२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्राविधिकको लापरबाहीले घर बनेनन्

माधव अर्याल

पाल्पा — बगनासकाली १, चिर्तुङधाराकी भूकम्पपीडित शारदा गैरेले पहिलो किस्ताबापत रकम बुझेको १ वर्ष पुग्यो । उनले अहिलेसम्म दोस्रो किस्ता बुझेकी छैनन् । उनीसित रातो कार्ड छ । त्यसबाहेक भूकम्पपीडितलाई किस्ता दिने अर्को कार्ड पनि राखेकी छन् । ‘कागज पाइयो, पैसा पाइएन । प्राविधिक कहिल्यै गाउँ आएनन्,’ उनले भनिन् ।

प्राविधिकको लापरबाहीले घर बनेनन्

गाउँकै चन्द्रकान्त पाण्डेयको अवस्था पनि उस्तै छ । पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगे पनि त्यसपछि पाएका छैनन् । अहिलेसम्म घर बनाउन नपाएको उनले गुनासो गरे । आफैंले घर बनाएमा प्राविधिकले पास नगर्ने समस्या सुनेकाले काम अघि बढेको छैन । ‘यति धेरै समस्यामा छौं,’ उनले भने, ‘प्राविधिकले सुनेको नसुन्यै गर्छन् ।’

उनका अनुसार धेरैले यसैगरी पहिलो किस्ता लग्ने र दोस्रो किस्ता नपाउने समस्या छ । भूकम्प आएको ४ वर्ष पुग्दा पनि अधिकांश पीडितले दोस्रो किस्ता पाउन पनि मुस्किल परेको गुनासो गरेका छन् । भूकम्पपीडितले अप्ठ्यारा प्राविधिक, झन्झटिलो प्रक्रिया र रकम नपुग भएपछि अझै पनि घर बनाउन नसकेको गुनासो गरे ।

पहिलो किस्ताबापतको पैसा लगे पनि थप किस्ता भने पाउन सकेका छैनन् । माथागढी गाउँपालिका–१, चिदीपानीका भूकम्पपीडित त्रिलोचन गिरीले पनि अहिलेसम्म घर सम्पन्न गर्न सकेका छैनन् । ५० हजार रुपैयाॅ खातामा आए पनि त्यसपछि भने अलपत्र छ । अधिकांश भूकम्पपीडितको अवस्था उस्तै छ ।

कागजी प्रक्रिया झन्झटिलो र प्राविधिकको आनाकानीले भूकम्पपीडितले अझै घर बनाउन नसकेका हुन् । भूकम्पबाट प्रभावितले पुनर्निर्माण प्राधिकरणले खटाएका कर्मचारी गाउँ नजाने र उनीहरूको लापरबाहीले घर निर्माण गर्न नसकेको माथागढी–१, चिदीपानीकी विष्णु गिरीले बताइन् । १० वटै स्थानीय तहमा इन्जिनियर र सब–इन्जिनियर खटिएको भए पनि जनताको गुनासो भने सम्बोधन हुन नसकेको उनीहरूको भनाइ छ ।

भूकम्पपीडितले घर बनाउन ७ देखि १० लाख खर्चिएका छन् । कतिपयले दुईकोठे बनाएका छन् । चार कोठाका पक्की घर बनाउनेहरू पनि छन् । ‘भएको घर भत्काएर अहिले नयाँ घर बनाइयो,’ बिस्कुनडाँडाका गंगाबहादुर गाहाले भने, ‘अहिले ऋणमा डुबिएको छ ।’

मापदण्ड पूरा गरेर बनेका घरका लागि तीन किस्ता नै तुरुन्त भुक्तानी गर्ने गरी काम भइरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय) ले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख प्रेमनारायण बस्यालले प्रबलीकरण गर्नेहरूका लागि प्रतिकिस्ता ५० हजारका दरले दुई किस्तामा रकम उपलब्ध गराइने बताए । प्रवलीकरणका लागि ५३ जनाले २६ लाख ५० हजार लगिसकेको उनले बताए ।

प्रकाशित : वैशाख १३, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?