कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोहलपुरका कामै सुस्त

मधु शाही

बाँके — आर्थिक वर्ष सकिनै लाग्दा पनि कोहलपुर नगरपालिकाले लक्ष्यअनुसार काम गर्न सकेको छैन  । नगरका अधिकांश योजना सम्झौतामै सीमित छन्  ।

नगरपालिकाले जेठसम्म काम पूरा गर्ने गरी योजनाको सम्झौता गरेको थियो । तर, ठूला कार्यक्रम र योजनाको काम अहिलेसम्म पनि अलपक्र छन् । वडा २ स्थित तेह्र बिघामा खेलकुद मैदान निर्माण गर्ने वार्षिक विकास कार्यत्रममा उल्लेख छ । स्थानीयले विवाद गरेपछि अदालतमा मुद्दा पर्‍यो ।

नगरपालिकाको पक्षमा मुद्दा फैसला भएपछि अहिले काम सुरु हुँदैछ । त्यस्तै, गोलपार्कमा घण्टाघर निर्माण नगरपालिकाको ठूलो योजनामध्ये एक हो । गत वर्ष पनि यही योजनाका लागि ३० लाख रुपैयाँ बजेट छुटयाएको थियो । त्यसबेला पनि गोलपार्क निर्माण पूरा हुन सकेन । चालु आवमा रकम थपेर ६० लाख रुपैयाँ बनाइएको छ ।


त्यसमा नगर विकासले समेत ३ करोड रुपैयाँ थप्ने योजना थियो । एउटा डिजाइनमा बनाउँदै गरेको गोलपार्क अहिले फेरि अर्कै डिजाइनमा पास गर्नुपरेको छ । एउटै कामलाई बारम्बार नक्सा बदल्नुले पनि नगरको योजना फितलो देखिएको हो । वडा ११ का अध्यक्ष कर्णबहादुर थापाका अनुसार फेरि नयाँ फाउन्डेसनबाट काम गर्नुपर्छ । यसले पहिलाको लगानी यत्तिकै खेर गएको उनले बताए । ‘पहिलो इन्जिनियरको काम रद्द भयो । अब अर्कै टेन्डर गर्नुपर्छ,’ उनले भने, ‘यसै विषयमा नगरप्रमुखसँग कुरा गर्दैछु । भेटने समय नै पाएको छैन ।’

गएको वर्षदेखि नै नगरले वडा १५ को चौधरिया टोलसम्म जोड्ने बाटोमा कालोपत्रे गर्ने योजना बनाएको थियो । चालु आवमा पनि पूरा हुने अवस्था नदेख्दा वडाध्यक्ष थापा खिन्न छन् । स्थानीयले सडकबारे चासो दिएर प्रश्न गर्दा आफू नाजवाफ हुने गरेको उनले बताए । ‘नगरपालिकाले आफैं कालोपत्रे गर्ने जिम्मा लिएको छ,’ उनले भने, ‘त्यसैमा भर पर्दा दुई वर्ष बित्यो । अझैसम्म कालोपत्रे भएको छैन ।’

उनका अनुसार कालोपत्रे गर्न वडाकै उपभोक्ता समिति तयार थियो । यस्तो गर्न पाइँदैन भन्दै नगरपालिकाले जिम्मा दिएन । ‘नगरपालिकाले न आफू काम गर्छ, न हामीलाई जिम्मा दिन्छ,’ उनले भने, ‘स्थानीयलाई बुझाउन गाह्रो भएको छ ।’ नगरपालिका उपप्रमुख सञ्जुकुमारी चौधरीले आवका योजना र कार्यक्रम लगभग सबै सम्झौता भएर काम चालू गरिएको दाबी गरिन् ।


पटक–पटक प्राविधिक समस्या र कर्मचारी समायोजनाजस्ता गतिविधिले योजना पूरा गर्न केही ढिला भएको उनले स्वीकारिन् । ‘कालोपत्रे यही आवसम्ममा सकिन्छ,’ उनले भनिन्, ‘केही ठूला योजना भने बहुवर्षीय छन् । समय लाग्न सक्छ ।’ यद्यपि, आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा सम्झौता गरिएको सडक कालोपत्रे गरिएको छैन । नगरपालिकाका प्रेस सल्लाहकार भीम रावलले सडक कालोपत्रेको कामै सुरु नभएको बताए । ‘सम्झौता भएका सबै सडक यसै आर्थिक वर्षभित्र कालोपत्रे हुन्छन्,’ उनले भने, ‘अरू ठूला योजनामा भने २/३ वर्ष लाग्न सक्छ ।’

प्रकाशित : वैशाख ११, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?