३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गाउँमै सामाजिक सुरक्षा भत्ता

प्यूठान — नौबहिनी गाउँपालिकाले बैंकसँग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नौबहिनी–६, बाहानेमा संचालन भएको नेपाल इन्भेस्टमेन्ट बैंकसँग समन्वय गरेर घरदैलोमै भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए ।

नौबहिनी गाउँपालिका–४, ६, ७ र ८ वडाका १ हजार ४ सय ७६ जनाको बैंकमा खाता खोलेर भत्ता दिन थालिएको भण्डारीले सुनाए । बुधबार र बिहीबार वडा ४, खबाङको मसारा वडा कार्यालयमा पुगेर ३ सय ७ जनाको भत्ता वितरण गरिएको उनले बताए ।


भत्ता बुझ्न आउने स्थानीयको भीड लागेको थियो । वृद्धवृद्धा, एकल महिला, अपांगतालाई भत्ता वितरण गरेको हो । गाउँपालिकाको वडा ६ को लुङ र ७ को थात्रामा पुगेर भत्ता वितरण गरिसकेको भण्डारीले सुनाए ।


इन्भेस्टमेन्ट बैंकको गाउँपालिकामा रहेको शाखामार्फत भत्ता प्रदान गरेको वडा ४ का अध्यक्ष पहलसिंह घर्तीले बताए । ‘चालु आवको दोस्रो चौमासिकको भत्ता बैंकमा खाता खोलेर घरदैलोमा पुगेर पहिलोपटक वितरण गरिएको हो,’ उनले भने, ‘बैंकमा खाता खोलेर घरदैलोमै भत्ता पाउँदा स्थानीय खुसी छन् ।’


बैंक र गाउँपालिकाका कर्मचारी र सम्बन्धित वडाका जनप्रतिनिधिले भत्ता वितरण गरेको घर्तीले बताए । सरकारी सेवा घरदैलोमै दिने उद्देश्यसहित भत्ता वितरण गरिएको उनले सुनाए । ‘कम्तीमा जनप्रतिनिधि आएपछि नागरिकले केही सहज महसुस गरून् भनेर घर–आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान थालेका हौं,’ उनले भने ।


घरदैलोमा भत्ता पाउँदा वृद्धवृद्धा र अपांगता भएका खुसी भएका छन् । स्थानीय ८९ वर्षीय सुरवीर रोकाले बैंक कर्मचारी र गाउँपालिकाबाट आएका जनप्रतिनिधिसहितको टोलीले भत्ता दिएको बताए । बैंकमा खाता खोलिएकाले अब भत्ता आफ्नै खातामा जम्मा हुने भएकाले थप हौसला मिलेको रोकाले बताए ।


‘काम परेका बेला रकम झिक्न सकिने नत्र जम्मा हुन्छ,’ उनले भने । भत्ताबापत ८ हजार रुपैयाँ बुझेको रोकाले सुनाए । घरमै आएर भत्ता दिंदा धेरै खुसी लागेको स्थानीय ८२ वर्षीय बेलमती पुनले बताइन् । उनले भत्ताले बिरामी पर्दा, उपचार खर्च, फलफूल खान, घरायसी खर्च गर्न सहज भएको सुनाइन् ।


बैंकको शाखा एक वर्षअघि गाउँपालिकाको केन्द्र बाहानेमा स्थापना भएको थियो । बैंकमार्फत भत्ता वितरण गर्दा सेवाग्राहीलाई सहज भएको नेपाल इन्भेस्टमेन्ट बैंक बाहाने शाखाका प्रतिनिधि सुवास भण्डारीले बताए । उनले अशक्त र बिरामीलाई घरमै पुगेर र अन्यलाई वडा कार्यालयमा बोलाएर भत्ता वितरण गरिएको बताए ।

प्रकाशित : वैशाख १३, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?