सात घण्टामै जलजला

काशीराम डाँगी

रोल्पा — जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जलजला सात घन्टामै पुगिने भएको छ । सदरमुकाम लिबाङबाट सडक निर्माण गरिएपछि धार्मिक स्थल पुग्न सजिलो भएको हो । अहिले लिबाङदेखि धबाङ हुँदै जलजलासम्म सडक निर्माण भइरहेको छ । सडक विभाग र रोल्पा नगरपालिकाले सडक निर्माण गर्न थालेपछि धार्मिक क्षेत्रमा चहलपहल बढ्न थालेको हो ।

रोल्पा–१० का वडाध्यक्ष मानबहादुर खत्रीले सडकले जलजलामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने बताए । उनका अनुसार यसअघि त्यहाँ पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्थ्यो । सडक मार्ग सहज भएपछि अहिले सात घन्टामा पुग्न सकिने भएको छ ।


अहिले स्थानीयले जलजलाको दर्शन गर्न थालेको उनले बताए । जिल्लाभित्र र बाहिरबाट वर्षमा तीनपटक बराह पूजा गर्न हजारौं मानिस पुग्छन् । माओवादी सशस्त्र द्वन्द्व सकिएपछि सडक निर्माण गर्न सरकारले चासो देखाएको हो । वडाध्यक्ष खत्रीले अहिलेसम्म सडक निर्माणका लागि करिब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाए । ‘सुरुआती अवधिमा करिब १ करोड रुपैयाँको बजेट खर्च गरेर उपभोक्ता समितिमार्फत सडक निर्माण गरिएको हो,’ उनले भने, ‘अहिले अर्को योजनाको काम भइरहेको छ । सडकले जलजलाको महत्त्व बढाएको छ ।’


उनका अनुसार चालु वर्षमा २९ करोडको ठेक्काबाट सडक निर्माणको काम भइरहेको छ । लिबाङदेखि धबाङ हुँदै स्याकईसम्म करिब २४ किलोमिटर सडक ट्र्याक खोल्ने काम सकिएको छ । त्यसअघिको ओखरेनीसम्मको ट्र्याक कटिङ कार्य अहिले जारी छ । लिबाङदेखि ओखरेनीसम्मको सडकको लम्बाइ करिब ३८ किलोमिटर छ । खत्रीका अनुसार पहिलो चरणमा ओखेरनीसम्म मात्रै सडक पुर्‍याउने लक्ष्य छ ।


पैदल मार्गबाट लिबाङदेखि जलजला पुग्दा दुई दिनको समय लाग्थ्यो भने एक दिनमा गापा, पेवा, स्याकई वा ओखरेनीमा बास बस्नुपर्ने अवस्था थियो । तर सडक निर्माणपछि लिबाङदेखि स्याकईसम्म करिब दुई घन्टामै सडक यात्रा सम्भव भएको छ । स्याकई र ओखरेनीबाट जलजला पुग्न चारदेखि पाँच घन्टाको समय लाग्छ । पछिल्लोपटक अधिकांश पर्यटकले उक्त सडक रोज्दै आएका छन् ।


उक्त मार्ग हुँदै स्थानीयदेखि राजधानीबाट आएका पर्यटक जलजला पुगेका छन् । जलजला पदमार्ग खुला र सुरुआत गरिएपछि राजधानीस्थित ट्राभल एजेन्सीहरूले रुट डिजाइन गर्दै चासो बढाएको स्थानीय नेचर गाइड (प्रकृति पद मार्ग द्रस्टा) शुकलाल घर्तीमगरले बताए ।


उनले गन्तव्य जलजला अन्तर्गत जलजला पदमार्गको सुरुआत भएपछि पत्रकारसहित धेरै पर्यटकलाई जलजलासम्म पुर्‍याएको बताए । हाल जिल्लामा २८ जना नेचर गाइड छन् । जलजलालगायतका क्षेत्रमा रेडपान्डा पाइने भएकाले यस क्षेत्रमा रेडपान्डा जोगाउन कार्यक्रमसमेत चलाइएको छ ।


संरक्षित क्षेत्र घोषणा

सरकारले जलजलालाई एक गन्तव्य स्थलका रूपमा विकास गर्ने घोषणा गरेको छ । मुलुकका एक सय गन्तव्यमा जलजला पनि पर्छ । उक्त घोषणापछि जलजलाको पर्यटकीय, धार्मिक र पर्यावरणीय महत्त्वको विकास गर्न स्थानीय तहले योजना बनाउन थालेका छन् ।


रोल्पा नगरका मेयर पूर्ण केसीले सरकारले गन्तव्य स्थलका रूपमा घोषित गरेपछि स्थानीयको पहलमा थप सहयोग पुगेको बताए । उनले जिल्लाकै गन्तव्य स्थलका रूपमा विकास गर्न स्थानीयदेखि केन्द्रीय तहबाट संयुक्त पहल थाल्नेसमेत बताए ।


सरकारले जलजलालाई गत वर्ष गन्तव्य स्थल घोषणा गरेपछि दुई साताअघि थबाङ पुगेर ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औपचारिक सुरुआत भएको घोषणा गरेका थिए । उनले जलजलाको भौगोलिक र धार्मिक विकास गरेर पर्यटकको आकर्षण वृद्धि गर्ने बताएका थिए । उनले आउँदो वर्षलाई पर्यटन वर्षका रूपमा मनाउन सरकारले निर्णय गरेकाले जलजलामा पनि आन्तरिक र बाह्य पर्यटक ल्याउने योजना रहेको बताए ।


राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षित क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । रोल्पा नगरका मेयर केसीले यो निर्णयबाट पर्यटकीय महत्त्व थप वृद्धि भएको बताए । स्थानीयको माग र आग्रहपछि कोषको अगुवाइमा जलजला पद मार्गको विकास गर्न कोषले कार्य थालेको छ ।


कोषले खटाएका प्राविधिक टोलीले जलजला पुग्न लिबाङ, जेलबाङ, थबाङ र उवाबाट पदमार्ग तय गरेको छ । ‘जलजला पुग्न साइन पोस्टिङ (जलजला पुग्न पदमार्ग तय गर्न संकेत अंकित चिह्न) गरेका छन् । कोषले प्राकृतिक महत्त्व र जनावर, पशुपंक्षी, चराचुरुंगी जोगाउन जलजलालाई संरक्षित क्षेत्र घोषित गरेको हो ।

प्रकाशित : वैशाख १६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?