१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाह्रै महिना खेत हरिया

खाद्यान्नको भण्डार मानिने जिल्लामा जमिन बाँझो हुन थालेसँगै उत्पादन पनि घट्न थाल्यो
ठाकुरसिंह थारू

बर्दिया — युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । खेती गर्ने जिम्मेवारी ज्येष्ठ नागरिक र महिलाको काँधमा आएको छ । खेतीयोग्य जमिन घट्दो छ । यही बेला बाह्रै महिना खेत हरियाली हुने गरी सरकारले कृषि लक्षित कार्यत्रम सञ्चालन गरेको छ ।

बाह्रै महिना खेत हरिया

प्रदेश सरकारले जिल्लाको चार गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरेको छ । त्यसबाहेक प्रधानमन्त्री कृषि आधुनिकीकरण, किसान परियोजना सञ्चालनमा छन् ।


प्रदेश सरकारले गुलरिया नगरपालिका ४ तुलसीपुर, मधुवन नगरपालिका ७ शिवनगर, राजापुर नगरपालिका ५ मुखिया जयपुर र बढैयाताल गाउँपालिका ७ बकोटिया गाउँलाई स्मार्ट कृषि गाउँ बनाएको हो । ती गाउँको ५०/५० बिघा गरी २ सय बिघामा बाह्रै महिना खेती गर्ने लक्ष्य छ ।


‘वर्षमा किसानले कम्तीमा तीन सिजन खेती गर्नेछन् । खेती सुरु भइसकेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल भन्छन्, ‘एउटा स्मार्ट कृषि गाउँका लागि ५० किसान छनोट भएका छन् । खेत बाँझो रहने छैनन् ।’ त्यसका लागि सरकारले एक गाउँलाई ५०/५० लाख खर्च गर्दै छ । खेतीका लागि आवश्यक पर्ने मल, सिँचाइ, कृषि औजरका लागि किसानलाई ८५ प्रतिशत अनुदान दिइएको छ ।


यहाँका किसानको रोजाइमा बेमौसी मकै, तरकारी खेती, मास र चैते धान परेको छ । उत्पादन भएको कृषिजन्य वस्तुको बजारीकरण गर्न ‘किसानले आफूले रोजेको बालीको खेती गर्न सक्छन् । तर तीन सिजन अनिवार्य गर्नुपर्छ,’ ज्ञान केन्द्रका प्रमुख ढकाल भन्छन्,‘खेतीतर्फ आकर्षित गर्न सरकारले यो कार्यक्रम ल्याएको हो ।’ खेतीबाट निकै कम आम्दानी हुने गरेका कारण किसानले विकल्प खोज्न थालेका हुन् ।


श्रम र पसिनाको राम्रो मूल्य नपाएको उनीहरूको गुनासो छ । किसानले आफ्नो परिवारलाई पुग्ने खाद्यान्नमात्रै उत्पादन गर्छन् । खाद्यान्नको भण्डार मानिने जिल्लामा जग्गा बाँझो हुन थालेपछि उत्पादन घट्न थालेको छ । यसले खाद्यान्न निर्यातभन्दा पनि आयात बढाएको छ ।


विभिन्न मुलुकबाट हुने खाद्य आयातमा कमी ल्याउन सरकारले नयाँ रणनीति ल्याएको हो । ऊक्त कार्यत्रमले सिँचाइ सुविधा, माटो व्यवस्थापन, प्रविधिको प्रयोग र जलवायु परिवर्तन नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषि गाउँका रूपमा विकास गर्न बिजुली, सडक, सिँचाइको पहुँच भएको वा नभए पहुँच पुर्‍याउन सकिने गरी छनोट गरिएको छ । ज्ञान केन्द्रका प्रमुख ढकालले किसानको आयआर्जन बढाउनुका साथै आत्मनिर्भरता बढाउने जनाए । ऊक्त कार्यत्रम ४ वर्षसम्म निरन्तर चल्नेछ ।


प्र्रदेश सरकारले ल्याएको कृषि कार्यक्रमलाई स्थानीय सरकारले पनि आर्थिक सहयोग गरेका छन् । बर्दियामा एक दशकअघि ७५ हजार हेक्टरमा धान खेती हुने कृषिको तथ्यांक छ । तर पछिल्लो तथ्यांकले करिब ४६ हजार हेक्टर जग्गामा धान खेती भएको देखाएको छ ।


मकैको बीउ वितरण

रोल्पा (कास)– माडी गाउँपालिका ५, भावाङस्थित ४५ परिवारलाई निःशुल्क मकैको बीउ वितरण गरिएको छ । वडाध्यक्ष भरतबहादुर बुढामगरले कृषकको मागअनुसार मूल बीउ बाँडिएको बताए । वडामा कुल ९१ घरधुरी छन् । थप बीउ ल्याउने योजना अघि सारिएको उनले बताए ।


वडा कार्यालयले ४५ घरधुरीका कृषकलाई १५ क्वीन्टल १० किलो मकैको बीउ वितरण गरेको हो । थप घरधुरीलाई आवश्यक पर्ने १० क्वीन्टल मकैको बीउ बाँकेको खजुरास्थित कृषि अनुसन्धान केन्द्रबाट खरिद गरी ल्याउने तयारी भएको वडा कार्यालयले जनाएको छ । स्थानीयले मकैको पुरानै बीउ लाउने गरेकाले उत्पादन कम हुने गरेको वडाध्यक्ष बुढाले बताए ।


नयाँ जातको मकैको बीउ बाँडेकाले उत्पादन वृद्धि हुनेमा कृषक आशावादी भएको उनको भनाइ छ । गाउँपालिका र वडा पालिकाले मनकामना–३ नामको मकैको बीउ वितरण गरेको हो । भावाङ मकैको खेती उत्पादन हुने मुख्य गाउँका रूपमा चिनिएको छ । जनप्रतिनिधिले युवालाई समेत कृषि खेतीमा आकर्षित गर्न वडा र गाउँ कार्यपालिकामार्फत आह्वान गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १४, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?