कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विद्यार्थी आकर्षित गर्न झोला र पोसाक

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरपालिकाले बालबालिकालाई विद्यालय ल्याउन यस वर्ष विभिन्न सहयोगका कार्यक्रम सञ्चालनको तयारी गरेको छ  । पोसाक तथा शैक्षिक सामग्री सहयोगदेखि अभिभावकलाई आर्थिक आयआर्जनमा लगाउने योजना बनाएको छ । नियमित विद्यालय आउन नसक्नेलाई केही समय छुट्टै कक्षा सञ्चालन गर्ने योजना छ ।

‘विद्यालयका शिक्षक र नगर शिक्षा समितिद्वारा घरदैलो सुरु भएको छ,’ उपमहानगर प्रमुख शिवराज सुवेदीले भने, ‘बालबालिका विद्यालय नआउनुको कारण बुझेर त्यस अनुसार सहयोगका कार्यक्रम गर्नेछौं ।’ तीव्र बसाइसराइ र सहरी विपन्न वर्गका कारण चुनौती छन्, चालु शैक्षिक सत्रभित्र पूर्ण भर्ना घोषणा गर्ने गरी काम थालेको उनले बताए । आधारभूत तहमा शैक्षिक गुणस्तर दोब्बर वृद्धि गरेको सैनामैना पनि विद्यार्थी भर्ना अभियानमा जुटेको छ ।

शिक्षकलाई विद्यालय नआउने बालबालिकाको तथ्यांक संकलनमा खटाएको छ । ‘मजदुर र सुकुम्बासी समुदायका केही बालबालिका विद्यालयबाहिर छन्,’ नगर प्रमुख चित्रबहादुर कार्कीले भने, ‘उनीहरू कति छन् र कस्तो अवस्थामा छन् भनेर तथ्यांक संकलनमा लागेका छौं ।’ तथ्यांक संकलनपछि र अवस्था विश्लेषण गरेर विद्यार्थी सहयोग र अभिभावक राहतका कार्यक्रम चलाउने उनले बताए ।

‘सबैका लागि शिक्षा र स्थानीय तहको अनुभूति दिलाउन चेतना अभिवृद्धिका कार्यक्रम पनि तय गरेका छौं,’ उनले भने । रूपन्देहीका १६ मध्ये सियारी गाउँपालिका मात्रै पूर्ण विद्यालय भर्ना भएको गाउ“पालिका हो । अन्य १५ स्थानीय तहमा विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर छन् । जिल्ला शिक्षा तथा समन्वय एकाइले गत शैक्षिक सत्रमा प्रधानाध्यापक तथा स्थानीय तहमार्फत सर्वेक्षण गरेको थियो ।

त्यसमा करिब ६ हजार विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाहिर देखिएका थिए । विद्यालय नजाने धेरै बालबालिका ज्यालादारी काम गर्ने मजदुरका छोराछोरी, मुस्लिम, पिछडिएका समुदायका र अपांग छन् । मुस्लिम बालिकालाई धार्मिक आस्थाले र बजार क्षेत्रमा बाबुआमा कामको सिलसिलामा डुलिरहने, भाइबैनी छोराछोरीलाई हेर्न लगाएर आफू काममा जाने, होटल तथा घरमा मजदुरी गर्न पठाउने कारण बालबालिका विद्यालय नगएको सर्वेक्षणले देखाएको थियो ।

सहरी क्षेत्र बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायतका नगरपालिकाकै बालबालिका विद्यालयबाहिर छन् । यस्तोमा तिलोत्तमा नगरपालिकाले निरन्तर भर्ना अभियान र अभिभावक परामर्श कार्यक्रम सुरु गरेको छ । ‘निश्चित समयमा मात्रै बालबालिका भर्ना गर्दा मजदुर वर्गका बालबालिका छुट्दा रै’छन्,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने, ‘यसैले तल्लो तहका बालबालिकालाई जुनसुकै समयमा पनि जुनसुकै विद्यालयमा भर्ना गर्ने योजना छ ।’

आधारभूत तहका सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरेको ओमसतिया गाउँपालिकाले जनप्रतिनिधिमार्फत विद्यालय नजाने बालबालिकाको तथ्यांक संकलन गर्दैछ । तथ्यांकसंगै उनीहरू विद्यालय नजानुको कारण खोजेको छ । गाउँपालिका अध्यक्ष हीरा केवटले विद्यालय उमेरका सबै बालबालिका विद्यालय ल्याउन र पूर्ण भर्ना गाउ“पालिका बनाउन यसो गरेको बताए ।

प्रकाशित : वैशाख १०, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?