खलंगा–चुँजाठाटी सडक कालोपत्रे

गिरुप्रसाद भण्डारी

प्यूठान — सदरमुकाम खलंगादेखि जोगिटारी अर्घाखाँची जोडने सडक कालोपत्रे गर्ने काम पूरा हुन लागेको छ । १९ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) आयोजनाका इन्जिनियर लोकबहादुर विष्टले बताए ।

खलंगा–चुँजाठाटी सडक कालोपत्रे

‘पहिलो चरणको कालोपत्रे गर्ने काम वैशाखभरिमा सकिन्छ,’ उनले भने, ‘दोस्रो चरणको सेनसिल गर्ने काम जेठमा सक्ने लक्ष्य छ ।’


दुई प्याकेजमा सडक कालोपत्रे गर्ने ठेक्का भएको थियो । प्याकेज १ मा ९० प्रतिशत र २ मा ९५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए । ‘निर्माण कम्पनीले यसपालि म्याद थपेको समयमै पूरा गर्ने गरी धमाधम काम गरेका छन्,’ विष्टले भने, ‘यसपालि समयमै सकिने देखिएको छ ।’


प्याकेज २ को ०७६ जेठ १४ र प्याकेज १ को जेठ १८ गते म्याद सकिने उनले बताए । ठेक्का भएको तीन वर्षपछि गत वर्षबाट कालोपत्रे गर्ने काम सुरु भएको थियो । पूर्वी प्यूठानको मुख्य सडक कालोपत्रे भएपछि धरमपानी, बिजुली, रस्पुरकोट, चुँजा र अर्घाखाँचीको ढाकाबाङ, धारापानी क्षेत्रका स्थानीय खुसी छन् । यस सडकले प्यूठान र अर्घाखाँची यात्रा गर्न सहज हुने मल्लरानी गाउँपालिका–३, चुँजाठाटीका गणेशसेन ठकुरीले बताए ।


प्यूठानको उत्तरी भेगका स्थानीय सडक सुधारपछि प्रदेश राजधानी बुटवल झर्दा अर्घाखाँची हुँदै झर्न थालेको ठकुरीले बताए । अर्घाखाँची क्षेत्रका स्थानीय दाङ, नेपालगन्ज, महेन्द्रनगर पश्चिमको यात्राका लागि प्यूठान सदरमुकाम खलंगा भएर यात्रा गर्न थालेका छन् । ‘कालोपत्रे गर्ने काम लगभग सकिएको छ,’ उनले भने, ‘वर्षातमा हिलो र हिउँदमा धूलोको समस्याबाट अब मुक्त हुने भएका छौं ।’


खलंगादेखि अर्घाखाँचीको सिमाना जोगिटारीसम्मै कालोपत्रे सडक बनेपछि भाडादरसमेत घटेको उनले बताए । जोगिटारीको छापेखोलामा अर्घाखाँचीतर्फबाट पक्की पुलसमेत निर्माण भइसकेको छ । अचेल प्यूठानको सदरमुकाम खलंगाबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क पुग्न डेढ घन्टा मात्र लाग्ने स्थानीय विमला पौडेलले बताइन् । उनले सडक कालोपत्रे भएपछि पूर्वी प्यूठानवासीमा खुसीयाली छाएको सुनाइन् ।


अर्घाखाँची क्षेत्रबाट पनि (एसएनआरटीपी) अन्तर्गतकै आयोजनामार्फत सडक स्तरोन्नतिको काम भइरहेको छ । यसले दुई जिल्लाको सदरमुकाम जोडने सडक राम्रो बनेको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानाले बताए । दुवै जिल्ला सदरमुकामबाट दैनिक दुईवटा सवारी साधन संचालनमा रहेको उनले सुनाए ।


सडक कालोपत्रे गर्ने ठेक्का लोहनी एन्ड ब्रदर्श काठमाडौंले लिएको छ । ०७२ असोज २७ गते साबिकको जिल्ला विकास समिति प्यूठानसँग प्याकेज १ को ११ करोड ६९ लाख २५ हजार ७ सय ८८ रुपैयाँमा निर्माणको ठेक्का लिएको थियो । प्याकेज २ को ०७३ वैशाख १३ गते ६ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?