१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महिनौंदेखि सडक अवरुद्ध

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका ४, जुम्री बजारस्थित झिमरुक फाँटतर्फको प्लटिङतर्फ जाने सडक अवरुद्ध गरिएपछि अहिले त्यँहा घडेरी किन्ने र घर बनाउने समस्यामा परेका छन्  । महिनौदेखि सडक रोकिएपछि उनीहरू समस्यामा परेका हुन्  ।

महिनौंदेखि सडक अवरुद्ध

चौडा सडक देखेर महँमा घडेरी किनेर घर बनाएका ३० बढी परिवार र ५० भन्दा धेरै घडेरी किनेका स्थानीयलाई अचेल मोटरसाइकलसमेत लैजान सक्ने सडक छैन । घर बनाउने निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यता छ ।


सुरुमा ६ मिटर चौडा सडकसहितको प्लटिङ देखेर १६ हात घडेरी किनेको ऐरावती ४ का गोविन्द पुनले बताए । पुनले घडेरीमा बा“सले बारेर कटेज चलाएका थिए । सडक अवरुद्ध भएपछि अहिले कटेज बन्द गर्नुपरेको उनले गुनासो गरे । ‘प्लटिङमा धेरै लफडा र झगडा रहेछ,’ उनले भने, ‘हिजोआज मोटरसाइकलसमेत लैजाने सडक छैन ।’ गाउँ छोडेर सुविधा खोज्दै महगोमा घडेरी किन्दा नराम्रोसँग फसेको उनले बताए । सडक रोकिएको विषयमा इलाका प्रहरी कार्यालय बिजुवार र प्यूठान नगरपालिकामा गुनासो गर्दा अझै सुनुवाइ नभएको उनले बताए ।


महिनौं सडक अवरुद्ध गर्दा कतैबाट निकास ननिस्केको प्यूठान नगरपालिका ३, विजयनगरकी मीना न्यौपानेले बताइन् । सडकछेउको घडेरी भनेर किनेकामा अहिले निर्माण सामग्री बोकेर ओसार्नु परेको गुनासो गरिन् । गाउँका सोझासाझा जनता ठगिएको विषयमा स्थानीय सरकार र प्रशासन मूकदर्शक बनेको उनको गुनासो छ ।

‘कि त प्लटिङ गर्न नै रोक्नु पर्थ्याे ,’ उनले भनिन्, ‘कि व्यवस्थित गर्न लगाउनु पर्‌यो ।’ महिनौं सडक अवरुद्ध हुँदा स्थानीय सरकारले हेरेर मात्र बसेको उनले बताइन् । ‘यहाँ बनेका घरको नगरपालिकाले कर लिने गरेको छ,’ उनले भनिन्, ‘तर, समस्या पर्दा समाधानमा पहल लिएको अनुभूति हामीलाई भएन ।’


जग्गा प्लटिङ गर्नेहरूले सर्त अनुसारको रकम नदिएपछि सडक अवरुद्ध गर्नु परेको स्थानीय कालीबहादुर परियारले बताए । ‘१० लाख रुपैयाँ दिने भनेर १४ हात मोहडा सडक खुलाउनका लागि दिएको थिएँ,’ उनले भने, ‘प्लटिङ गरेर घडेरी बिक्र गरिसकेपछि सर्त कार्यान्वयन गरेनन् । त्यसैले सडक रोकेको छु ।’


सडक चौडा पार्दा आफ्नो कच्ची घर नै भत्किने अवस्थामा पुगेको उनले बताए । ‘सर्तअनुसारको रकम नदि“दासम्म सडक खुलाउन दिन्नँ,’ उनले भने, ‘अर्काका नाममा रहेको जग्गालाई बाटो भनेर देखाउने र घडेरी बिक्री गर्नेले समस्याको समाधान खोज्नुपर्छ ।’ मल्लरानी गाउँपालिका–४, खलंगाका दामोदर रिजाल, माधव रिजाललगायत जग्गाधनीसहित तारा रिजाल, दिनेश केसीलगायतले ८ वर्षअअघि यहाँ जग्गा प्लटिङ गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?