१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीन दशकपछि ठेक्का तोडियो

ठाकुरसिंह थारु

ठाकुरद्वारा, बर्दिया — यस क्षेत्रकै ठूलो बढैयातालको जैविक विविधता संरक्षण गर्न स्थानीय सरकारले करिब तीन दशकपछि ठेक्का तोडेको छ ।

माछापालन गर्दा जैविक विविधता नष्ट भएको भन्दै बढैयाताल गाउँपालिकाले ठेक्का नलगाउने निर्णय गरेको हो । माछापालनका लागि साबिकको जिल्ला विकास समितिले प्रत्येकपल्ट पाँच वर्षका लागि एक करोड रुपैयाँमा व्यावसायिक माछापालनका लागि ठेक्का दिने गरेको थियो ।


गाउँपालिकाले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रयास थालेको छ । तालको बाँध मर्मत गरी सडकमा ग्राबेल गरिनुका साथै वृक्षरोपण गरिएको छ । ठेकेदारले माछामा बढी आम्दानी गर्न रासायनिक मलको प्रयोग गर्दा जैविक विविधता नष्ट हुँदै गएको हो ।


‘माछापालन गर्दा पानीजन्य जीवजन्तु नष्ट भए । जैविक विविधता पनि हरायो । त्यसैले ठेक्का दिनुभन्दा पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न खोजेका छौं,’ बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठले भने, ‘यो आफैंमा पर्यटकीय क्षेत्र हो । यसमा थोरै सुधार ल्याउन सक्ने हो भने देश/विदेशबाट पर्यटक आउनेछन् ।’ उनका अनुसार पर्यटकीय क्षेत्रले यहाँको विकास हुनेछ ।


उक्त ताल प्राकृतिक रूपमै १ सय १० बिघा क्षेत्रफलमा फैलिएको छ । १२ महिनै पानी जम्ने दलदले तालमा दुर्लभ चराचुरुंगी र पानीमा बस्ने जीवजन्तु पाइन्छन् । तालमा बोटिङको व्यवस्था मिलाइँदै छ । त्यसका लागि डुंगा ल्याइएको छ ।


पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट ६० लाख रुपैयाँ खर्चेको छ । बढैयाताल गाउँपालिका–५ मा पर्ने यस क्षेत्रकै ठूलो बढैयाताललाई सिमसारका रूपमा विकास गर्न स्थानीयले माग गर्दै आएका छन् । तालमा पर्यटकका लागि पिकनिक स्पोर्ट बनाइएको छ । चरा हेर्नका लागि बर्ड ल्यान्ड बनाइँदै छ ।


उक्त तालमा ३१ बढी प्रजातिका चरा पाइने स्थानीय बताउँछन् । मुलुककै दुर्लभ प्रजातिका सारसलगायतका चरा देख्न पाइछ । साइबेरिया र भारतबाट पनि पाहुनाका रूपमा चरा आउँछन् । तर, संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा कमै देखिन्छन् ।


स्थानीयका अनुसार तालमा सारस, करेङकुरुङ, साइबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातिका चरा आउँथे । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, सात प्रजातिका बकुल्ला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, बिजुलागैरी, हरियो टाउके, सुइपुच्छे, सिम कुखुरालगायत प्रजातिका चरा तालमा पाइन्छन् ।


तीन दशकपछि ठेक्का तोडने गाउँपालिकाको निर्णयको स्थानीयले स्वागत गरेका छन् । उनीहरूले ताललाई सिमसार क्षेत्र घोषणाको माग गर्दै आएका छन् । उक्त तालमा कमल, टेलुनिया, सेल्की, गेजरा, भसेरलगायतका जडीबुटी पाइन्छ ।


रासायनिक मलका कारण कछुवा, घोंघी, साललगायतका माछा तालमा कमै पाउन थालिएको छ । ‘हाम्रो ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने निर्णय सकारात्मक छ । तर, बोलीमा होइन, व्यवहारमा कार्यान्वयन गर्नु आवश्यक छ,’ स्थानीय भक्तराम थारूले भने ।


यसअघि उच्च अदालत नेपालगन्ज इजलासले तालको संरक्षणसँगै वातावरणमा समेत प्रतिकूल असर पार्ने गरी कुनै कार्य नगर्न जिल्ला समन्वय समितिलाई आदेश दिइसकेको छ । संरक्षण अभावमा सयौंँ जलचर लोप हुँदै गएपछि अदालतले उक्त आदेश दिएको हो । धार्मिक तथा सांस्कृतिक रूपले निकै धनी मानिने प्राकृतिक ताललाई पर्यटन क्षेत्रका रूपमा घोषणा गर्न स्थानीयले माग गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?