३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गाडीको चापले दुर्घटना बढ्यो

रूपन्देही — सडकमा गाडीको चापसँगै दुर्घटना बढेको छ । धेरै गाडी, चालकको लापरबाही, तीव्र गति र जीर्ण सडकले प्रतिदिन दुर्घटना बढिरहेका छन् । ट्राफिक व्यवस्थापनका लागि स्रोत र साधन सीमित हुँदा  चुनौती थपिएको छ ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार गत वर्ष ७ सय ७८ दुर्घटना भए । तिनमा ४ सय ३८ ले ज्यान गुमाए । जसमा ३ सय ४१ पुरुष र ९७ महिला थिए । तीमध्ये ४५ बालबालिका रहेका थिए । प्रदेश ट्राफिक प्रहरी प्रमुख गणेश चन्दले १४/१५ वर्षअगाडिको स्रोत र साधनको भरमा ट्राफिक व्यवस्थापन गर्नुपरेको बताए ।


‘सडकमा गाडीको संख्या चौगुणाले बढेको छ,’ उनले भने, ‘गाडीको चाप थेग्न धौधौ छ ।’ अधिकांश दुर्घटना तीव्र गतिका कारण भइरहेको उनले बताए । पहाडमा सडक साँघुरा, घुमाउरा र कमजोर हुँदा चालकलाई थकान महसुस भई निद्रा लाग्नाले दुर्घटना बढी भएको पाइएको उनले बताए ।


पैदलयात्री तथा सवारीसाधनले ट्राफिक नियमको बेवास्ता गर्दा दुर्घटना हुने गरेका छन् । ‘चालकको लापरबाहीले मात्र दुर्घटना हुँदैन,’ सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासेले भने, ‘सडकको दुर्गति, जनचेतनाको कमी र प्रशिक्षण अभावले दुर्घटना भइरहेका छन् ।’ यहाँ सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् ।


‘हेल्मेट नलगाउने, मापसे सेवन गरेर गुडाउने र तीव्र गतिमा सवारीसाधन चलाउनाले दुर्घटना हुन्छ,’ उनले भने, ‘दुर्घटनापछि छिटो उद्धार गर्नुका साथै अन्य घटनाको सूचना सहज रूपमा प्राप्त गर्न पैसा नलाग्ने टोल फ्रि टेलिफोन सेवाको सुरुआत गरेका छौं ।’ १०३ मा फोन गरेर सर्वसाधारणले दुर्घटना वा अन्य आपराधिक घटनाबारे जानकारी गराउन सक्ने उनले बताए ।


बुटवल–बेलहिया सडक खण्डमा बस चलाउने सुरज कुमालले गाडीको चाप बढेकाले अप्ठ्यारो महसुस भइरहेको गुनासो गरे । मोटरसाइकल चालकले तीव्र गतिमा चलाउने र टिपरले ओभरटेकमा जोड दिंदा गाडी चलाउन समस्या भइरहेको उनले बताए । ‘सडक जति ठूलो भए पनि व्यवस्थित नहुँदासम्म दुर्घटना भइरहन्छन्,’ उनले भने । गत पुस ६ गते दाङको राम्रीमा बस दुर्घटनामा २३ जनाको मृत्यु भयो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा गत चैत २५ गते जिप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए ।


रूपन्देहीमा गत वर्ष भएका १ सय ८३ वटा दुर्घटनामा ८९ जनाले ज्यान गुमाए । पूर्वी रुकुममा भएका ४ दुर्घटनामा ११ जनाको मृत्यु भयो । पश्चिम नवलपरासीमा भएका ८३ दुर्घटनामा ४८, कपिलवस्तुमा भएका १ सय १५ दुर्घटनामा ५२, पाल्पामा भएका ४५ दुर्घटनामा २९, गुल्मीमा भएका १९ दुर्घटनामा १४, अर्घाखाँचीमा भएका १४ दुर्घटनामा नौ जनाको न्यान गएको छ ।


सवारी दुर्घटनाबाट गत वर्ष दाङमा भएका १ सय ५२ दुर्घटनामा ८६ जना, बाँकेमा ७१ दुर्घटनामा ४६, बर्दियामा ४१ दुर्घटनामा २८ जना, प्यूठानमा भएका २८ दुर्घटनामा १२ जना र रोल्पामा भएका २३ दुर्घटनामा २३ जनाको ज्यान गएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?