३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडक छ, गाडी छैनन्

स्थानीय तहले अधिकांश विकास बजेट सडक निर्माणमा खर्चिए पनि अपेक्षित प्रतिफल आउन सकेको छैन
हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका–७, नाथीगाडका दलबहादुर रेउले गाउँपालिकाको केन्द्र रुकुमकोट पैदल आउजाउ गर्छन् । स्थानीय भुरुंगाकी मनकुमारी पुनलाई पनि पैदल हिंडनुको विकल्प छैन । आफ्नै गाउँपालिकाको केन्द्र पुग्दा होस् या रुकुम पश्चिमको सदरमुकाम खलंगा जाँदा, स्थानीय हिंडेरै पुग्छन् । 

सडक छ, गाडी छैनन्

सडक नभएर वा भत्किएर हिंडनुपरेको भने होइन । नियमित सवारीका साधन नचल्दा सर्वसाधारणले दुःख पाइरहेका छन् । जिल्लाको पहिलो सडकमा नियमित सवारीसाधन नचल्दा सर्वसाधारण यातायात सेवा उपयोग गर्नबाट वञ्चित छन् ।


सोलाबाङ–बालुवा हरित सडक ०६५ सालमा निर्माण भएको हो । ३५ किमि लामो सडक सोलाबाङदेखि धाउनेसम्मको ३१ किमि खण्ड ०६५ सालको मंसिरमा उद्घाटन भएको थियो । सर्वसाधारणले कुटो, कोदालो, गैंती र बेल्चाले बनाएको जिल्लाको पुरानो सडक सुनसान छ ।


‘सदरमुकामभन्दा बाहिर पहिलोपटक बनेको सडक यही हो,’ रेउलेले भने, ‘तर, हामी भने पैदल हिंडनुपर्ने बाध्यतामा छौं ।’ उनले सिस्ने गाउँपालिकाका ७ र ८ वडाका दुई दर्जनभन्दा बढी गाउँका सर्वसाधारणले दुःख पाइरहेको बताए । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ को तल्लो र माथिल्लो छिङ गाउँका सर्वसाधारणले पनि सडक सुविधा भएर पनि यातायातका साधन उपयोग गर्न पाएका छैनन् ।


मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँगै सोलाबाङ–सडकमा सवारीको चाप घटेको थियो । पूर्व तथा पश्चिम जानेहरू मध्यपहाडी लोकमार्ग भएर हिंडन थालेपछि पुरानो सडक ओझेलमा परेको हो । धाउनेदेखि रुकुमकोटसम्मको उकालो सडक पनि सुनसान नै छ । झन्डै दुई वर्षयता पुरानो सडक प्रायः सुनसान रहने पुनले बताइन् । ‘सडक छ, गाडी छैनन्, हामी सडक सडकै भएर हिंडछौं तर गाडी कहिल्यै चढ्न पाइँदैन,’ उनले भनिन् ।


सिस्ने गाउँपालिका–७ को सिस्नेदेखि रुकुम पश्चिमको सदरमुकाम खलंगासम्म दैनिक एउटा जिप चल्छ । त्यसले १० देखि १२ जना मान्छे मात्रै बोक्ने भएकाले थुप्रै यात्रु पैदलै हिंडछन् । सिस्ने गाउँपालिकाको केन्द्र रहेको रुकुमकोटमा भने गाडी नै चल्दैनन् । त्यसले गर्दा गाउँपालिका जाने/आउनेहरू पैदल हिंडनुपर्ने बाध्यतामा छन् ।


