बर्दिया निकुञ्जमा पर्यटक बढे

ठाकुरसिंह थारु

बर्दिया — विकासका दृष्टिले जिल्ला जति पछि छ, त्यति नै पर्यटनका क्षेत्रमा अगाडि रहेको छ । प्रचार अभावमा अझै पनि यहाँका पर्यटकीय गन्तव्य ओझेलमा छन् । बाघ र गैंडा हेर्न पाइने बर्दिया निकुञ्जमात्र होइन, मुलुककै लामो गेरुवा नदी पुल यहीं छ ।

बर्दिया निकुञ्जमा पर्यटक बढे

चार जिल्लाको सीमा छुने चेपाङको बबई होस् वा प्राकृतिक रुपमा रहेको बढैयाताल यहीं छन् । एसियाकै नमुना मानिने बर्दिया र कैलालीबीचको एउटै पिलरको कर्णाली चिसापानी पुल हेर्न दैनिक सयौं पुग्छन् ।


ठाकुरद्वारास्थित डल्ला होमस्टेको बसाइ र गुलरिया नगरपालिकाको खैरापुरमा संरक्षण गरिएका कृष्णसारले लोभ्याउने गर्छन् । बाँसगढी नगरपालिकामा धार्मिक पर्यटनका लागि मुलुककै अग्लो केदेश्वर धाम निमार्ण गरिएको छ । जिल्ला विदेशी तथा स्वदेशी पर्यटकको गन्तव्य बनिसकेको छ । जंगल सफारीदेखि थारु गाउँ घुम्नका लागि विदेशी पर्यटक आउने गरेका छन् ।


बाघ हेर्न पाइने सिजन यही हो । त्यसैले ठाकुरद्वारामा विदेशी पाहुना आउने क्रम बढेको छ । 'पहिलेभन्दा अहिले विदेशी पाहुना आउने क्रम बढेको छ । किनभने, यही बेला निकुञ्जमा सहजै बाघ देख्न सकिन्छ,' बर्दिया निकुञ्जका सूचना अधिकारी अशोक भण्डारीले भने, 'पर्यटकीय क्षेत्रका रुपमा बर्दियाले आफ्नो पहिचान बनाइसकेको छ ।'


निकुञ्जमा ८० भन्दा बढी पाटे बाघ, एक सय बढी हात्ती, बाह्रे सिंगे, गोही रहेका छन् । चित्तल र जरायो प्रजातिका वन्यजन्तुको कुनै गणना गर्न असम्भव छ । पर्यटकका लागि ठाकुरद्वारामा दुई दर्जनभन्दा बढी आधुनिक सुविधा सम्पन्न रिसोर्ट र होटल सञ्चालनमा छन् । पर्यटकहरू आउने क्रम बढेसँगै आदिवासी थारु समुदायको परम्परागत नाच र परिकारले व्यावसायिकता पाउँदै गएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९ सय ६८ वर्ग किलोमिटर ओगटेको छ ।


चिसापानी कर्णालीमा गर्मी छल्न पुग्नेको भीड हुन्छ । चिसो हावामा सेल्फी लिन र माछा खान पुग्ने बढी हुन्छन् । विदेशीहरू र्‍याफ्टिङका लागि कर्णाली नदीमा पुग्छन् । एउटै पिलर र तारमा झुलेको पुल एसियाकै नमुना मानिन्छ । दैनिक सयौँ विदेशी तथा स्वदेशी पर्यटक त्यहाँ पुग्छन् । कर्णाली चिसापानीमा घुम्नुको मजा नै बेग्लै छ । अझ गर्मी समयमा यहाँको वातावरण अति नै आनन्द हुन्छ । 'चिसो हावाको झोंकले गर्मी महसुस गर्नै दिंदैन,' गर्मी छल्न चिसापानी पुग्ने गरेका नेपालगन्जका अजय रसाइलीले भने, 'बर्दियामा घुम्ने ठाउँहरू धेरै छन् । त्यसैले फुर्सदको समयमा घुमघामका लागि बर्दिया मेरो रोजाइमा पर्छ ।'


कर्णालीको गेरुवा भंगालोमा रहेको पुल १ हजार १५ मिटर लामो छ । पुल हेर्न दैनिक सर्वसाधारण पुग्छन् । पुलले राजापुरलाई जोडेको छ । 'पुल नहुँदा राजापुर कोही आउन नमान्ने । पुल बनेपछि हेर्न आउनेको भीड हुन थालेको छ,' राजापुरकी राजकुमारी चौधरीले भनिन्, 'पुलले हाम्रो गाउँमा चहलपहल बढाएको छ ।' प्राकृतिक सम्पदाले भरिभराउ जिल्ला राज्यबाट ठगिंदै गएको छ ।


भौतिक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा उचित ध्यान नदिंदा सोचेअनुरूप फड्को मार्न नसकेको हो । तर, निकुञ्ज क्षेत्रमा पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरिरहेका सर्वसाधारणले कला र संस्कृति संरक्षणसँगै महिनामा 'घरखर्च' चलाउने पैसा आम्दानी गरेका छन् । बढैयातालले पर्यटक तानिरहेको छ ।


१ सय १० बिघाभन्दा बढी क्षेत्रफलमा यो फैलिएको छ । बाह्रै महिना पानी जम्ने दलदले तालमा दुर्लभ चराचुरुंगी र पानीमा बस्ने जीवजन्तु यहाँ पाइन्छन् । तालमा बोटिङको व्यवस्था मिलाइँदै छ । उक्त तालमा ३१ बढी प्रजातिका चरा पाइने स्थानीय बताउँछन् । मुलुककै दुर्लभ प्रजातिका सारसलगायतका चरा देख्न पाइछ । साइबेरिया र भारतबाट पनि पाहुनाका रुपमा चरा आउँछन् । तर, संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा कमै देखिन्छन् ।


स्थानीयका अनुसार तालमा सारस, करेङकुरुङ, साइबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातिका चरा पाइन्छन् । डुबुल्की, जलेवा, चखेवा, सात प्रजातिका बकुल्ला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, बिजुलागैरी, हरियो टाउके, सुइपुच्छे, सिम कुखुरालगायत प्रजातिका चरा तालमा पाइन्छन् । माछापालन गर्दा पानीजन्य जीवजन्तु नष्ट भए । जैविक विविधता पनि हरायो ।

प्रकाशित : वैशाख १९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?