कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हरायो केराखेती

रूपन्देही — सरनकालिका वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर सिंजालीको १६/१७ जनाको परिवार पाल्ने मुख्य आम्दानी केराखेती हो । उनको केराखेती १० कठ्ठा जग्गामा फैलिएको थियो । तर, अहिले त्यही जग्गामा तरकारी फल्छ ।

प्रविधि र ज्ञानको अभावले उनी केराखेती छोडेर तरकारीमा लागे । कम मिहिनेतमै धेरै आम्दानी हुने भए पनि उनका लागि केराखेती टिकाउ हुन सकेन । केराको स्याहारसुसार र गोडमेलमा ध्यान पुर्‍याउन नसक्दा खेती नै मासियो । ‘०४० तिर ५ रुपैयाँ दर्जनमा केरा बेचियो,’ उनले भने, ‘०६० सालतिर प्रतिदर्जन १२ रुपैयाँमा पनि बिक्री भयो तर ज्ञान पनि भएन र सुसार गर्न नसकेपछि खेती नै छोडियो ।’


उनकै छिमेकी दलबहादुर रेश्मी सरनटाँडीमा बसाइँ सरेर आएको १५ वर्ष पुग्यो । उनी आउँदा बस्ती निकै पातलो थियो । उनले पनि सुरुमा केराखेती नै गरे । तर, उमेर ढल्किंदै जाँदा उनले सकेनन् । गर्न सक्ने युवा विदेशतिर लागे । ‘युवा विदेश गए, केराखेती पनि सकियो,’ उनले भने, ‘हुर्केकै केराखेती पनि औषधिमूलो, गोडमेल र विधि पुर्‍याउन नसक्दा नासिए ।’ उपयुक्त तालिम, मलखादको उचित प्रयोग र केराखेतीको विधि नजानेकाले खेती छोडेको किसान बेनीराम ठाडामगरले बताए । युवा विदेश जाने क्रम बढेपछि गाउँका वृद्धवृद्धाले केराखेतीलाई निरन्तरता दिन सकेनन् । किसानलाई अन्य बाली रोप्न सिकाइयो । त्यसले आम्दानी पनि बढाएको छ ।


लौरीसेमीको पकेट क्षेत्र सरनटाँडीका किसान यही बालीबाट सन्तुष्ट भएकाले केराखेती छोडेको देवदह नगरपालिका ६ का वडाध्यक्ष दामोदर क्षत्रीले बताए । गत वर्ष केराखेतीको तालिम लिनका लागि किसानलाई आग्रह गर्दा समेत तरकारी खेतीबाट सन्तुष्ट भएको बताएपछि तालिम नलिएको उनले बताए ।


सरनटाँडीमा एउटा मात्र आधारभूत विद्यालय छ । कक्षा ८ पछि विद्यार्थी शीतलनगर जान्छन् । ‘मगर समुदायमा पढ्नैपर्छ भन्ने चेतनाको कमीले युवा विदेशिने र खेती किसानी गर्ने बढिरहेका छन्,’ बेनिराम ठाडामगरले भने । वस्ती विकास र सिंचाइ सुविधा पाउन थालेपछि किसानले धान, मकै, पिंडालु, आलु, टमाटर, सिमी रोप्न थालेका छन् । यहाँका युवा कतार, कुवेत, दुबई र साउदी पुगेका छन् ।


पाल्पाबाट छुट्टिएर देवदहमा गाभिनुअघि ०३५/३६ सालसम्म सरनटाँडीमा २२ घर मात्र थिए । घोडाहा चोकबाट ३ किमिको दूरीमा रहेको यस गाउँमा अहिले भने ९० भन्दा बढी घर छन् । मगर समुदायको बाहुल्य छ ।

- सञ्जु पौडेल

(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ११, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?