भारतीय मजदुरले धानेका इँटाभट्टा

मधु शाही

बाँके — नेपाल-भारत खुला सिमानाका कारण सीमापारि र वारिका नागरिक आफूलाई जता सहज हुन्छ, त्यतै काम गर्छन् । भारतको रुपैडिया नाका हुँदै नेपालगन्ज आउने भारतीय मजदुरको संख्यामा कमी छैन ।

खास गरी मजदुरी गरेर जीविकोपार्जन गर्ने भारतीय यहाँ प्रशस्त छन् । भारतीय मजदुरले नेपालगन्जका इँटाभट्टा धानेका छन् । उनीहरू परिवारसहित यहाँ आउँछन् । एक वर्षसम्म काम गर्छन् । कमाएपछि घर फर्किन्छन् ।

गडडा अनुसारीले नेपालन्जमा इँटाभट्टामा काम गरेको दुई दशक भयो । उनी परिवारसहित आएका छन् । एक वर्षसम्म धमाधम काम गर्छन् । कमाएर घर फर्किन्छन् । भारतमा एक हजार काँचो इँटा बनाएको चार सय भारु कमाउने श्रमिकले यहाँ दुई सय भारु बढी पारिश्रमिक पाउँछन् । दुई सयको लोभमा मजदुर खुसीले नेपालमा मजदुरी गर्न आउने गरेको अनुसारीले बताए । 'यहाँ कामदारको मूल्य छ', उनले भने, 'उता (भारतमा) भन्दा दुई सय रुपैयाँ बढी ज्याला पाउँछौं । त्यसैले नेेपालमै मजदुरी गर्न आउँछौं ।'

५५ वर्षे सतराज अन्सारीले नेपाली कामदारको अभावले इँटाभट्टामा अवसर नै अवसर भएको बताए । 'यहाँका मान्छे इँटाभट्टामा काम गर्दा रहेनछन्,' उनले भने, 'त्यसैले भारतका मजदुर खोजी खोजी ल्याउने गर्छन् ।' वर्षभरि काम गरेर एक जना मजदुरले कम्तीमा ६० हजार भारु कमाउने गरेको इँटा व्यवसायी बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिका-१३ का इँटा व्यवसायी हाजी रज्जा वलिका अनुसार इँटाभट्टामा नेपाली कामदारको अभाव छ । त्यसैले बढी पारिश्रमिक दिएर भारतबाट मजदुर ल्याउनुपर्ने बाध्यता छ । नेपाली मजदुर कि त वैदेशिक रोजगारमा जान्छन् कि काठमाडौंका इँटाभट्टामा । नेपालगन्जका इँटाभट्टा भारतीय मजदुरकै भरमा चलेको उनले बताए । किसान इँटाभट्टा सञ्चालन गरेका उनले ५० भन्दा बढी भारतीय मजदुरका परिवारलाई रोजगारी दिएका छन् ।

खाली र खातुना अनसारी श्रीमान्/श्रीमती हुन् । 'खेत बाढीले बगाएर बगर बनाएको छ । जीविकोपार्जन गर्ने ठाउँ छैन,' खातुनाले भनिन्, 'नेपालमा अलि धेरै रुपैयाँ पाइन्छ भन्ने सुनेकाले यहाँ आएका हौं ।' चार छोराछोरी पाल्न उनीहरूलाई भारतभन्दा नेपालमै सहज लाग्छ ।

गत वर्ष काम गरेर घरमा जग बसालेका उनीहरूले यस वर्ष एकतले घर बनाउने योजना बुनेका छन् । उनलाई ठेकेदारले भारतबाट नेपालमा काम गराउने भन्दै खोजेर ल्याएका हुन् । इँटाभट्टामा मजदुर ल्याउन मध्यस्थकर्तासमेत खटाउनुपर्ने यहाँका व्यवसायीको बाध्यता छ । एक जना कामदार भट्टामा ल्याएबापत ३ सयदेखि ५ सय रुपैयाँ आम्दानी हुने गरेको एक मध्यस्थकर्ताले बताए । 'यता कामदारले काम पाउँछ, उता हामीले रोजगार पाउँछौं,' उनले भने, 'यहाँकाले इँटाभट्टामा काम गर्न लाज मान्छन् । त्यसैले भारतमै खोज्न जान्छौं ।'

बाँकेमा ५० भन्दा बढी इँटा उद्योग छन् । यिनमा झन्डै ९० प्रतिशत भारतीय मजदुरले काम गर्दै आएको व्यवसायीहरूको दाबी छ ।

प्रकाशित : वैशाख १९, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?