‘जिल्लाको पुरानो सडक निजी सवारीसाधन हुनेहरूका लागि मात्रै भएको छ,’ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिकृष्ण गौतमले भने, ‘सवारीसाधन नभएकाहरूले भने ठूलो समस्या भोग्नुपरिरहेको छ ।’ यातायात व्यवसायीले घाटाको हिसाब गरेर गाडी नचलाएको तथा स्थानीय सरकारले पनि सर्वसाधारणका लागि गाडी सञ्चालन गर्न पहल नगर्दा सर्वसाधारणले दुःख पाइरहेको उनले बताए । काम पर्दा मात्रै सरकारी तथा गैरसरकारी कार्यालयका सवारीसाधनले मात्र उक्त सडक प्रयोग गर्ने गरेका छन् ।


वडा ८ को भुरुंगा घर भएका गाउँपालिका उपाध्यक्ष गोबर्द्धन बुढाले उक्त रुटमा गाडी चलाउनका लागि पहल भइरहेको बताए । ‘सर्वसाधारण जनताले गाडी नचलेका कारण दुःख पाइरहेका छन्,’ उपाध्यक्ष बुढाले भने, ‘त्यसप्रति सरकार गम्भीर छ । हामीले पहल गरिरहेका छौं ।’ यात्रुवाहक सवारीसाधन मात्रै होइन, मालवाहक सवारीसाधनसमेत नचल्दा ठूलो समस्या सिर्जना भएको उनको भनाइ छ ।


मर्चवार सडक स्तरोन्नति हुँदै

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रको मुख्य सडक स्तरोन्नति गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा वनगाई–मर्चवार सडक खण्ड स्तरोन्नति गर्न लागिएको हो । यसको लम्बाइ करिब १९ किमि रहेको छ ।


चालु आर्थिक वर्षमा सडकको साढे ६ किमि स्तरोन्नति गरिने भएको हो । अहिले चार मिटर चौडा छ । यसको विस्तार गरेर पाँच मिटर चौडा बनाइने र सडक दायाँबायाँ ७५–७५ सेमि सोल्जर निर्माण गरिने प्रदेश पूर्वाधार विकास निर्देशनालयका सिनियर डिभिजन इन्जिनियर ललितबहादुर न्यौपानेले बताए । साँघुरो र खाल्डाखुल्डी सडक वर्षामा हिलो र हिउँदमा धुलो हुन्छ ।


अहिले सडक कालोपत्रे गर्न थालिएको छ । ३ करोड ६१ लाख २५ हजार रुपैयाँ लागतमा बाबुल निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । साँघुरो र खाल्डाखुल्डी परेको सडकमा आवतजावत गर्न निकै समस्या भएको मर्चवार शिवपुर निवासी तथा पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारीले बताए ।


साँघुरो बनाएपछि विरोध

परासी– सदरमुकाम परासीमा निर्माणाधीन सडक मापदण्डविपरीत रहेको स्थानीयले आरोप लगाएका छन् । सघन सहरी तथा भवन परियोजनाअन्तर्गत सुनवल–परासी सडक खण्डको बुद्ध चोकदेखि नीलो गेटसम्मको चार लेन सडक स्टिमेटअनुसार नभएको भन्दै विरोध भएको हो ।


महालक्ष्मी–सुनकोसी–वर्ल्ड वाइड जेभीले १४ करोड ७ लाख ५७ हजार ८ सय ७४ रुपैयाँमा यसको ठेक्का लिएको हो । स्थानीयले मुख्य चोक साँघुरो बनाएको भन्दै विरोध गरिरहेका छन् । मुख्य बुद्ध चोकमा निर्माण भइरहेको नाला स्टिमेटभन्दा दुई फिट कम कायम गरिएको छ ।


यसअघि गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै पटक–पटक स्थानीयले काममा अवरोध पुर्‍याएका थिए । नगरपालिका र जिल्लास्थित सरोकार निकायले अनुगमन गरेपछि गुणस्तरहीन सामग्री हटाएर नयाँ प्रयोग गरिएको थियो । स्टिमेटभन्दा साँघुरो सडक बनाउन लागेको नागरिक समाज जिल्ला अध्यक्ष शम्भु उपाध्यायले बताए ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?