वनद्वारा गैरकानुनी असुली

कपिलवस्तु — जिल्लास्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहले गैरकानुनी रूपमा नदीजन्य पदार्थ ओसारप्रसार गर्ने सवारीसाधनसँग रकम असुल्दै आएको छ । 

वनद्वारा गैरकानुनी असुली

वाणगंगा नगरपालिकाले भगलापुर नाकाबाट नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाएको छ । ठेकेदारले नाकानजिक नदीजन्य पदार्थको घाटगद्दी गरेका छन् ।


घाटगद्दी गरेको ठाउँमा नदीजन्य पदार्थ लिएर आउने टिपर र ट्याक्टरबाट वन समूहले प्रतिट्रिप दुई सय रुपैयाँ असुल्ने गरेको छ । समूहले वन क्षेत्रमा सवारीसाधन प्रवेश गरेको भन्दै जबर्जस्ती रकम लिंदै आएको हो ।


वन समूहले सहयोग रसिद दिएर रकम लिइरहेको छ । भगलापुर नाका जानका लागि दुई/तीनवटा बाटो छन् । जुन बाटो भएर गए पनि रकम लिने गरिएको छ । ‘बालुवा लिन जाने बाटो हाम्रो हो भन्छन्,’ पिपराका ट्याक्टर धनी मुकुन्द अधिकारीले भने, ‘पैसा दिए जान दिन्छौं, नदिए दिदैनौं भन्छन् ।’ बाध्य भएर पैसा दिनु परिरहेको उनले बताए ।


वन समूहका कोषाध्यक्ष लेमबहादुर गुरुङले समूहले रकम विपन्न परिवारको घुम्ती कोषमा सहयोग गरेको बताए । वन हेरालुको तलब र सामुदायिक विकासमा उपयोग गरेर वन संरक्षण गरिएको उनले दाबी गरे । ‘जमिनको स्वामित्व वन समूहसँग हुँदैन,’ डिभिजन वन कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले भने, ‘त्यसकारण रकम उठाउनै पाइँदैन ।’ रकम उठाउनु गैरकानुनी भएको उनले बताए ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?