ । विद्यार्थी धेरै र दरबन्दी कम भएका नौ स्कुलमा दरबन्दी थप गरिएको उनले बताए ।


यहा“का सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ भइरहेको उनले बताए । दरबन्दी कटौती र कक्षा खारेज गरिएपछि केही गाउँका शिक्षक र अभिभावकले विरोध गरेका छन् । शान्ति मावि बाँगीका प्राचार्य मानबहादुर पाण्डेले कक्षा घटाएर दरबन्दी कटौती गर्ने काम पालिकाले ठीक नगरेको बताए । शैक्षिक गुणस्तर वृद्धि गर्ने नाममा साना बालबालिकालाई पढ्नबाट वन्चित गर्ने काम गाउँपालिकाले गरेको उनको आरोप छ ।


हंसपुरका पुनाराम विक डकर्मी काम गर्छन् । ‘सरकारी स्कुलमा पढाइ राम्रो छैन, त्यसैले बोर्डिङमा छोरालाई भर्ना गरेको,’ उनले भने । सरकारी स्कुलमा विद्यार्थीको संख्या बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न अघिल्लो गाउँसभामा मालारानी गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा अनिवार्य भर्ना गर्नुपर्ने भनेर निर्णय गर्‌यो । तर, कार्यान्वयन भएन । सरकारीमा गर्नुको साटो निजीमा भर्ना गर्नेको संख्या बढ्यो । स्कुलमा भर्ना निःशुल्क छ । शिक्षकलाई पालिकाले विभिन्न तालिम पनि दिएको छ । तर, निर्णय कार्यान्वयन भएन ।


‘म एक्लैले गरेर मात्रै हुदो रहेनछ । अरू कसैले मानेनन्,’ पालिका अध्यक्ष बालकृष्ण आचार्यले भने । आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा नपढाए शिक्षक, कर्मचारीको ग्रेड रोक्का गरिदिने र जनप्रतिनिधिलाई नैतिक कारबाही गर्ने निर्णय गरिएको उनले बताए । ‘तर, लागू गर्न गाह्रो रहेछ,’ उनले भने । सरकारी स्कुलमा आकर्षित गर्न अंग्रेजी माध्ययमा पढाइ, नियमित स्कुल अनुगमन र शिक्षकलाई थप तालिमका कार्यक्रम गरिएको उनले बताए ।

प्रकाशित : वैशाख १०, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?