स्याउबारीमा आलु

हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिका १, मैजाकुङका तीर्थबहादुर पुनले आफ्नो बारीमा स्याउसँगसँगै आलु खेती पनि लगाउँदै आएका छन्  । परम्परागत रूपमा आलु खेती गर्ने बारीमा ५ वर्षअघि उनले स्याउका बोट लगाएका थिए  ।

स्याउबारीमा आलु

‘दुई रोपनी बढी जग्गामा स्याउका बोट लगाएको छु,’ उनले भने, ‘अहिले त्यहीं आलु खेती पनि गरिरहेको छु ।’ बारीमा स्याउ लगाएका कारण आलुको उत्पादन भने घटेको छैन । बारीमा आलु लगाउँदा मल हाल्नुपर्ने र गोडमेल हुने भएकाले स्याउका बोट पनि सप्रिएको उनले बताए । उनको बारीमा स्याउका ३ सय ३० बोट छन् । प्रतिबोट सयका दरले ३३ हजार रुपैयाँमा खरिद गरिएको तथा ती विरुवा लगाउन पनि त्यत्ति नै रकम खर्च भएको उनले बताए । स्याउका बिरुवा जुम्लाका हुन् । व्यापारीले विरुवा बिक्रीका लागि गाउँमै पुर्‍याएपछि किनेर लगाएको उनले सुनाए । बारी छैन भनेर बसिरहेका बेला आलु र स्याउ खेती सँगसँगै गर्न सकिने थाहा पाएपछि आलु खेती गरिरहेकै बारीमा स्याउका बिरुवा लगाएको उनको दाबी छ ।


एउटै बारीमा दुई खेती हुने भएपछि आफूसँगै गाउँका अन्य किसानसमेत उत्साहित भएको उनले सुनाए । सुरुमा स्याउ लगाउँदा थप मिहिनेत गर्नुपरे पनि त्यसपछि भने एकैपटकको कामले दुई बालीलाई मलजल र गोडमेल गर्न सजिलो भइरहेको उनले बताए ।
उनले हरेक वर्ष फागुनमा आलु लगाउँछन् । त्यतिबेला सकेको मल र स्याउला बारीमा हाल्ने गरेका छन् । आलु लगाउँदा स्याउका बोटलाई पनि गोडमेल पुग्छ । ‘स्याउलाई मात्रै गर्नुपर्ने मिहिनेत मैले दुई बालीलाई एकैसाथ गरिरहेको छु,’ उनले भने, ‘स्याउसँगै आलु खेतीले आर्थिक मात्र होइन, हेर्दा पनि आनन्द दिन्छ ।’ उनले हरेक वर्ष १० क्विन्टल आलु फलाउने गरेका छन् । बाली सप्रेको वर्ष त्यसभन्दा बढी फल्छ ।


पुनले आलुबाट नियमित आम्दानी लिइरहेका छन् । तर, स्याउ भने आम्दानी दिने स्तरमा फलिसकेको छैन । ‘अघिल्लो वर्षदेखि केही बोटमा फल लाग्न थालेका छन्,’ उनले भने, ‘ती चाख्दैमा ठिक्क भयो ।’ प्राकृतिक प्रकोप नभए यस वर्षदेखि स्याउ बिक्री गर्ने परिमाणमा फल्ने गरी फूल लागेको उनले सुनाए । स्याउबारीको नजिकै भएर मध्यपहाडी लोकमार्ग अघि बढेको छ । स्याउ
राम्रो फले पश्चिम वा पूर्व दुवैतर्फका बजारमा पठाउन आफूलाई समस्या नहुने उनले बताए ।

प्रकाशित : वैशाख ११, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?