१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्रेटर लुम्बिनीबारे छलफल

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र लुम्बिनी विश्व शान्तिका परिकल्पनाकार प्राडा क्वाक योङ हुनबीच मंगलबार भेटवार्ता भएको छ  । मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा योङ हुनले लुम्बिनी विश्व शान्ति र ग्रेटर लुम्बिनीका बारेमा जानकारी गराएका थिए  ।

उनले लुम्बिनीलाई विश्वकै आकर्षक शान्ति सहर बनाउन सकिने योजना कार्यान्वयनमा अग्रसर हुन मुख्यमन्त्रीलाई अनुरोध पनि गरे । क्वाकले अघि सारेको लुम्बिनी विकासको योजना अहिलेको लुम्बिनी विकास कोषले काम गरिरहेको क्षेत्रभन्दा बाहिरको हो ।

बौद्ध दर्शनमा आधारित रहेर निर्माण गर्न लागिएको शान्ति सहर बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सबैका लागि आकर्षक बनाउने र लुम्बिनीको महत्त्व बढाउने खालको रहेको उनले बताए ।


मुख्यमन्त्री पोखरेलले लुम्बिनी विकास कोष क्षेत्र संघीय सरकारसँग रहेको र त्यसभन्दा बाहिरको क्षेत्र प्रदेशलाई जिम्मा दिन माग गरेको जानकारी गराएका थिए । प्रदेश सरकारले लुम्बिनी विकास कोषको कार्यक्षेत्रभन्दा बाहिरको क्षेत्र प्रदेश सरकार मातहत उपलब्ध गराउन मन्त्रिपरिषद्बाटै निर्णय गरेर माग गरेको छ ।

तर, संघीय सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । संघीय सरकारले जमिन एकीकृत गरी अघि बढ्न प्रदेश सरकारलाई अधिकार दिए प्रक्रियामा अघि बढ्न सकिने मुख्यमन्त्री पोखरेलले बताए । उनले लुम्बिनीको विकासका लागि प्राडा क्वाकको चासोको प्रशंसा गर्दै भेटेर कुरा गर्न पाउँदा खुसी लागेको समेत बताए ।


ग्रेटर लुम्बिनीका परिकल्पनाकारसमेत रहेका क्वाकले लुम्बिनीमा विकास कोषले काम गरिरहेको क्षेत्रभन्दा बाहिरको जग्गा एकीकृत गरी बौद्ध दर्शनसँग सम्बन्धित अध्ययन क्षेत्र र बस्ती विकास गर्ने गरी योजना र प्रस्ताव गर्दै आएका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले कोरियादेखि धेरै देशमा गरेको अध्ययन अनुसार क्वाकले लुम्बिनी क्षेत्रमा पनि ग्रेटर लुम्बिनीको परिकल्पना गर्दै सहर बसाउन खोजेको बताए । ‘त्यही क्रमको यो आन्तरिक भेटघाट हो,’ उनले भने, ‘मुख्यमन्त्रीसँग उनले आफूले सारेको योजना जानकारी गराएका हुन् ।’

प्रकाशित : वैशाख ११, २०७६ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?